जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनलाई जोड दिनुपर्ने

दाङ, पुष १९ -विभेद बिरुद्ध अभियान । जातीय विभेद अन्त्यका लागि ग्रामीण तहका नागरिकलाई प्रचलित कानुनका बारेमा जानकारी दिनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज, घोराही नगर कमिटीको शनिबार भएको भेलामा बोल्ने वक्ताहरुले जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनलाई जोड दिनुपर्ने बताएका हुन् ।
कागजी रुपमा जातीय विभेदको अन्त्य भए पनि व्यवहारमा अझै छुवाछूत हुने गरेको बताउँदै वक्ताहरुले राज्यका निकायले कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
मुक्ति समाजको जिल्ला सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षता तथा एमाले जिल्ला सदस्य एवम् मुक्ति समाजका जिल्ला इन्चार्ज मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नयाँ संविधानले दलितका लागि विशेष अधिकारहरु संस्थागत गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनले मात्र दलितका अधिकार स्थापित हुने वक्ताहरुको धारणा रहेको थियो ।
दलितमा अशिक्षा, गरिबी, बेरोजगारीजस्ता समस्याले उनीहरुको जीवनस्तर उठ्न नसकेको भन्दै अब व्यावसायिक विकासमा ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

No comments:

Post a Comment