सप्तरीको सिरकविहीन गाउँ जहाका दलितको चिसोले कठ्यांग्रिएर रै रात बित्छ

पुस २८ - विभेद बिरुद्ध अभियान  हुस्सुले ढाकेको बिहानको शीतलहरमा लुगलुग काम्दै घरको बाहिरभित्र गरिरहेकी मुधुपट्टी–३ की कुन्तीदेवी सदायको प्रत्येक जाडोयाम डरमै बित्छ । आफ् नै गाउँका कैयन् मान्छे चिसोले कठ्यांग्रिएर प्राण त्यागेको उनले प्रत्यक्ष देखेकी छन् । तर, यथार्थ, जति डर लागे पनि उनको घरमा ओढ्ने न्यानो कपडा छैन । चिसोबाट जेनतेन बच्न उनले पुराना फाटेका सारी र धोतीलगायतका कपडा तगेर पातलो ओढ्ने बनाएकी छन् । पराल ओछ्याएको भुइँमा उनी आफ्ना तीन लालाबालासँग त्यही ओढ्नेको भरमा चिसो रात काट्छिन् । मधुपट्टीको अतिविपन्न यस दलित बस्तीमा अरूको जस्तै कुन्तीदेवीका निम्ति सिरक ओढेर मीठो निद्रा सुत्नु सपना मात्रै हो ।
उनका श्रीमान् बिल्छी एक वर्षदेखि कतारमा छन् । गाउँको साहूसँग सयकडा चारका दरले एक लाख रुपियाँ ऋण लिएर गएका बिल्छीले पठाएको पैसा कुन्तालाई ऋण र ब्याज तिर्नमै ठिक्क हुन्छ । त्यसैबाट बचेको पैसाले उनले केही महिनाअघि १ हजार ९ सय रुपियाँ तिरेर नोकियाको मोबाइल फोन किनिन् । “घरमा सिरकभन्दा मोबाइलकै खाँचो भयो,” कुन्ती भन्छिन्, “चामलदेखि नुनसम्म किन्दा उहाँले पठाएको पैसा सकिइहाल्छ । सिरक किन्ने पैसा कहाँबाट ल्याउनू ?”मधुपट्टी–२ की रामपरी सदायका श्रीमान् सुकदेवले मलेसियाबाट फर्किंदा टीभी, ल्यापटप र आईफोनसमेत किनेर ल्याए तर सिरक र कम्बलचाहिँ ल्याएनन् । पैसाजति उतै सकिएपछि अहिले रामपरीको घरमा सिरक छैन । पाँच वर्षको कमाइले सुकदेवले ऐलानी जग्गामा जस्तापाताले छाएको सानो घर र आफ्ना निम्ति सुत्ने काठको खाट बनाए । उनको गाउँका अधिकांश दलित भुइँमै सुत्छन् र धेरैजसोको घरको छाना खरले छाइएका छन् । रामपरीचाहिँ एकसरो तन्ना ओछ् याएको भुइँमा  छोराछोरीसँग प्रत्येक रात चिसो झेलेर  कटाउँछिन् । भन्छिन्, “सिरक त हाम्रो मात्रै होइन, कसैका घरमा पनि छैन ।”

मधुपट्टीका ३० घर दलित परिवारमध्ये १५ घरका सदस्य वैदेशिक रोजगारीमा छन् । धेरैजसोका हातमा मोबाइल छ तर दुर्भाग्य अधिकांशको घरमा गतिलो ओढ्ने र ओछ्याउने छैन । दौलतपुर–२, लक्ष्मीपुरकी गीता सदाय, ३०, को गतिलो छाप्रोसमेत छैन । राम्ररी नबारेको भित्ताबाट छिर्ने रातको चिसोले उनको मुटु कपाउँछ । पुसको पहिलो सातादेखि चलेको शीतलहरको त झन् कुरै भएन ।

दमका रोगी श्रीमान् रविलाल पर्याप्त उपचार नपाएर गत कात्तिकमा बितेपछि गीताका निम्ति यो जाडो झनै सकसपूर्ण भएको छ । कमाउने घरमूली बितेपछि उनलाई ती छोराछोरीलाई  ज्यानमारा चिसोबाट कसरी बचाउने भन्ने चिन्ता थपिएको छ । गीताकी जेठी छोरी आसिया गाउँकै शिक्षक विलट यादवको घरमा वार्षिक ६ मन अर्थात् २ सय ४० किलो धान लिने सर्तमा चरुवा बसेकी छन् । यस हिसाबले असियाले दैनिक औसत १२ रुपियाँ कमाउँछिन् । गीता सुनाउँछिन्, “आसियाको कमाइले दुई महिना भात खान ठिक्क हुन्छ । ओढ्ने, ओछ्याउने र न्यानो कपडा कहाँबाट किन्नू ?”
चिसो सुरु भएपछि गीता आफ्ना छोराछोरीसँग अगेना वरिपरि गुँडुल्किएर रात कटाउँछिन् । त्यसो त उनको घरमा एउटा कम्बल नभएको होइन, जसलाई उनका बिरामी श्रीमान् ओढेर सुत्थे । उनको निधनपछि गाउँलेले ‘अशुभ हुन्छ’ भन्दै त्यो कम्बल मिल्काइदिए । ज्यालादारीमा काम गरेर गीताले कमाउने भनेको दिनको आठ किलो धान वा दुई सय रुपियाँ हो । भन्छिन्, “भुटुन, तरकारी, मसला र चामल किन्दा त्यो पैसा ठिक्क हुन्छ ।”

जाडो लागेपछि सुरु हुने दुर्दशाको कथा गीताको घरमा मात्रै सीमित छैन । दौलतपुरका अधिकांश दलितको हालत गीताको जस्तै कहालीलाग्दो छ । जस्तो : दौलतपुर–२, लक्ष्मीपुरकी तारादेवीका चार सन्तान छन् । ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका उनका श्रीमान् बच्चु केही महिनाअघि रोगले थला परे ।

लहानस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट ३० हजार रुपियाँ ऋण काढेर उनले आफ्नो उपचार गरे । अहिलेको जाडोको कमाइ उनलाई ऋण तिर्न र घरको खान्की जोहो गर्न पनि पुग–नपुग हुन्छ । तारादेवी भन्छिन्, “समयमै ऋण चुक्ता गरेन भने झनै धेरै ब्याज बढ्छ । त्यसैले सिरक किन्ने पैसा जुटाउने अवस्था छैन । जेनतेन यो ठिही काट्नुपर्ला ।” लक्ष्मीपुर गाउँमा रहेका २० घर मुुसहर परिवार कसैको घरमा पनि न्यानो कपडा छैन । घुर तापेर नै उनीहरू चिसोमा ज्यान जोगाउँछन् ।
सप्तरी जिल्लामा करिब दुई लाख अति विपन्न दलित छन् र तिनको अवस्था मधुपट्टीको दलितको भन्दा खासै फरक छैन । नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष योगेन्द्र भगत चिसो याम दलितका निम्ति विपत्तिका रूपमा रहेको बताउँछन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार ०७१ मा चिसोले कठ्यांग्रिएर २७ जनाको मृत्यु भएको थियो र मृतकको यो संख्या ०७० मा २२ थियो । तीमध्ये अधिकांश दलित समुदायका थिए ।

दलित, गरिब र असहायका लागि राज्यबाट बर्सेनि न्यानो कपडा वितरण गर्न बजेट विनियोजन गरिएको हुन्छ । जिल्ला दैवीप्रकोप उद्दार समिति, सप्तरीले गत वर्षको जाडोमा सरकारले उपलब्ध गराएको बजेटबाट पाँच हजार थान कम्बल वितरण गरेको स्थानीय शान्ति समितिका अध्यक्ष निरञ्जन झा बताउँछन् । तर, ती कम्बल यी दलितसम्म आइनपुग्दै बीचमै सकिए । न्यानो लुगा नै सदरमुकामबाट दलित समुदायले पाउँदैनन् । स्थानीय दलित अगुवाहरू सरकारले बाँड्ने कम्बल पर्याप्त वितरण हुन नसकेको र वितरण भए पनि त्यसमा राजनीतिक भागबन्डा हुने गरेको आरोप लगाउँछन् ।

यस वर्ष शीतलहर सुरु भइसक्दा पनि सप्तरीमा न्यानो कपडा वितरण गरिएको छैन । वैदेशिक रोजगारीमा गएका वा सिरक किन्न सक्ने हैसियत हुने सुकदेव सदायजस्तालाई त्यसका लागि शिक्षित या उत्प्रेरित नै गर्न सकेका छन्, सरकारी निकाय र उनीहरूका नाममा सामाजिक अभियान चलाउने गैरसरकारी अभियन्ताहरूले । 

फूलदेवीको सपना


हर्दिया–५, बाहुनाकी फूलदेवी सदाय, ७५, लाई जीवनमा अहिलेसम्म सिरक ओढेर सुतेको अनुभव छैन । प्रत्येक जाडोमा उनी घुर तापेरै रात कटाउँछिन् । मजदुरीका लागि छोरा पन्जाब गएकाले अहिले उनी र बुहारी फुसको छाप्रो कुरेर बसेका छन् । सम्पत्तिका नाममा उनको घरमा दुइटा भाँडा र केही पुराना थोत्रा कपडा मात्रै छन् । भान्छा र सुत्ने उनको एउटै कोठा छ । फूलदेवी सुनाउँछिन्, “सिरक ओढ्दा कस्तो हुन्छ, मलाई थाहा छैन । मजै आउला नि ?”
शीतलहर चलेपछि बिहान बाहिर निस्कनै सकिँदैन । फूलदेवी फुसको मधुरो आगोमा हात सेकाएर बस्छिन् । पैसा भएको भए न्यानो कम्बल वा सिरक किन्ने मन उनलाई नभएको होइन । तर, नियमित आम्दानी नहुने र भए पनि चामल, नुन र भुटुनमै खर्च हुने भएपछि उनले सिरक किन्न सकेकी छैनन् । उनको कोठामा खाट पनि छैन । भुइँमा पराल, त्यसमाथि पातलो कपडा बिछ्याएर उनी त्यसैमाथि सुत्छिन् । फुसको घर, न झ्याल, न ढोका । सबैतिरबाट चिसो छिर्छ । भुइँको चिसो पनि बिहानतिर सर्दै सर्दै माथि आउँछ । भन्छिन्, “डसनामाथि सिरक ओडेर चैनसँग सुत्ने भाग्य हाम्रो 

कहाँ हुनु ?”


स्रोत : नेपाल

No comments:

Post a Comment