काँग्रेसका सहमहामन्त्री दलितको खाना खाँदै देशदौडाहमा

माघ २, विभेद बिरुद्ध अभियान । नेपाली काँग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा देशदौडाहामा हिँड्ने नेताको ताँती नै लागेको छ ।  दैनिकजसो नेपाली काँग्रेस केन्द्रीय तहका नेताहरु जिल्ला आउने लहर नै चलेको छ । सोही क्रममा नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का भने बेग्लै किसिमले देश दौडाहामा निस्किएका छन् । महाधिवेशनमा आफ्नो उमेदवारी दिने पद नै नतोकी दौडाहामा निस्किएका खड्काले जुन जिल्लामा पुगिन्छ त्यही जिल्लामा दलित कार्यकर्ताको घरमा खाना खाने र त्यहाँ रहेका जनजाति एवम् लोपोन्मुख बस्ती घुम्ने र अन्तरक्रिया गर्ने गरिरहेका छन् ।
सोहीक्रममा सोमबार हेटौंडा आइपुगेका खड्काले हेटौंडा–१२ स्थित पदमपोखरीको भोर्लेनीका प्रकाश विकको घरमा पुगेर खाना खाए । त्यहाँका स्थानीयसँग छलफल गरे । हालको राजनीतिक अवस्था र जनताको चाहनाबारे पनि बुझे । ‘काँग्रेसमा सुशील र देउबा पक्षबीचको भागबण्डाको राजनीति समाप्त हुनुपर्छ भनेर आफ्नो तर्फबाट पहल गर्नका लागि मैले झापाबाट अभियानको थालनी गरेको हुँ’, खानापश्चात् स्थानीयसँग छलफल गर्दै खड्काले भने ।
सक्रिय राजनीतिमा रहने तर, मन्त्री नबन्ने उद्घोष गरिसकेका खड्काले आफूले राजनीति सुरु गर्दादेखि नै दलितकोमा खाना खाने र गाउँमा गएर कार्यकर्ता तथा गाउँलेसँग अन्तक्र्रिया गर्ने गरेको बताए । उनले अझै पनि छुवाछुत र विभेद अन्त्य नभएको भन्दै सबैले आआफ्नो स्थानबाट अन्त्य गर्दै लैजानुपर्ने बताए । 
‘मैले हालसम्म राजधानी बाहिर जाँदा पैसा तिरेर खाना खाएको छैन । कसैलाई खुवाएको पनि छैन । म सबै जिल्लाको पार्टी सभापतिसँग सल्लाह गरेर खाना खाने स्थानको तय गर्छु । जिल्लाका सभापतिहरुलाई पनि दलितकोमा खाना खानेगरी समय तालिका मिलाउन आग्रह गर्छु’, खड्काले भने ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव आनन्दराम पराजुली, नेपाल दलित संघ केन्द्रीय सदस्य गोपीलाल विश्वकर्मा  र जिल्ला अध्यक्ष मिलन परियारलगायतले जिल्लाको राजनीतिक अवस्थाबारे खड्कालाई जानकारी गराएका थिए ।

स्रोत : sajhakura 

No comments:

Post a Comment