शितका थोपाहरु जमेर हिँउ बनेका थिए । बिहानको कठ्यांग्रिँदो जाडो । शितको थोपा जमेको ठाँउमा क्यामेराको लेन्स तेर्साउँदै के थिए, उकोलो चढ्दै गरेको एउटा केटो देखेँ ।
एक सरो सर्ट, ठाँउ ठाँउमा त्यातिएर बाहिरि दुनियाँ नियालीरहेको पाइन्ट । नीला आँखा, त्यसैमा बोकेका अनगिन्ति सपनाहरु । सपनासँगै प्रश्नहरु, जो प्रष्ट झल्किन्थेँ तीनै युवकको आँखामा । पट पट फुटेका हात, खुट्टा र ओठ, पिठ्यूमा बोकेको १५ केजीको टिनको बट्टा ।
सुदूरपश्चिमको डडेल्धुरा जिल्ला साहुखर्कमा देखेको दृष्य अहिले पनि झलझली याद आँउछ । म एकातिर ज्यान न्यानो पारेर उभिएकी थिए । साहुखर्कको खिर बाजे (धन बहादुर देउवा) को पसलमा चिया पिउने तयारीमा थियौँ । उ भने बिहान ६ बजे नै दरिलो समेत हुन नपाएको आफ्नो ढाँडमा १५ किलोको भारी बोकेर उकालो चढ्दै थियो ।
उमेरः १२ वर्ष,
पढाईः कक्षा ३,
के बोकेको बाबु ? खोटो, सटिक जवाफ ।
के बाट बन्छ ? सल्लाको रुख, अर्को सटिक उत्तर ।
उसले एक नजर म तिर हेर्यो तर आफ्नो काम भने गरिरह्यो । सडकको छेउमा सल्लाको खोटो टिनको बट्टामा राखिएका थिए । उसले पनि आफ्नो ठाँउमा लगेर राख्यो । मिनले भन्यो ‘आब्व ठेकेदार आँउछ यइको रुप्याँ दिन्छ बाबालाई ।’ ठेकेदारले उनीहरुलाई प्रति टिनको बट्टाको ७० रुपैयाँ दिँदो रहेछ । मिनका कलिला औलामा कलम थोरै समय समातिन्छ । धेरै समय सल्लाको रुखबाट निस्कने खोटो संकलन गर्नमा समय बित्छ । उसले संकलन गरेको खोटो सडक बनाउँदा कोलदारको रुपमा प्रयोग हुन्छ । साना कलिला हातले मिहेनतले संकलन गरेको खोटोले ठुला ठुला पहाड र शहर बजारमा हिड्ने पक्की सडक बन्छन् ।
खिर बाजेले चिया बनाइ सकेपछि मैले मिनलार्ई आँउ चिया खाउ भनेर बोलाए तर उसले शिर निहुराएर अर्को पसलको छेउमा उभियो । मिनको पछि पछि गए । किन चिया नखाएको ‘मिन’?
उसले अप्ठ्यारो मान्दै बिस्तारै भन्यो, ‘हाम्लाई चाहा(चिया) खान नाइदिना, दोकानमाइ (पसलमा)’ ।
किन ? मिन मौन रह्यो । फेरी सोधेँ के तिमीलाई सार्की भनेर हेप्छन् ? टाउको हल्लाउदै हो भन्यो । चिया दिँदैनन् । दुध हालेको चियो खाएमा गाईले, भैसीले दुध दिँदैन रे । मिन फाटेको पाइन्टमा ठिराउदै गरेका हात हालेर कुद्दै थियौ । एकछिन रोकाएर २० रुपैयाँ दिए । अनि कुद्यो ओरालो । उसलाई अर्को टिनको बट्टा लिन हतार भइसकेको थियो ।
एकछिन मैले आफैलाई प्रश्न गरे र आफैलाई सम्झेँ । म महिनामा एक पटक महिनावारी हुँदा ४ दिन सम्म एक ठाँउमा बस्नु पर्ने, कसैलाई नछुने, खाना पनि टाढाबाट दिदाँको दृष्य सम्झेँ । आफुलाई भएको आत्मग्लानी सम्झेँ तर त्यो ४ दिन मात्र थियो । जुन मैले पहिला प्रत्येक महिनाको ४ दिन झेल्नु पथ्र्यो । दलित भन्ने शब्द र व्यवहार मिन सार्कीले जन्मे देखि मृत्यु सम्म कसरी सहन सक्छ ? एकदमै पिडा भयो ।
उ जब घरबाट बाहिर निस्कन्छ । हामीलाई ‘न’छो’ भन्ने शव्द आँउछ । जब उसलाई कसैले छुन्छ । सुनपानी छर्केर भित्र पस्छन् । जब उ केही खान खोज्छ । उसको हातमा टाढाबाट फ्याकिन्छ ।
खिर बाजेको पसल भित्र ठुलो अगेनाको वरपर बसेर निकै गफ भइरहेको थियो । टाउकोमा पालेर राखेको ‘जुडी’ (टुप्पी)को विषयमा । जसको जुडी छ । ऊ बाहुन हो । एक जना भन्दै थियो । अर्को काम्ने धामी हो भन्दै थियो । हामीसँगै गएको जीवन श्रेष्ठ नेवार थियो । उसको सबैभन्दा लामो जुडी थियो । उसलाई देख्दा एक जना सेतो लुगा लगाएको धामीले भने ‘तिमी लामा हौँ ?’ उसले आधा नेपाली आधा डोटेलीमा ‘हामी लामा नाइ हो, हामी पनि बाहुन हो’ भन्दै जुडी देयायो । यो बहस चल्दै थियो ।
मैले साहुखर्कका खिर बाजे अर्थात धन बहादुर देउवा(७८) लाई सोधेँ, ‘तपाईले यहाँ दलितलाई चिया दिनुहुन्न ?’
जातको, जुडीको कुरा भइरहेको बिचमा मेरो फरक प्रश्न सुन्दा सबैले मेरो मुखमा हेरे । धन बहादुर देउवाले भने ‘दुध चिया दिएमा गाई, भैँसीले दुध दिन्न । हाम्रो चलन छैन दिने ।
सबैले कुरा थपे, ‘खाएग्या कालो चिया दिन्छौँ, उनीहरुलार्ई ऊ त्यो देली (ढोका) मा । खाएको गिलास आफु धोएर जान्छन् ।’
उनीहरु त्यो मासमा आफुलाई नफाप्ने, छुवाछुतका कुरा गरिरहेका थिए । दलित भनेर त्यस्तो ठुलो भेदभाव गरिरहेका थिए । म मौन रहेर खिर बाजेको पसलमा चिया खाएँ । ठुलो अगेनामा आगो तापेँ, कुरा सुनेँ र हिँडे । उनीहरुलाई के थाहा । म महिनावारी भएको । उनीहरु बिर्सेका थिए म युवती भनेर । म महिनावारी भएर पनि हिडिरहेको । उनीहरु मैले खाएको गिलास धुन्छन् । मेरो शरिरमा बेकार रगत बगिरहेको बेला उनीहरुसँगै बसेर चिया खाएँ । सायद उनीहरु आफ्नो घरको श्रीमती, छोरी, बुहारीले त्यसो गरेको थाहा पाए के गर्थे होला राम्रोस“ग थाहा थियो । म महिनावारी भएको कुरा भनेको भए उनीहरुले त्यो मिन सार्की भाइलाई गर्ने व्यवहार भन्दा बढी गर्थे वा शहर, बजारका पढे लेखेका ग्राहक भड्किन्छन् भनेर मौन विदाइ गर्थे ।
सुदूरपश्चिममै हुर्के बढेकोले अनुमान लगाउन त्यत्ति समस्या थिएन । मलाई मेरो गन्तव्यमा पुग्नु थियो । बाटोको विवादमा मुछिएर मेरो उद्देश्य कमजोर बनाउनु थिएन । पढे लेखेको, क्यामेरा भिरेको, बोल्ने, अनि मलाई ठुलो गाडीमा चढेर, दुई जना केटास“ग हिडेको देखेर पनि होला उनीहरुको मानसिकता अरु भन्दा फरक भएको हुनसक्छ ।
परिर्वतन हुन समय लाग्छ । नौ वर्षको अन्तरालमा मेची देखी महाकालीको यात्रा गर्दा मैले पनि परिवर्तनलाई नियाली रहेकी छु । परिवर्तन भएको छ । एक्लै केटी गा“उ गा“उमा हिडेको देख्दा जिब्रो टोक्नेको संख्या घट्यो । छोरी पनि पढ्नु पर्छ भन्ने भाव आयो । १५, १६ वर्षका बच्चा काखीमा च्यापेर हिड्ने किशोरीहरुले किताब च्यापेर स्कुल गएको पनि देखेँ । कच्ची सडकहरु केही पक्की भए र त्यहाको जनजीवन फेरियो । मोवाइल देख्दा तर्सिनेहरु घा“सको भारी बोकिरहँदा पनि आफुले लगाएको ब्लाउजको बिचमा राखेको मोवाइलमा हेलो गर्दै गरेको देखेँ तर परिवर्तनले जातीय विभेदमा कागजमा लेखेको र केन्द्रमा चुटिने गफको आधि अंश पनि छुन सकेन् ।
साभार:- हल्करो
No comments:
Post a Comment