कविता विकले किन पढ्न नपाउने ?

काठमाडौं, पुस २२ , विभेद विरुद्ध अभियान– तस्बिरमा देखिएकी यी बालिकाको नाम कविता विक हो । रोल्पा घर भएकी उनी बाआमा र भाइबहिनीसँगै अहिले काठमाडौं तीनथानामा रहेको एउटा ईंटा भट्टामा बस्छिन् । बाआमा दिनरात ईंटा बनाउने काम गर्छन् ।
उनी चाहिँ हरेक दिन सानो भाइ बोकेर दोबाटोमा पुग्छिन् । बाटोमा हिँडिरहेका मान्छेसँग पैसा माग्छिन् । पैसा पाए बाआमा र भाइलाई समेत पुग्नेगरी मिठाई किनेर फर्किन्छन् । 
उनलाई लेखपढ गर्न औधी मन छ । तर बाआमाले स्कुल पठाउँदैनन् । सानो भाइ हेर्ने जिम्मा उनको हो । ‘स्कुल जान त मन छ नि, तर के गर्नु भाइ कसले हेरिदिन्छ र’ सानी बालिकाले आफ्नो दुखेसो पोखिन् । आफूजस्तै अरु बालबालिका बाबुआमाको हात समाउँदै किताबको झोला बोकेर स्कुल गएको देख्दा उनलाई पनि यसैगरी फुरुँग भएर स्कुल जाउँ जाउँ लाग्छ । तर उनको यो रहर कसैले पूरा गर्न सकेको छैन । 
रहर भएर पनि स्कुल जान नपाउने कविता एक्ली बालिका होइनन् । काठमाडौंको ईंटा भट्टामा बाबुआमा सँगै आएका यस्ता धेरै बालबालिकाले यसैगरी दिन बिताइरहेका छन् । कोही बाआमासँगै काम गर्छन् । कोही ससना भाइबहिनी हेर्छन् भने कोही खेलेरै दिन कटाउँछन् ।
छोराछोरीलाई नियमित स्कुल पठाउनुपर्छ भन्ने बाआमालाई थाहा छैन । कोही भन्छन्, ६ महिना यहाँ बसेपछि फेरि गाउँमै गएर पढिहाल्छन् नि । कोही भन्छन्, पढेर के हुन्छ, अहिले काम गरे पैसा त पाइन्छ ।
सबैलाई साक्षर बनाउन भन्दै सरकारले अभियान चलाइरहेको छ । देशभर औपचारिक तथा अनौपचारिक शिक्षाका  बिभिन्न कार्यक्रम सञ्चालन भएका छन् । शिक्षाको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था धेरै छन् । तर बिडम्बना धेरै बालबालिका अझै पनि लेखपढ गर्न पाउने अधिकारबाट बञ्चित छन् । यस्ता बालबालिकालाई लेखपढ गराउने उपाय केही छैन त ? ‘छ, उनीहरुलाई स्कुल पठाउनेबारे हामीले छलफल थालेका छौं’ उज्यालो अनलाइनले ईंटा भट्टामा काम गर्ने बालबालिकाको अवस्थाबारे ध्यानाकर्षण गराएपछि शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भन्नुभयो, ‘मैले उपत्यकाका तीनवटै जिल्लाका शिक्षा अधिकारीसँग कुरा गरेको छु, छिटै काम हुन्छ ।’
त्यसो भए स्कुल जान औधी रहर भएका यी बालबालिकाले कहिलेदेखि पढ्न पाउलान् त ? ‘अब हामी एकपटक अध्ययन गर्छौं, उनीहरुलाई कसरी पढ्न पठाउने भन्नेबारे छिटै निर्णय गर्नेछौं’ काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले भन्नुभयो ।
यसअघि उहाँकै पालामा भक्तपुरका ईंटा भट्टामा रहेका बालबालिकालाई यहाँ बसुञ्जेल सरकारले पढ्ने व्यवस्था मिलाएको थियो । उनीहरु पहिले पढ्ने गाउँको विद्यालयको शिफारिसमा यहाँ बसुञ्जेल पढाई नछुट्नेगरी पढ्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
अब काठमाडौंका ईंटा भट्टामा रहेका बालबालिकालाई पनि यसैगरी या अरु कुनै तरीकाले पढाउन सकिन्छ भन्नेबारे छलफल गरेर निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

स्रोत : ujyaaloonline

No comments:

Post a Comment