सरकारलाई दलबहादुर बिक र उनकी श्रीमतीको सन्देश

दोलखा, पौष २८- विभेद  बिरुद अभियान– दोलखाको लामाबगर–४ ठोकठोकका दल बहादुर विकलाई देशमा गणतन्त्र आएको छ भन्ने समेत थाहा छैन् । उनलाई अहिले पनि भूकम्पका कारण मारमा परेका जनतालाई राजाले राहत पठाएको भने लागेको छ । सोमबार लामाबगरमा भेटिएका विकले राटोपाटीसँग कुराकानी गर्दै उनले भने– ‘राजाले पठाएको राहतमा पनि भेदभाव भयो ।’ आएको राहतमध्ये अलिकति जनतालाई दिएर अरु सबै ठूलाठालुले खाएको उनको कथन थियो । ‘राजाले थुप्रो चामल, दाल, कपडा पठाएका छन् भन्ने सुनेको छु तर अहिलेसम्म हामीले ५ किलो चामल र १५,००० र १०,००० गरेर कुल २५,००० पैसा मात्र पाएका छौं ।’ उनले भने ।
घर कसरी बनाउनु ?
उनी भन्छन्– ‘राजाले घर बनाउन समेत पैसा पठाएका छन् । तर, सबै ठुला ठालुले खाए । हामीलाई केहि दिएनन् ।’ भूकम्पका कारण आफ्नो बास उठेको सम्झदैँ उनले घर नबनाई पनि नहुने र बनाउन सक्ने स्थितिमा पनि नरहेको बताए । सरकारले दिएको १५ हजार नुन, मसलामा नै सकिएको बताए । उनले थपे, ‘राजाले घर बनाउन पैसा दिएका छन् भन्ने सुनेको छु तर पाएको छैन ।’ हाल आफ्नी कान्छी श्रीमतीसँग बसेका बताउने ७५ वर्षीय विकले यसपालीको जाडो कटाउन मुस्किल भएको बताए । ‘सरकारले न्यानो कपडा किन्न दिएको १० हजार के गर्नुभयो त ? भन्ने राटोपाटीकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, ‘१० हजार दियो, तर कपडा किन्न हो कसैले भनेनन् । नुन मसला, चामल किन्दा नै त्यो पैसा पनि सकियो ।’
ठूलाठालुले लाखौँ कमाए, जनताको समस्या उस्तै
आफुले घर बनाउन अरु पैसा नपाएको भन्दै दल बहादुर विकले बोलिरहँदा उनकी कान्छी श्रीमती असलमाया विक पनि बोलिन् । ठूलाठालुले लाखौँ कमाए । हाम्रो नाममा राजाले पठाएको सबै पैसा मिलाएर खाए भन्ने सुनेका छौं । पहिला दिनहुँ जसो हेलिकप्टर उड्थ्यो, थुप्रो राहत आउँथ्यो, तर सबै ठूलाठालुले खाए, हामीलाई कसैले दिएनन् । चुनावको बेलामा भोट माग्न आउने नेताहरु पनि भूकम्पपछि नआएको तर्क दिँदै उनले भनिन्– ‘उ बेलामा भोट माग्न आएको नेता अहिले के कसो छ भनेर बुझ्न समेत आउका छैनन् । अब केहि महिनाका लागि अन्न होला । त्यसपछि त भोकै मरिन्छ, होला ।
बलियाले राहत पाए, वृद्धहरुको खाली हात
बलबहादुर विक र उनकी श्रीमती असलमाया विक दुई जना मात्र बस्छन् घरमा । ‘हेलीकोप्टरले राहत ल्याउँछ, माथिबाटै खसाल्छ । ज्यानमा बल हुनेहरुले राहत पाउँछन् हामी बुढा–बुढीको खाली हात ।’ आफ्ना श्रीमानको हातमा रहेको बोत्तल मागेर रक्सीको एक चुस्की मार्दै उनी भनिन्, ‘हाम्रो त प्राण यसले नै धानेको छ । अब अन्न ल्याइदिने कोहि छैनन् । ज्यानले थेगेसम्म यहि रक्सी अलिअलि खाने हो, त्यसपछि कुन दिन मारिने हो थाहा छैन ।’
सरकारलाई दलबहादुर र उनकी श्रीमतीको सन्देश
हाम्रो देशको सरकारलाई के भन्न चाहानुहुन्छ ? भन्ने प्रश्नमा उत्तर दिँदै दलबहादुर भने, ‘यहाँ हाम्रो गाउँमा राहतको हिनामिनाको खोजी गरेर जेलखानामा हाल्नुपर्यो ।’ त्यहि बेला उनकी श्रीमती पनि बोलिन्– ‘राजाले हामी जस्ता गरिवलाई पनि हेरिदिनुपर्यो । हामी पनि त जनता नै हो नि !’राजाले पठाएका मान्छे जस्ता छन् भन्दै उनीहरु कानेखुसी गर्दै थिए ।

रातोपाटी बाट

No comments:

Post a Comment