अनमि अम्बिका सुनार माथि जातीय भेदभाव गर्ने गुरुङ दम्पत्ति पक्राउ

पोखरा, १ माघ ,विभेद विरुद्ध अभियान । कास्कीको भदौरेतामागि गाविसमा एक दलित अनमिमाथि जातीय भेदभाव गर्ने गुरुङ दम्पत्ति पक्राउ परेका छन् । पीडित अनमि अम्बिका सुनारको जाहेरीको आधारमा प्रहरीले ठकुरशोभा र उनका श्रीमान् चन्द्रबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हो । गुरुङ दम्पत्तिले गत पुस २८ गते एक भोजमा जुठो भाँडा नमाझेको भन्दै अम्बिकालाई दुव्र्यवहार गरेका थिए । गुरुङ दम्पत्तिविरुद्द अम्बिकाले विहीबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयको निर्देशनमा पामेस्थित प्रहरी चौकीमा खटिएका प्रहरीले गुरुङ दम्पत्तिलाई भदौरे कुत्मिडाँडास्थित घरबाट पक्राउ गरेको हो । उनीहरुलाई हाल थुनामा राखिएको कार्यालयले जनाएको छ । गुरुङका आफन्तले शुक्रबार छलफल गर्न समय माग गरेको भएपनि कार्यालयले सार्वजनिक विदाको दिन छलफल नहुने भन्दै उनीहरुलाई फर्काइदिएको थियो । पीडित अम्बिकाले आफुलाई पीडकका आफन्तले ‘माफि माग्न र उनले पकाएको खान समेत तयार भएको’ भन्दै उजुरी फिर्ता लिन दवाव दिएको बताइन् । ‘म कुनै हालतमा जाहेरी फिर्ता लिन्न’, उनले भनिन्, ‘दोषीलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ ।’अधिवक्ता शिवबहादुर सुनारले जातीय भेदभावको घटनामा सरकारवादी मुद्दा हुने भएकोले प्रहरीबाट मिलाउन नमिल्ने बताए । उनले पीडकलाई २५ दिनसम्म हिरासतमा राखेपछि बयानको प्रक्रिया अगाडि बढ्ने र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेश गर्नुपर्ने व्यवस्था रहेको बताए ।
 पीडकलाई जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजायँ० ऐन २०६८ को आधारमा कार्वाही हुने उनले जानकारी दिए ।संविधानले जातीय भेदभावलाई सामाजिक अपराधका रुपमा व्याख्या गर्दै दण्डनीय हुने व्यवस्था गरेको छ । २०६८ को ऐन अन्तर्गत दफा ७ को उपदफा १९क० मा जातीय विभेद् गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ ।त्यस्तै दफा ७ को उपदफा २ बमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले कसुर गरेमा निजलाई ५० प्रतिशत थप सजायँ हुने उल्लेख छ । पीडकले २५ हजार देखि १ लाख रुपैयाँसम्म क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ ।यसअघि कास्कीकै घान्द्रुकमा खानेपानी आयोजनाको उद्घाटनका क्रममा सहभोजको प्रस्ताव राख्दा २०६८ कात्तिक २६ गते स्थानीय तालबाराही प्राविका हेडमास्टर कर्णबहादुर नेपाली लगायत अन्य दलितहरुमाथि कालोमोसो दल्ने र कुटपिट गर्ने कार्य भएको थियो । 
सो घटनामा कर्णबहादुरले १६ महिनापछि अदालतबाट न्याय पाएका थिए ।
 जातीय विभेदको उक्त घटनामा पीडकले सजायँ पाउनु नेपालमै उदाहरणीय कार्य रहेको कास्कीका दलित अगुवा भिमबहादुर वि।क ‘क्षितिज’ ले बताए ।जिल्ला अदालतले घान्द्रुकका कुमार गुरुङ, डाइविन भनिने किसम गुरुङ, यामबहादुर गुरुङ, विष्णुबहादुर गुरुङ, किरण गुरुङ र दुर्गामाया गुरुङलाई जनही १० हजार रुपैयाँ, एक्यापका कर्मचारी रामप्रसाद गुरुङ र शिक्षिका रेनुका गुरुङलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । पीडित कर्णबहादुर नेपालीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि पीडकहरूलाई अदालतले आदेश जारी गरेको थियो ।

स्रोत #fmbig.com

No comments:

Post a Comment