काठमाडौं, माघ ९ - झण्डै दुई दशकदेखि ललितपुरको सानेपामा जुत्ता मर्मत गर्दै आउनुभएका तपिन्दर भगतको आम्दानी घट्दै गएको छ । यही काम गरेर पहिले महिनामा ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने तपिन्दर अहिले मुश्किलले महिनाको १२ हजार रुपैयाँ मात्र कमाउनुहुन्छ । घट्दो कमाइले आठ जना छोराछोरीसहितको परिवार पाल्न धौ धौ पर्न थालेको छ । ‘जुत्ताचप्पल, झोला सिलाएर प्रयोग गर्ने चलन नै हराएजस्तो भइसक्यो’ उहाँ भन्नुहुन्छ, ‘समाज परिर्वतन हुँदै गएकोले कमाउनेहरु जुत्ताचप्पल सिलाएर लगाए सानो भइन्छ भन्ने ठान्न थाले, मानिस सौखिन भएर आम्दानी घट्यो ।’ अहिले त नयाँ नयाँ डिजाइनमा जुत्ता चप्पल सस्तै भाउमा पाइने हुँदा पनि धेरैले जुत्ताचप्पल सिलाउने झण्झट गर्दैनन् ।
सानेपा सडक छेउमा जुत्ता सिलाउने केहि सामानसहित बस्नुभएका तपिन्दर धेरै मानिस सवारीसाधनमा यात्रा गर्ने भएकाले पनि जुत्ताचप्पल नफाट्दा कमाई घटेको बताउनुहुन्छ ।
कमाई घट्न थालेपछि अर्को पेसा थाल्ने सोच बनाएपनि आफूले जानेकै काम गर्न सजिलो हुने भएकाले छोड्न नसकेको बताउनुहुन्छ । अरुको देशमा गएर नोकर बनेर काम गर्नु भन्दा आफ्नो देशमा परिवार सँगै काम गर्नुको मज्जा बेग्लै लाग्छ तपिन्दरलाई । उहाँ भन्नुहुन्छ, ‘पैसा हातको मयल भन्छन् जति कमायो सबै नै सकिहाल्छ ।’ दुःख त उहाँका अनेक छन्, दिनभरि सडकमा धुलाम्य भएर अरुका थोत्रा जुत्ताचप्पल सिलाउने काम गर्दापनि गुजारा गर्न हम्मेहम्मे परेका बेला कहिले प्रहरीले त कहिले नगरपालिकाले त्यहाँबाट हट्न दबाब दिंदा भने मन दुख्छ ।
जवान भइसकेको जेठो छोरालाई विदेश पठाउन पाए हुन्थ्यो भन्ने लागेपनि पैसा नभएरै पठाउन नसकेको तपिन्दरले गुनासो पोख्नुभयो । ‘छोरालाई विदेश पठाउन पाए दुई चार पैसा कमाइहाल्थ्यो तर के गर्नु पठाउन सकेको छैन । एक डेढ लाख लाग्छ भन्छन्, यो कमाइले कसरी पुर्याउनु ।’
सरकारले बिना शुल्क केही देशमा नेपालबाट कामदार पठाउने बताएको दिन निक्कै खुसी लागेपनि आफू बुझ्न गएका कुनैपनि म्यानपावरले फ्रिमा विदेश नपठाउने बताएपछि निराश भएर फर्किनुपरेको अनुभव छ उहाँसँग । त्यसमाथी अहिले मधेस आन्दोलन र भारतीय नाकाबन्दिले बजारमा सरसामानको भाउ चुलिएकाले उहाँलाई थप समस्या पारेको छ । ‘आफूले गर्ने कामको खासै भाउ बढेको छैन मानिसले जुत्ता सिलाएको २०/३० रुपैयाँ तिर्नपनि झर्को मान्छन् । यो महँगीमा कसरी गुजारा गर्नु ?’
१८ वर्षको हुँदादेखि जुत्ताचप्पल सिलाउने काम थालेका तपिन्दर अहिले सामानको भाउले आकाश छोइसक्यो भन्नुहुन्छ । ‘के गर्ने यो देशमा गरिबलाई बाँच्नै मुश्किल छ । वर्षै पिच्छे सामानको भाउले आकाश छुन्छ तर हाम्रो परिश्रमको मूल्य भने जहाँको त्यहीँ । मूल्य बढाउँ भने तिनै ग्राहक पनि आउन छाडलान् भन्ने डर छ ।’ तपिन्दरले दुःखेसो गर्नुभयो ।
तपिन्दरको मात्र होइन उहाँ जस्ता धेरै जुत्ता मर्मतको काममा लागेकाको व्यथा यस्तै छ । पुल्चोक सडकमा जुत्ता मर्मतको लागि ग्राहकको पर्खेर बस्नुभएका हुलास रामको पीडा पनि तेस्तै छ ।
उहाँ ६ वर्षअघि जुत्ता मर्मतको काममा लागेको बताउनुहुन्छ । ‘पहिले यो पेसाबाट राम्रै आम्दानी भएपनि अहिले दिनभर ग्राहकको पर्खाइमा बसी बेलुका घर फर्कंदा खाली हात फर्कनु पर्दा नमिठो लाग्छ’ उहाँले अनुभव सुनाउनुभयो । चार हजार तिरेर लिएको कोठा पनि अहिले बढी भएको छ । घरमा तीनजना छोराछोरी र श्रीमती पाल्न उहाँलाई मुस्किल परेको छ ।
‘यो पेसा छोडौँ के गर्ने ? अरु काम गर्न न पैसा छ न त सीप नै ।’ उहाँ भन्नुहुन्छ, ‘आफ्नै देशमा केहि गर्छु भन्नेलाई सरकारले सीपमूलक तालिमहरु दिन सके म जस्ता नागरिकलाई जीविकोपार्जनका लागि राहत र दिनहुँ बाहिरीने नेपाली युवाहरुको संख्यामा पनि कमी आउने थियो ।’
उज्यालो बाट
No comments:
Post a Comment