दलित भन्दै दुव्र्यवहार गरिएकी अनमी सुनार पोखरामा सम्मानित

पोखरा, १२ माघ- पोखराको हस्पिटल चोक टोल विकास संस्थाले भदौरेतामागी घटनाकी पीडित अम्बिका सुनारलाई सम्मान गरेको छ । संस्थाले गण्डकी हस्पिटल चोकमा मंगलबार एक कार्यक्रमको आयोजना गरि सुनार सहित दलित अभियन्ताहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अम्बिकाका श्रीमान् हितबहादुर सुनार, अधिवक्ताद्वय शिव सुनार र विनिता नेपाली, पत्रकार दीपक परियार, अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष हर्क विक, एमाओवादी वडा न.१८ का अध्यक्ष खड्कबहादुर विक र एमाओवादीकै वडा न.११ का अध्यक्ष चित्रबहादुर वि.क रहेका छन् । कार्यक्रममा संस्थाकी अध्यक्ष डिलमाया सुनार सहित सम्पूर्ण सदस्य र स्थानीयवासीले खादा, माला र अविरले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सुनारले जातीय विभेद्को घटनामा कानुनी प्रक्रियामा गई न्याय खोजेर अम्बिकाले साहसपूर्ण काम गरेकोले बताइन् । उनले दलितको मुद्दामा एक ठाउँमा आउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा बोल्दै पीडित अम्बिका सुनारले आफ्नै गाउँमा गएर सेवा गर्ने मनसाय राख्दा त्यस्तो प्रकारको विभेद् हुन्छ भन्ने कहिल्यै नसोचेको बताइन् । उनले न्याय खोज्नको निम्ति प्रोत्साहन गर्ने सबैप्रति धन्यवाद प्रकट गर्दै छुवाछूतका विरुद्दमा डटेर लाग्ने अठोट गरिन् । कार्यक्रममा अधिवक्ता शिव सुनारले यस्तो प्रकृतिको घटनामा अपमानलाई सहेर बस्न नहुने बताउँदै पीडित पक्षले साहस गर्नुपर्ने आवश्यकता औंल्याए । अधिवक्ता विनिता नेपालीले भदौरेको घटनामा पीडितको माग बमोजिमको विजय नभएको बताइन् । उनले कानुनको कार्यान्वयन तहमा भएकाहरुमा विभेद्को अनुभूति नै नभएकोले मुद्दालाई कमजोर बनाउने गरेको आरोप लगाइन् ।
पत्रकार दीपक परियारले विभेद्का विरुद्द प्रतिरोध गर्ने साहस र चेतना शिक्षाले मात्रै बृद्धि गर्ने भएकोले शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा सम्मानित अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष हर्क विक, एमाओवादी वडा न.१८ का अध्यक्ष खड्कबहादुर विक र एमाओवादीकै वडा न.११ का अध्यक्ष चित्रबहादुर वि.कले छुवाछूतलाई जरैदेखि निर्मुल गर्न दलितहरु एक ठाँउमा आउनुपर्ने बताए । सम्मान कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेम परियारले गरेका थिए । भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारलाई जातीय विभेद् गर्ने ठकुरशोभा गुरुङ र उनका श्रीमान् चन्द्रबहादुर गुरुङ ११ दिन थुनामा बसी धरौटीमा रिहा भैसकेका छन् । उनीहरु सोमबार जनही २५–२५ हजार धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । गुरुङ दम्पत्तिले गत पुस २८ गते एक भोजमा जुठो भाँडा नमाझेको भन्दै अम्बिकालाई दुव्र्यवहार गरेका थिए । घटना लगत्तै अम्बिकाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले गुरुङ दम्पत्तिलाई माघ १ गते पक्राउ गरि थुनामा राखेको थियो । 

स्रोत: इताजाखबर 

No comments:

Post a Comment