घर हिँडेका सुकबहादुर अफनागिस्तनबाट बेपत्ता

धादिङबेसी , माघ ६ , विभेद विरुद्ध अभियान ।  ‘आजसम्म साह्रै आपतसँग बसेँ, उनीहरूले मागेको पैसा पनि दिएको छु, अहिले मलाई २ जना साथीहरूले पाकिस्तानको बोर्डरसम्म पु्‍याइदिन्छु भनेका छन् । पाकिस्तान प्रवेश गरेपछि त्यहीँको सिम किन्न पाएँ भने फोन गर्छु पाइनँ भने भारत पुगेपछि मात्रै फोन गर्छु है ।’  गत पुस १० गते अफगानिस्तानमा अलपत्र परेका श्रीमान् सुकबहादुर सुनारले फोनमा गरेका कुरा धादिङको दार्खा गाविस ६ की प्रमिला सुनारको कानमै गुन्जिरहेको छ । तर त्यो दिनदेखि श्रीमान् फेरि सम्पर्कमा नआएपछि उनी श्रीमान्को खोजीमा सहयोग गरिदिन सदरमुकाम चहारिरहेकी छन् ।
गएको फागुन २२ गते भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका धादिङ दार्खाका सुकबहादुर सुनार पुसको १० गतेदेखि बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका हुन् ।
धादिङकै दलाल कालबहादुर खातीलाई चार लाख ५० हजार बुझाएर राम्रो कमाइ हुने आशामा काम गर्न फागुन २२ गते सुकबहादुर भारतको बाटो हुँदै अफगानिस्तान गएका थिए । तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुपै यातना पाएपछि घर फर्किन्छु भनेर फोन गरेका श्रीमान् आजसम्म सम्पर्कमा नआएपछि उनको परिवारको बिचल्ली भएको छ । 
‘फागुनको २२ गते भारत हुँदै गएका श्रीमान् चैत महिनामा अफगानिस्तान पुगेपछि फोनमा कुरा भएको थियो', सुकबहादुरकी श्रीमती प्रमिलाले भनिन्, ‘फोनमा काम पाइएको छैन, अब बिस्तारै काम पाइन्छ होला भनेर भन्नुहुन्थो अरू कुरा केही भएन तर एक्कासि म घर फर्किंदैछु भनेर फोन गरेको मान्छे बेपत्ता हुनुभयो ।’
यहाँबाट कालबहादुर खातीलाई पैसा बुझाएर भारतीय एजेन्ट गोरखा हरमटारीकी शान्ता थापासँग भारतमा सम्पर्क भएपछि उनीमार्फत अफगानिस्तान उडेका सुकबहादुरले उहाँ पुगेपछि काममा लगाइदिने भन्दै त्यहीको दलालले पैसा माग्ने गरेको बताउने गरेको श्रीमती प्रमिलाले बताइन् । 
‘यहाँ कामको टुंगो लागेको थिएन, उहाँ गएपछि नै पासपोर्टमा भिसा हानेर काम गर्न पाइन्छ भनेर काल बहादुरले भनेको कुरामा विश्वास गरियो । चिनेको मान्छेले यसरी फसाउँछन् होला भनेर विश्वासै लागेन, उहाँ पुगेपछि त काममा लगाइदिनको लागि त्यहाँको दलालले फेरि पैसा माग्न थालेछ’, निराश हुँदै प्रमिलाले भनिन्, ‘अब नजानु गइसकियो, काम पाइन्छ भनेका छन् पैसा पठाइदेऊ भनेर श्रीमान्ले पनि भन्नुभयो पटक पटक गरी ३ लाख ७० हजार फेरि पठाइयो तर काम पाइएन । उहाँ पनि फिर्ता हुनुभएन ।’नेपाल आर्मीमा जागिर खाएका सुकबहादुरले जागिरको पैसा बचाएर सदरमुकाममा एउटा २ तले पक्की घर पनि बनाएका थिए । घर बनाउँदा लागेको ऋण तिर्न भनेर विदेशिएका श्रीमान् नफर्केपछि उनको परिवारको विचल्ली भएको छ । सुकबहादुरका ससुरा भक्तबहादुर सुनारले भने, ‘उहाँ पुगेपछि निकै दुःख पाएको भनेर फोन गर्नुहुन्थ्यो, म अब नेपाल नै फर्कन्छु । 
फर्कन पनि पैसा चाहिन्छ भनेका छन् भनेर ज्वाइँले भन्नुभयो, ज्यान रहे त सम्पत्ति कमाउला नि भनेर सदरमुकाममको घर पनि बेचेर ज्वाइँलाई नेपाल झिकाउन पैसा पठाइयो तर ज्वाइँ पनि हराउनुभो पैसा पनि गयो ।’
उनीसँगै गएका अन्य जिल्लाका १५ जना साथी पनि कोही त्यहाँबाट भागेको र कोही घरबाटै पैसा झिकाएर फर्किएकाले सुकबहादुरले पनि घर फर्किनको लागि पैसा मगाएको प्रमिलाले बताइन् । 
सुकबहादुर अफगानिस्तान पुगेपछि भिसा लगाउन भनेर पासपोर्ट पनि जफत गरेकोले गाडीको बाटो भएर आउँदा कागजपत्र नभएपछि अफगानिस्तान या पाकिस्तानमा पक्राउ परेको हुनसक्ने भन्दै परिवारले उनको खोजी गरिदिन आग्रह गरेका छन् ।
सुकबहादुरका सुसुरा भक्त बहादुरले भने, ‘पुस ९ गते ज्वाइँकै नाममा उनलाई नेपाल फिर्ता आउनको लागि भनेर १ लाख पठाइयो, १० गते मैले पैसा पनि पाएँ, मेरो पासपोर्ट दलालले फिर्ता दिएनन्, मलाई यहीका २ जना साथीले बोर्डरसम्म पुर्‍याउन सहयोग गर्छु भनेका छन् म अब हिँडे भारत पुगेपछि मात्रै फोन गर्छु भनेर हिँडेका ज्वाइँ आजसम्म सम्पर्कमा आएनन् ।’
सुकबहादुर बेपत्ता भएको विषयमा सुरक्षित आप्रवासन परियोजनाले पनि खोजी थालेको छ । परियोजनाकी संयोजक गंगा सुवेदीले भनिन्, ‘सुकबहादुरको बारेमा खोजी गरिदिन पाकिस्तान र अफगानिस्तान हेर्ने नेपाली दूतावासमा खबर पनि पठाइएका छौँ ।’

अन्नपूर्ण बाट

No comments:

Post a Comment