धामीले तातोपानी शरीरमा खनाइदिँदा थुमसरा विक गम्भीर घाइते

दाङ, फागुन २७ ,विभेद बिरुद्ध अभियान  । प्यारालाइसिस रोग निको पार्ने भन्दै धामीले तातोपानी शरीरमा खनाइदिँदा दाङ, हाँसीपुर–१ रुपाकोटकी थुमसरा विक गम्भीर घाइते भएकी छिन् । उनको उपचारमा समेत आर्थिक समस्या भएको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको उनकी छोरी दमन्ता विकले बताइन् । कोइलावासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाइसिस निको पार्ने भन्दै थुमसराको शरीरमा तातोपानी खन्याइदिएका थिए । तातोपानी खन्याएको १० दिनपछि मङ्गलबार मात्रै थुमसरालाई गम्भीर घाइते अवस्थामा राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो ।
बीस वर्षदेखि शरीरको दाहिने भाग नचल्ने अवस्थामा रहेकी थुमसरालाई निको पार्ने भन्दै धामीले शरीरमा तातोपानी खन्याएका थिए ।
घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पाल्पाको मिसन अस्पतालमा पुर्‍याइएको छ । ऋण काढेर उपचारका लागि पाल्पा पुर्‍याइएको उल्लेख गर्दै छोरी दमन्ताले उपचारमा सहयोग गरी ज्यान बचाइदिन सबैसँग आग्रह गरेकी छिन् ।
तातोपानीले थुमसराको शरीरको करिब ६० प्रतिशत भाग पोलेको छ ।
यसैबीच, प्रहरीले शरीरमा तातोपानी खन्याउने कमल क्षेत्रीलाई उपचारको जिम्मेवारी लिन भनेको छ । बुधबार कोइलावासबाट पक्राउ परेका क्षेत्रीलाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको र उपचार खर्च बेहोर्न भनेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

No comments:

Post a Comment