म र मोनालिषा (कविता ) : हरिशरण परियार

माघ ५ , विभेद बिरुद अभियान ।
आज म
तिमी सँगै बसेर एकै हारमा
बाँचेर नयाँ देश
गाईरहदा
“सयौ थुङगा फुलका हामी”
सोधेर मेरो जात
खै कसरी भन्छौ?
तिमी पनि म जस्तै छौ त !
सोच्छु—
कति कुपोषित विचार लिएर बाँच्छ मान्छे?
जो
अझै मानसपटलमा उही पुराना न्यूरोनहरु बोकेर
आँखामा बाँधिएको अन्धविश्वासको पट्टि भित्रबाट
चिहाई बस्छ— अनुहारमा जात ।
ओ प्रिय मित्र !
कि देख्यौ ?
मेरो दलित हुनुको आकृति
प्रदर्शनी स्थलमा प्रदर्शित ?
वा
संग्रहालयमा संग्रहित ?
र त
सन्देह गर्छौ तिमी जस्तै हुनमा ।
ओ प्रिय मित्र !
यदि
कतै देखेका छौ भने लियोनार्दोदाभिन्चिले झै
कसैले कोरिरहेको मेरो दलित हुनुको आकृति
भनिदिनु मलाई
नतमस्तक भएर म सोध्नेछु मेरो प्रीय भिन्चिलाई
आखीर
के नै फरक छ
म र मोनालिषामा ?


साभार : pearlstjournal.com/np

No comments:

Post a Comment