माघ ५ , विभेद बिरुद अभियान । वास्तवमा विश्वमा वर्ग विभेद र जातीय विभेद नभएको ठाउँ अपवादको रुपमा पनि कहि कतै पाइँदैन । आदिम साम्यवादी युगको अन्त्य र ठूल्ठूला तीन श्रमविभाजन सँगसँगै वर्गीय समाजको उत्पत्ति भएको इतिहास हेरेर थाहा लाग्दछ । वर्गीय समाज दास युगीन हुँदै सामन्तवादी युगमा प्रवेश गर्दा ठूल्ठूला भयानक जातीय विभेद र वर्गीय विभेद गरेको पाइन्छ । तर जाति र वर्ण भेद जे–जस्तो भएतापनि छुवाछुत प्रथा कहि पनि देखिदैन । दक्षिण एशियामा दलित समुदाय माथि भने जातपातको आधारमा छुवाछुत प्रथा लादिदै आएको छ । यसरी हेर्दा विश्वका अन्य उत्पीडनहरु भन्दा दलितहरुको माथिको उत्पीडन असाध्यै घृणित र अकल्पनीय देखिन्छ ।
आज भन्दा ३७ सय बर्ष पहिला भारतीय उपमहाद्वीपमा यो समस्याको बिउँ रोपिएको पाइन्छ । हिन्दुका चार बेदहरु मध्येको ऋग्वेदको दशौं मण्डलमा टाउकोबाट ब्राह्मण, पाखुराबाट क्षेत्री, जांघबाट बैश्य र खुट्टाबाट सुद्र जन्मिएको भन्ने उल्लेख गरिएको पाइन्छ । ब्राह्मणले पुरोहीत काम, क्षेत्रीले लड्ने काम, बैश्यले व्यापर र शुद्रले बाँकी रहेका सारा काम गर्ने भनी विभाजन गरिएको छ । त्यसको केही बर्ष पछि मनुले मनुवर्णाश्रम लेखी झनै परिष्कृत गरेको पाइन्छ । त्यस पछाडिका समयहरुमा त २ सय भन्दा बढी धार्मिक ग्रन्थहरु लेखी जातीय समस्यालाई अझै बढावा दिएको पाइन्छ । यसको विस्तृत चर्चा अर्कौ लेखमा गरिनेछ ।
नेपालमा पहिलो पटक लिच्छवी राजा सुपुष्पद्वारा र त्यसपछि काठमाडौं उपत्यकामा अंशुवर्माद्वारा नेवारी समाजमा ‘हिन्दु वर्णाश्रम व्यवस्था’ लागू गर्ने प्रयत्न गरिएको थियो । तर त्यो व्यापकरुपले व्यवस्थित हुन सकिरहको थिएन । लिच्छवीकालको अन्त्यपछि बि.स. १४३७ मा भारतबाट प्रवेश गरेका मल्लहरुको शासनको पालामा जयस्थिति मल्लले वर्णाश्रमलाई व्यवस्थित बनाउने नौटंकी रचेका थिए । बि.स. १६६३ मा गोरखका राजा राम शाहको पालामा दलित ÷दलितबीचमा श्रेणी विभक्त गरेर समस्यालाई झनै बल्झाउने काम भयो । त्यसपछि पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेला हिन्दु राज्यको रुपमा घोषणा गरी छुवाछुत प्रथा र जातपातलाई देशै भरी सलल सरी फैलाएका थिए । त्यसलाई अझै कानुनी रुपमा परिवर्तन गरी व्यवस्थित ढङ्गले संरक्षण दिनको निम्ति नेपाली इतिहासका खलनायक जङ्गबहादुर राणाले बि.स. १९१० मा आफ्नो हात मैलाएका थिए । यसरी नेपाली इतिहासलाई केलाउदा मनुवादी वर्णाश्रम टिकाइ राख्ने तथाकथित धार्मिक मूल्यमान्यताको संरक्षणको बहाना बनाई जातीय अहंकारलाई एकपछि अर्कौ शिलशिलेवार ढङ्गले प्रोत्साहित गर्ने दुष्कामहरु भइरहेको पाइन्छ ।
पछिल्लो समयमा बर्षौदेखिको उत्पीडनको विरुद्द संगठित पहलकदमी विना कुनै मुक्ति सम्भव छैन भन्ने कुरा आत्मसात गर्दै दलितहरु विभिन्न ढङ्गले संगठित हुन थालेको पाइन्छ । नेपालमा सबैभन्दा पहिला बि.स. २००४ मा एकै चोटी तीन वटा संगठनहरु स्थापना भयो । बाग्लुङ्गका सर्वजीत भगत वि.क.को नेतृत्वमा ‘विश्व सर्वजन संघ’ काठमाडौंका सहर्षनाथ कपालीको नेतृत्वमा ‘टेलर युनियन’ र धरानका जदुविर वि.क.को नेतृत्वमा ‘नेपाल समाज सुधार संघ’ गठन भएको पाइन्छ । सहर्षनाथ कपालीको टेलेर युनियन र सर्वजीतको विश्व सर्वजन संघ सहजातीय संगठन भन्दा माथि उठ्न नसकेको देखिन्छ भने जदुवीर वि.क.ले समग्र दलित समुदायलाई समेट्न खोजको देखिन्छ । यसरी हेर्दा तीनै संस्थापक नेता भएतापनि यी मध्येका जदुवीर वि.क.को भूमिका प्रमुख थियो । यद्यपी यी संगठनहरु विचारधारात्मकरुपमा वर्गीय पक्षधरताको अभावको कारणले गर्दा बिशेष भूमिका वा काम कार्वही गर्न नसकेको तीतो यर्थाथ पनि छ ।
२००७ मा बन्दीपूरका चन्दबहादुर वि.क.ले ‘नेपाल हरिजन संघ’ बनाए । त्यसले राणा शासनको विरुद्दमा लड्यो । त्यो आन्दोलनमा चन्द्रबहादुर सार्की र मनिराम परियारले उच्च शहादत प्राप्त गर्नुभयो । फेरी ०८ सालतिर सर्हषनाथ कपालीले ‘जाततोड मण्डल’ बनाउनुभयो । त्यसलाई उहाँले पछि ‘समाज सुधार संघ’ को रुपमा पूनःसंगठित गर्नुभयो । यसै संगठनको नेतृत्वमा ०११ सालमा पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलन भयो । नेपाल इतिहासमा यो नै पहिलो शसक्त संगठित दलित आन्दोलन हो । हजारौं दलितहरुको सहभागितामा भएको उक्त आन्दोलनलाई तत्कालिन गृहमन्त्री टंकप्रसाद आचार्यको ठाडो निर्देशनमा दमन गर्न खोजियो । त्यसको बाबजुद सयौं साथीहरुको गिरफ्तारी भएतापनि दलितहरुले पछाडि नहटिकन आन्दोलन गरे । यसले सफलता पनि प्राप्त ग¥यो । जसले गर्दा प्रशासन मन्दिरमा झुण्डाइएको ‘अछुत प्रवेश निषेध’ हटाउन बाध्य भयो । वास्तवमा सर्वजीतहरुको आन्दोलन पनि त्यति बेलाको स्थितिमा कम थिएन । बिश्वकर्माले पनि जनै लगाउनु पर्छ भनेर सहजातीय आन्दोलन गरेका थिए । हुन त सहजातयि आन्दोलन आफैमा संकिर्ण आन्दोलन हो । तर त्यतिवेलाको बस्तुगत चेतनाले गरिएको आन्दोलन थियो । राणाहरुले खड्का थर र जनै लगाउन पाउने स्वीकृति दिएपनि स्थानीय र धर्मभीरुहरुले दिएनन् । यो आन्दोलन असफल भयो ।
०१२ मा मिठाइदेवी वि.क.ले पहिलो दलित नारीहरुको संगठन ‘परिगणित नारी संघ’ बनाउनुभयो । सहर्षनाथ कपालीले फेरी ०१४ मा ‘नेपाल राष्ट्रिय परिगणित परिषद’ त्यसलाई पनि ०१६ मा ‘राष्ट्रिय अछुत मुक्ति परिषद’ गठन गर्नुभयो । यसरी बिभिन्न समयमा बिभिन्न नामका संगठनहरु बनाउन सहर्षनाथ कपाली माहिर देखिनुहुन्छ । तर जति नाम फेरे पनि न त नयाँ नेतृत्वको विकास भएको देखिन्छ न त स्पयत कार्यदिशा लिन नै सकेको देखिन्छ ।
लामो समय भइसकेको थियो, नेपालमा कम्युनिष्ट पार्टी भएको । तर त्यतिबेला सम्म पनि त्यसको कुनै दलितको संगठन थिएन । ०१५ मा कम्युनिष्ट पार्टीका वाग्मती उपत्यकाका अछुत फ्य्राक्सनका सचिव तुल्सिराम वि.क.को नेतृत्वमा अछुत मुक्ति मोर्चा बन्यो । तर त्यसले खासै गति लिन सकेन । पार्टीृको काममा मात्र सिमित रह्यो । तर ०२४ मा चितवन र काठमाडौंमा एकैचोटी नेपाल राष्ट्रिय दलित जनविकास परिषद निर्माण भयो । सहर्षनाथ कपाली र मोहनलाल कपालीले काठमाडौंमा र रुपलाल वि.क. र तुल्सिराम वि.क.ले जनविकास परिषद्लाई विस्तार गर्दै लानुभयो । पछि यसलाई एउटै बनाएर परिचालन गरियो । काठमाडौंमा यस परिषद्को नेतृत्वमा टि.आर. वि.क.ले दलित आवाज पत्रिका प्रकाशन गर्नुभयो । दुई संगठनले ०२९ जेठ २९ गते एकताको राष्ट्रिय सम्मेलन गरेर मोहनलाल कपाली र तुल्सिराम वि.क.लाई क्रमशः अध्यक्ष र महासचिव बनायो । नेपाली दलित आन्दोलनमा यस भन्दा पूर्व कहि कतै राष्ट्रियस्तरको सम्मेलन भएको पाइदैन । यसरी यो नै नेपाली दलित आन्दोलनको प्रथम सम्मेलन हो । यो सम्मेलन पछि देशैभरी एकप्रकारको उभार पैदा भएको थियो । यसै क्रममा भएको हुमिन संघर्षलाई हामीले कहिल्यै भुल्नुहुँदैन । रुपलाल वि.क. को नेतृत्वमा पाल्पाको हुमिनमा आन्दोलन भएको थियो । दलित विद्यार्थीहरु माथि भएको जातीय छुवाछुत र भेदभावको बिरुद्दमा त्यहाँ आन्दोलन भएको थियो । जसले आसपासको क्षेत्रमा सनसनी पैदा भएको थियो । तर यसमा पनि दुई धारहरु थिए । तुल्सिरामहरु रुपलालबाट संचालित थिए । रुपलाल त्यस समयमा कम्युनिष्टका जल्दा बल्दा नेताको रुपमा स्थापित थिए । सर्वहारा श्रमिक मोर्चाका नेता रुपलालले इतिहासका कडीहरु जुगेडी र जुटपानी काण्डको नेतृत्व गरेका थिए । अर्कातर्फ हिरालाल जस्ता राजावादीहरुको उपस्थिति थियो । यी सँगै रहन सम्भव नै थिएन । ०३६ को जनमत संग्रहताका यसमा फूट पैदा भयो ।
पछिल्लो क्रममा संगठनहरु एकपछि अर्कौ बन्दै गएको देखिन्छ । तर यसले गुणात्मक रुपमा खास केही परिवर्तनहरु ल्याएको थिएन । ०४५को तिर राजेश वि.क.को नेतृत्वमा जातीय समता समाज बन्यो । ०४५ तिर नै गोल्छे सार्कीले उत्पीडित जातीय उत्थान मञ्च निर्माण भएको थियो । यी दुबै संगठनले दलित समस्यालाई वर्गीय समस्याको रुपमा विश्लेषण गरेका थिए । तर नीति सही लिदा लिदै पनि नेतृत्वमा रहेकाहरुको ढुलमुल र उदासिनपनले गर्दा सही दिशा पाउन सकेन । त्यही पनि उजाउ मञ्चले ०४६ को आन्दोलनमा बिशेष भूमिका निर्वाह गरेको थियो ।
०४६ को आन्दोलन पश्चात संगठन खोल्नको लागि स्वतन्त्रता भयो । चारैतिर स्वतन्त्रताले एकप्रकारको उभार पैदा भयो । जसको प्रभावले गर्दा हरेक जनवर्गहरु आ–आफ्नो हीतको लागि संगठित हुने लहर नै चल्यो । नेपाल राष्ट्रिय दलित जनविकास परिषद पनि सक्रिय रुपमा अगाडी बढ्दै गयो । ०४९ भाद्र १ मा चितवनमा विश्वभक्त दुलाल, तीलक परियार, टिकमान परियार र जातीय समता समाजबाट विद्रोह गरी आएका प्रेम नेपालीको पहलमा जनविकास परिषदलाई पूनर्गठित गरियो । यसपछि यहि संगठनको नेतृत्वमा एकताको प्रक्रियालाई अगाडि बढाइयो । अर्कातर्फ उजाउ मञ्च दलितहरुको बीचमा स्थापित हँुदै देशव्यापीरुपमा एउटा उभारमा आइरहेको थियो । यी दुवैले एकताको लागि प्रयास गरे । फलस्वरुप ०४९ चैत्र ७ मा चितवनमा भेला गराइ पदमलाल वि.क.को नेतृत्वमा उत्पीडित दलित जातीय मुक्ति समाज गठन भयो । यसले देशभरी आन्दोलनहरु गर्न थाल्यो । गोरखा मन्दिर प्रवेश, स्याङजाको दुध भराउ, चितवन कोटी होम पर्व र दुध भराउ, गैडाकोटको दुध भराउ, सिन्धुपाल्चोक र काभ्रको पानी भराउ, नवलपराशीको गणेश मन्दिर प्रवेश लगायतका सफल आन्दोलनहरु भएका थिए । यस संगठनको ०५१ फागुन १ देखि ३ सम्म भएको प्रथम राष्ट्रिय सम्मेलनले पुनः पदलाल वि.क.लाई नै नेतृत्वका रुपमा चयन ग¥यो । नेपाली दलित आन्दोलनको दृष्टिले हेर्दा ०२९ पछि यो दोस्रो आधिकारिक राष्ट्रियस्तरको सम्मेलन थियो । तर सबै राजनैतिक आस्था भएकाहरु यस संगठनमा थिए । जसका कारण यो बिस्तारै खिचडी बन्न थाल्यो । संगठनभित्र नै वाद विवाद हुन थाल्यो । यसरी यो संगठन दिशाहिन हुँदै गयो ।
त्यसैको पेरीफेरीमा संसार हल्लाउने महान जनयुद्धको शुरुवात भयो । महान् जनयुद्धले दलित लगायत सम्पूर्ण जनसमुदायको मुक्तिको खाका कोर्दै अविजयी अविरल यात्रा गर्दै गर्दा ०५३ मा भूमिगत रुपमा तीलक परियारको नेतृत्वमा दलित मुक्ति मोर्चा गठन भयो । दलितहरुलाई समानताको स्थितिमा ल्याउन बिशेषाधिकारको नीति अबलम्बन गर्नुपर्ने कुरा यस मोर्चाले सर्वाधिक महत्वका साथ उठायो । गाँउ–गाँउमा संगठनलाई मजबुत बनाउदै लग्यो । तीलक परियार ०५४ चैत्र २४ मा बांकेको कोहलपूरमा संगठन निमार्ण क्रममा पक्राउ पर्नुभयो । ०५५ मा छविलाल समुह चोइटिएर माउ पार्टीको शरणमा गएपछि यता दलित जातीय मुक्ति समाजको ०५५ फागुन १–३ मा सम्मेलनको आयोजना गरियो । उक्त सम्मेलनमा ०५३ मा पारित क्रान्तिकारी कार्यदिशा पारित गर्नु थियो । त्यसैले प्रेम बराइलीको नेतृत्वमा दलित मुक्ति समाजलाई ‘राजनैतिक संयुक्त मोर्चा’ का रुपमा पुर्नगठित गर्नुपर्ने, आरक्षणको सट्टा बिशेषाअधिकार व्याख्या गर्नुपर्ने, जनयुद्धको दलित शहीदहरुलाई मुक्ति समाजको पनि शहीद घोषणा गर्नुपर्ने लगायतका प्रस्तावहरु राखियो । तर त्यहाँ कुनै सुनुवाई नभएपछि प्रेम बराइलीको नेतृत्वमा विद्रोह गरी ४ गते सन्तोषी वि.क.को नेतृत्वमा भेला गराइ १७ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा निर्माण गरियो । यसरी नेपालको दलित आन्दोलनको इतिहासमा २०५५ सालमा भएका सबै सम्मेलनहरुलाई संकेन्द्रित गरेर चौथौं राष्ट्रिय सम्मेलन मान्नुपर्ने अवस्था देखिन्छ ।
विविध आरोह र अवरोहको बीचमा आज पर्यन्त विभिन्न उपरोक्त वैचारिक÷राजनीतिक आलोकमा विभिन्न संगठनहरु क्रियाशिल छन् । ०५५ यता ती सक्रिय संघसंस्थाहरुले आ–आफ्नै पहलकदमीमा पाँचौं राष्ट्रिय सम्मेलन गरेर आजको मितिसम्म आएका छन् । यो पहलकदमीले जातीय छुवाछूतविरुद्दको हक र दलित हक संविधानमा स्थापित गरेको छ ।
तस्बिर र सामाग्री स्रोत:- बलेनी मासिक
No comments:
Post a Comment