आफुले खाएको भाँडा नमाझेको भन्दै अनमि अम्बिका सुनार माथि आक्रमण

पोखरा, ३० पुस,विभेद बिरुद्ध अभियान  – कास्कीको भदौरेतामागीमा मंगलबार एक दलित अनमिमाथि आक्रमणको प्रयास भएको छ । स्थानीय भोजमा आफुले खाएको भाँडा नमाझेको भन्दै भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारमाथि आक्रमण प्रयास भएको हो । 

मंगलबार स्वास्थ्य चौकीमै कार्यरत सिनियर अनमि हरिकुमारी गुरुङले आफ्नो छोरा ब्रिटिश आर्मीमा भर्ति भएको खुसीयालीमा भोजको आयोजना गरेकी थिइन् । भदौरे ७ कुत्मिडाँडास्थित महिला स्वयंसेविका ठकुरशोभा गुरुङको घरमा आयोजित भोजमा स्वास्थ्य चौकीका ६ जना कर्मचारी र केही हरिकुमारीका आफन्त सहभागी थिए । उक्त भोजमा अनमि अम्बिका सुनार पनि आफ्नी साढे दुई वर्षीया छोरीसहित गएकी थिइन् ।

भोजमा अन्य सबै घरभित्रै पसेर खाना खाए । अनमि सुनारलाई भने स्वास्थ्यचौकीकै कर्मचारी पार्वती पराजुली र उनकी नन्द पुष्पा पराजुलीसँग बाहिरै राखियो । ‘मलाई एक्लै बाहिर राख्दा भेदभाव गरेकोजस्तो हुन्छ भनेर उनीहरुलाई साथी राखिएको हो’, अम्बिकाले भनिन् । अम्बिकाले खाना खाएर भाडा जुठेल्नामा राखिन् । उनी सबैले जुठो भाँडा राखेको ठाउँमा आफुले खाएको भाँडा राखेर छोरीलाई सम्हाल्न तिर लागिन् ।

त्यत्तिकैमा घरधनी ठकुरशोभा गुरुङ चर्किइन् । ‘तैले खाएको भाँडा तैले नै माझ । तेरो भाँडा माझ्न बसेको होइन । यो बजार होइन यो गाउँघर हो’ ठकुरशोभालाई उधृत गर्दै अम्बिकाले भनिन्, ‘त जति पढेर ठुलो भएपनि न कमिनी नै होस् । आफुले खाएको भाँडा आफै माझेर जा ।’ अम्बिकाले यदि भाँडा माझ्नुपर्छ भन्ने थाहा भएको भए भोजमै नआउने बताइन् र भाँडा माझ्न इन्कार गरिन् । अम्बिकाले यति भन्न नपाउँदै ठकुरशोभाका श्रीमान् चन्द्रबहादुर जंगीदै निस्किए । पाखुरा सुक्र्याउदै उनले ‘त कमिनीको जुठो भाँडा हामीले माझ्छम् ? त आफै माझ’ भने । अम्बिकातर्फ जाइलाग्न थालेका चन्द्रबहादुरलाई स्वास्थ्य चौकीकै अहेब हरिबहादुर राईले रोके । ‘हरि सरले नरोकेको भए कुटपिट पनि हुन सक्थ्यो’, अम्बिकाले पोखरा हटलाइनलाई भनिन् ।

त्यहाँ धेरैबेर बस्दा असुरक्षित हुने ठानेपछि आफु छोरी लिएर भदौरेकै पुरानेमा रहेको घरतर्फ हिडेको उनले बताइन् । उक्त घटना हुँदासम्म भोजमा सहभागि कोही पनि बोलेनन् ।

स्टाफ नर्स अम्बिका करिब तीन महिनाअघि कास्कीकै कृस्ती स्वास्थ्य चौकीबाट सरुवा भएर भदौरे गएकी हुन् । स्वास्थ्य चौकीबाट नजिकै रहेकोले तीन–चार पटक भएको तालिम र गोष्ठीमा खाजा खाने व्यवस्था पनि ठकुरशोभाकै घरमा हुन्थ्यो । त्यतिखेर भने अम्बिकाले भाँडा माझ्नुपरेको थिएन । उनले पोखराको नदिपुरस्थित पश्चिमाञ्चल प्राविधिक शिक्षालय, नदिपुरमा अध्यापन समेत गराउँदै आएकी छन् ।

बुधबार पोखरा हटलाइनसँग कुरा गर्दै अम्बिकाले ठकुरशोभा र उनको श्रीमान्ले ‘कहाँको ठुलो मान्छे होस्, जे गर्छेस् गर’ भनेपछि आफु न्याय खोज्न आएको बताइन् । अम्बिका र उनका श्रीमान् हितबहादुर सुनार जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दर्ता गर्ने तयारीमा छन् । ‘आज यत्तिकै छोडे भने फेरि फेरि यस्तो घटना दोहोरिन्छ’, आक्रोशित हुँदै उनले भनिन्,‘छुवाछूत गर्नेलाई कारवाही दिलाउन के–के गर्नुपर्छ सबैकुरा गर्छु । दबिएर बस्दिन ।’

स्रोत :पोखरा हटलाइन

No comments:

Post a Comment