विभेदको पीडा सहन नसकी आत्महत्या रोजेका एक दलित छात्रको ‘सुसाइडनोट’

हैदराबाद, माघ ५ , विभेद बिरुद्ध अभियान  हैदराबादको केन्द्रीय विश्वविद्यालयमा पिएचडी गर्दै गरेका छात्र रोहितले आइतबार राती मार्मिक पत्र लेख्दै आत्महत्या गरे ।
उनले आत्महत्या गर्नुको एउटै कारण उनी दलित जातिमा जन्मिनु थियो । दलित भएको कारण सामाजिक विभेदको असह्य पीडा सहन नसकी उनले आत्महत्या गरे । यद्यपी आत्महत्याको साटो विद्रोहको बाटो रोजेको भए त्यो सही हुने मत यो घटनामा व्यक्त भएको छ ।
दलित समुदायका रोहितलगायत अन्य ५ जनालाई केही दिन अगाडि छात्रावासबाट निष्काशित गरिएपछि उनी निराश थिए ।
आत्महत्या अगाडि रोहितले एउटा पत्र लेखे । उक्त पत्रमा जातीय विभेदविरुद्ध चर्को रोष व्यक्त नगरेपनि दलित जातिमा जन्म हुनु नै एउटा ठूलो कारण भएको उल्लेख गरेका छन् ।रोहितले आत्महत्या गर्नु अगाडि लेखेको र विविसीले हिन्दीमा राखेको पत्रको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

गुड मर्निङ,
तपाईहरुले यो पत्र पढिरहँदा म हुने छैन । मसँग नरिसाउनुहोला । मलाई थाहा छ, तपाईहरुमध्ये धेरैले मेरो चिन्ता गर्नुहुन्थ्यो । मलाई माया गर्नहुन्थ्यो र मेरो निकै हेरचाह समेत गर्नुहुन्थ्यो ।
मलाई कसैसँग कुनै गुनासो छैन । मलाई सधैं आफैसँग समस्या रही आयो । म आफ्ना आत्मा र शरीरबीचको दूरी बढदै गइरहेको अनुभूति गर्दै आइरहेको थिएँ । मलाई लाग्छ, म दानव बनिसकेँ । म सधैं एउटा लेखक बन्न चाहन्थेँ, कार्ल सगान जस्तै । तर अन्तमा म केवल यही एउटा पत्र मात्रै लेख्न पाइरहेको छु ।
मलाई विज्ञानसँग प्रेम थियो, ताराहरु र प्रकृतिसँग प्रेम थियो । मैले मानिसहरुसँग माया गाँसे । तर मानिसहरुले त उहिल्यै प्रकृतिसँग सम्बन्धविच्छेद गरिसकेका रहेछन् भन्ने मैले थाहा पाउन सकिनँ । हाम्रा भावनाहरु दोयम दर्जाका भइसकेका छन् । हाम्रो प्रेम बनावटी छ । हाम्रा मान्यताहरु झूठो छन् । हाम्रो मौलिकता वैध छ तर कृत्रिम कलाको माध्यमले मात्रै । प्रेम गर्दा पनि दुखी नहुने भन्ने कुरा निकै कठिन भइसकेको छ ।
एउटा मान्छेका मूल्य उसको तत्कालिक पहिचान र निकट सम्भावनासम्म सीमित गरिएको छ । अझ भनौं, एउटा भोटसम्म । मान्छेलाई कहिल्यै पनि उसको दिमागबाट मापन गरिएन । मान्छे एउटा ‘अङ्क’ मात्रै बनेको छ । एउटा बस्तु मात्रै बनेको छ। एउटा यस्तो बस्तु, जुन स्टारडस्टबाट बनेको छ । हरेक क्षेत्रमा, अध्ययनमा, बाटो, दोबाटोमा, राजनीतिमा र अझ मर्नु र बाँच्नुमा पनि ।
म पहिलोपटक यसप्रकारको लेखिरहेको छु । पहिलोपटक म अन्तिम पत्र लेखिरहेको छु । यदि यसको कुनै अर्थ निस्केन भने कृपया मलाई माफ गर्नुहोला ।
म नै गलत हुनसक्छु अहिलेसम्मको संसार बुझ्न । प्रेम, पीडा, जीवन र मृत्युलाई बुझ्न समेत । यस्तो कुनै आतुरी पनि थिएन । तर म सधैं हतारामो रहन्थे । म एउटा नयाँ जीवन शुरु गर्न बेचैन थिएँ । यो पुरै समय म जस्ता मानिसहरुका लागि जीवन अभिशाप नै रह्यो ।
मेरो जन्म एउटा भयंकर दुर्घटना थियो । म आफ्ना बाल्यकालको एक्लोपनाबाट कहिल्यै मुक्त हुन सकिनँ । बाल्यकालदेखि नै मैले कसैको माया पाइनँ । अहिले म आहत छैन । न त म दुखी नै छु । मात्र रित्तो छु । मलाई आफ्ना चिन्ता पनि छैन । यो दयनीय छ र यसै कारणले म यस्तो गरिरहेको छु ।
मानिसहरुले मलाई कायरको संज्ञा देलान । स्वार्थी र मूर्ख पनि भन्लान । तर मेरो मृत्युपछि मानिसहरुले मलाई के भन्लान् भन्ने कुराले मलाई त्यति फरक पार्दैन । मरेपछि भूतप्रेतका कहानीहरुमा म विश्वास गर्दिनँ । यदि कुनै कुरामा मेरो विश्वास छ भने त्यो म ताराहरुसम्म यात्रा गर्न सकुँ भन्ने छ । यसो भएको खण्डमा मैले अर्को दुनियाँ कस्तो छ भन्ने कुरा थाहा पाउँथे ।
तपाई जो जसले मेरो पत्र पढिरहनु भएको छ, यदि केही गर्न सक्नुहुन्छ भने मलाई आफ्नो ७ महिनाको फेलोशिप पाउन बाँकी छ । एक लाख ७५ हजार । कृपया यो पैसा मेरो परिवारलाई पाइएको सुनिश्चित गरिदिनुहोला । मैले रामजीलाई चालीस हजार रुपैयाँ दिनुपर्ने थियो । उनले कहिल्यै पनि पैसा फिर्ता त मागेनन् तर प्लिज फेलोशिपको पैसाबाट रामजीलाई उनको पैसा पनि फिर्ता गरिदिनु होला ।
म चाहन्छु, मेरो शवयात्रा शान्ति र चुपचापसँग होस् । मानिसहरुले यस्तो व्यवहार गरुन मानौं म आएँ र हिँडे । मेरा लागि आँसु नबगाइयोस् । तपाईलाई म बाँच्नुभन्दा पनि मरेपछि बढी खुसी छु भन्ने लागोस् ।
उमा अन्ना, मैले यो काम तपाईको कोठामा गर्न गइरहेकोमा क्षमा चाहन्छु ।
अम्बेडकर स्टुडेन्स एशोसिएसन परिवार, तपाईहरु सबैलाई निराश पारेकोमा माफी । तपाईहरु सबैले मलाई निकै माया गर्नुभयो । सबैलाई भविष्यको शुभकामना
अन्तिम पल्ट
जय भीम
मैले औपचारिकताहरु लेख्न बिर्से । आफैलाई मार्ने मेरो यो कृत्यका लागि कोही पनि जिम्मेवार छैन ।
यसो गर्नका लागि मलाई कसैले भड्काएन, न त आफ्नो कृत्य र न आफ्नो शब्दबाट नै ।
यो मेरो निर्णय हो र म यसका लागि जिम्मेवार छु ।
म गएपछि मेरा साथी र दुश्मनहरुलाई दुख दिने चेष्टा नगरियोस् ।

No comments:

Post a Comment