तारा लाम्गादे "गिदोंन"-भोजपुर, माघ ५ , विभेद बिरुद्ध अभियान ÷पाँचसय वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेका भोजपुर चरम्बी–४ धपेनीका दलितहरू पछिल्लो समयमा समेत जातीय विभेदको शिकार बन्नेक्रम नरोकिएपछि गाउँ छाड्न बाध्य भएका छन् ।
सो गाउँमा रहेका डेढसय दलितहरू हाल दर्जनको हाराहारीमा झरिसकेका छन् । घरधुरीका हिसावमा चार घरमा सिमित भएका छन् । एक सय वर्ष पहिला भित्रिएका क्षेत्रीबाहुनहरूले जातीय विभेद तथा छूवाछूत गरी दलितहरूलाई थिचोमिचो गरेका कारण प्रतिकार गर्न नसकि आफ्नो थातथलो छाडेर विस्थापित हुनेक्रम रोकिएको छैन ।
त्यसरी विस्थापित हुनेमा विश्वकर्मा जातिका दलितहरू रहेका छन् । उक्त क्षेत्रमा आवाद गरी ५ सय वर्षअघि रणविर पौडेलीका सपरिवार बसोबास गर्दै आएका थिए । उनै पौडेलका सन्तान ५ औं पुस्तामा आइपुग्दा लामिछाने, लामगादे, विश्वकर्मा हुँदै कामीसम्म बने । इतिहासका विभिन्न कालखण्ड पारगर्दै एकसय वर्ष अघि बन्दुके र पीठे कामी बनाईदिए आप्रवासी क्षेत्रीहरुले । सत्ताको आडमा ०२७ पछिको भूमीसुधारका क्रममा भूमीहिन बनाइएको सो समुदाय हाल आफ्नो थातथलो छाडेर तराईका सुनसरी, मोरङ र झापातिर बसाई सरेका छन् । बगाले थरका थापा क्षेत्रीहरुले उक्त दलित समुदायलाई विस्थापित बनाएको हो । क्षेत्रीहरुले कुवाको पानी खान नदिने, मेला पर्म नचलाउने, बालिघरे प्रथा कायम राख्नुपर्ने, दलित समुदायका व्यक्तिले पढलेख गर्न नहुने, कुनै नेतृत्व गर्न नहुने, क्षेत्रीहरुसँग दोहोरो सवाल जवाफ गर्न नहुने जस्ता अत्यन्तै दर्दानक नियम लागु गर्दै आएका छन् । उक्त कुराको विरोध गर्नेलाई गाउँमा बस्न नदिई गाउँ निकाला गर्ने प्रचलन अझै पनि कायम छ । त्यसरी उक्त दलित बस्ती पूर्ण रुपमा खाली हुने र बाँकी दलितहरुका जग्गाजमिन तथा भौतिक सम्पत्ति हडप्ने दाउमा त्यहाँका क्षेत्री समुदाय लागि परेका छन् ।
अहिले लेगुवा–भोजपुर सडक खण्डको ल्याङडाँडादेखि करिब एक घण्टा मुनि हिडेर सो गाउँमा पुग्न सकिन्छ । राणा शासनदेखि नै क्षेत्रीहरुले हैकम जमाउँदै आएको सो गाउँमा अध्यक्ष तथा सरकारी प्रतिनिधिहरु पनि क्षेत्रीबाहुन मात्रै हुँदै आएका छन् । क्षेत्रीहरुले आफ्नो गाउँलाई थापागाउँ भनेर राखेका छन् । थापा गाउँमा थापाहरु बाहेक अरुको कुनै निर्णय लागुु हुन सक्दैन । थापाहरु भने निकै पढेलेखेका छन् । काठमाण्डौं, विराटनगर, इटहरी लगायतका क्षेत्रमा उनीहरु बसोबास गरेर अध्ययन गर्ने र जागिर खाने अनि गाउँमा कोही दलितका छोराछोरीले पढलेख गरेमा बेलाबखत गाउँ गएर बैठक बस्ने अनि कसरी हुन्छ विस्थापित बनाउने भन्ने योजना चल्दै आएको छ । लामो समयदेखि नजिकै रहेको जालपा निमावि ¥याङ्ग थर्पूमा अध्यापन गराउँदै आएका दुर्गाराज थापा अहिले पनि गाउँमा दलितहरुलाई दबाउन सक्रिय रहेका छन् । थापाहरु राजनीतिक रुपमा पनि माथिल्लो स्तरमा रहेर नेताहरुको आड लिएका छन् । कोही प्राध्यापक छन्, कोही असई त कोही कोही अमेरिका, जर्मन र जापानमा समेत बसोबास गर्दै आएका छन् । गाउँमा खेती किसान गर्ने दलितहरुको जिम्मा छ भने उनीहरुको हलिया र गोठाला पनि दलितहरु नै बन्दै आएका छन् । क्षेत्रीहरुको दमन सहन नसकेर नै करिब दशक अघि विस्थापित भएका दलबहादुर विश्वकर्माले सो गाउँमा बसेर छोराछोरीको भविष्य अन्धकार बन्ने निश्चित भएपछि घरबार सबै छाडेर बसाई हिडेको बताए । त्यस्तै आफ्नो सबै घरबार छाडेर नरबहादुर विश्वकर्मा, जितबहादुर विश्वकर्मा लगायतका दलितहरुले पनि पहिला नै गाउँ छाडेर हिडेँ ।
अहिले नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री शेरधन राई भोजपुरकै हुन् । उनीमात्र होइन राष्ट्रपति विद्यादेवि भण्डारी पनि भोजपुरकै हुन् । यस अघि पनि सत्तामा रहेका कृपाशुर शेपा, नेता ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र राईलगायतका दर्जनौं राष्ट्रिय स्तरका नेताहरु भोजपुरकै हुन् । हुनत कतिले भोजपुरलाई पूर्वको कर्णाली भनेर पनि बुझ्ने गरेका छन् । भोजपुरेहरु संसारका थुप्रै कुना कुनामा पुगेका छन् र भोजपुरको नाम प्रचार भएको छ । यद्यपी जिल्लाको सामाजिक संरचना भने अझै निकै पछि परेको छ । दुइचार वर्ष अघिसम्म मोटर गाडि र बिजुली भोजपुरका स्थानीयबासीले हेर्न अरुण तरेर धनकुटा आउनु पथ्र्यो कि त सुनसरी झर्नु पथ्र्यो । १० वर्षे जनयुद्धमा भोजपुर निकै तातेको थियो । सामाजिक चेतना र भौतिक विकासका दृष्टिले निकै पछि परेको सो जिल्लाको चरम्बी गाविस बुद्धिजीविहरुको गाविसका रुपमा परिचित भए पनि बत्ति मुनिको अँध्यारो भनेझैं चरम्बीकै धपेनीका दलितहरुमाथि त्यहाँका क्षेत्रीहरुले गरेको अमानवीय व्यवहार निकै कहाली लाग्दो छ । जुनसुकै पार्टी जन्मेपनि हतारहतार त्यहाँका क्षेत्रीहरु पार्टी सदस्य बन्ने गरेका छन् । गाउँका स्थानीय क्षेत्री कुमार खड्का भन्छन्–‘सहर बजारमा के हुन्छ हामीलाई मतलब छैन, तर यो हाम्रो गाउँ हो । यहाँ सरकारको नीति नियम होइन, हाम्रो नियम चल्छ । कसैले हाम्रो कुरा मान्दैन भने त्यसलाई यस गाउँमा बस्ने अधिकार छैन ।’ उनी सोही गाउँका चेतबहादुर थापाका ज्वाई हुन् । उनी ७ वर्ष अघि मात्रै उक्त गाउँमा आएका हुन् ।
गाउँमा बसेर क्षेत्रीहरुलाई विष्ट मान्नु पर्ने र वर्षभरी उनीहरुका हातहतियार अर्जाप्नु पर्ने अनि त्यसबापत दशैंमा क्षेत्रीहरुले मन्टेनिंगुरो (बाख्राको घाँटीको सानो भाग) दिने गरेको मानबहादुर विश्वकर्माले बताए । केही जान्ने बुझ्ने दाजुभाई सबै गाउँ छाडेर हिडिसकेकाले आफु क्षेत्रीहरुले जे भने पनि मान्न बाध्य भएको उनको भनाई छ ।
गाउँ छाडेर हिडेपछि आफ्ना सन्तानले उच्च शिक्षासमेत हासिल गर्न सकेको र सामाजिक रुपमा समेत स्थापित भई एउटा मानवीय व्यवहार पाएकाले आफन्तहरु गाउँमा बस्नु नरकमा पसेझै भएकाले गाउँमा बस्न नसकिएको रामकुमार विश्वकर्माले बताए । उनी भन्छन्–‘हाम्रो दलित मरे क्षेत्रीहरु मलामी जाँदैनन्, विहेमा जन्ति जादैनन्, उनीहरुको परेचाहिँ मलामी जाँदा हामीले दाउरा बोक्नुपर्छ, विहेमा घर्दुवा (भाडाकुँडा) बोक्नुपर्छ । उनीहरुको आँगनमा टपरामा खानुपर्छ, उनीहरु हामीले छोएको खाँदैनन् अनि त्यस्तो समाजमा कसरी बस्न सकिन्छ ?’
No comments:
Post a Comment