जाडोका कारण कक्षा छोडेर भाग्ने विद्यार्थीले न्यानो पाए

नुवाकोट, माघ १२ , विभेद बिरुद्ध अभियान - । नुवाकोट बुधसिंहकी ६ वर्षीय अनुराधा विक बालकक्षामा पढ्छिन् । अन्नपूर्ण प्राविमा पढ्दै गरेकी उनी दिउँसो दुई बजेपछि स्कुल छोडेर भाग्थिन् । कारण उनीसँग न्यानो कपडा थिएन । २ बजेपश्चात चल्ने चिसो सिरेटोले बाल मुटु निकै ठिहिराउँथ्यो । उनी किताब च्यापेर घरतिर दगुर्थिन् ।
सोमबारबाट भने उनी यसरी भाग्नु नपर्ने भएको छ । उनले न्यानो स्विटर, टोपी र ट्राउजर लगाउन पाएकी छिन् । उनी जस्तै ४१ जना बालबालिकाहरु सोमबार न्यानो कपडामा सजिए। रातो स्वीटर र न्यानो टोपी पाएपछि उनीहरु निकै खुसी देखिन्थे । उनीहरुलाई न्यानो बनाउन सक्रिय बनेकी थिइन्, दलित एकता समाज नेपालकी महासचिव सरु सुनार । विभिन्न शीलशीलमा नेपाल बाहिर रहेका नेपालीहरुको आर्थिक सहयोगमा नुवाकोट बुधसिङको ८५ घर धुरीलाई न्यानो ब्ल्याङ्केट र म्याट्रेस वितरण गरिएको छ ।
हङकङमा रहेको नेपालीहरुको संस्था हङकङ माईनोरिटीका अध्यक्ष अशोक गहतराज, अमेरिकामा रहेका नेपालीहरुको संस्था नासोका अध्यक्ष गोपाल विश्वकर्मा, लण्डन निवासी मिठूलाल विश्वकर्मा, स्याङजा घर भएका लण्डन बस्दै आएका टंकप्रसाद विश्वकर्मा लगायतले आर्थिक सहयोग गरेका थिए ।
त्यस्तैगरी लण्डन निवासी प्रेम सुनार र जापानमा कार्यरत कुरन सुनारले पनि आर्थिक सहयोग गरेका थिए । सहयोग वितरण कार्यक्रममा महासचिव सुनारले सहयोग कार्यक्रम लिएर आउन पाउँदा निकै खुसी भएको बताएकी थिइन् । ‘यहाँ मैले यो सहयोग बोकेर आएको मात्रै हो, सहयोगी मनहरु यो देशभन्दा बाहिर निकै दुःख गरिरहनु भएको छ,’ सुनारले भनिन्, ‘विदेशमा रहेर पनि नेपालको यति माया गर्नेहरुले पठाउनुभएको सहयोगले हामी निकै खुसी छौं ।’
वैशाख १२ को भूकम्पपछि चिसोका कारण निकै समस्यामा रहेका नुवाकोट बुधसिङका स्थानियले न्यानो पाएपछि आफूहरुलाई निकै खुसी लागेको बताए ।

- साझा पोस्ट बाट

No comments:

Post a Comment