आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ

दाङ, १७ चैत,विभेद बिरुद्ध अभियान । तुलसीपुर नगरपालिका– ३ श्रीगैंका एक दम्पत्तिले आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ गरेका छन् । श्रीगैका सीता भण्डारी र उनका श्रीमानले रोल्पा नुवागाउँ– ६ का नन्दुकुमार विक र उनकी श्रीमती भीमा विकलाई कोठाबाट निकाली घर चोख्याउन पूजापाठ गरेका हुन् ।अध्ययनको सिलसिलामा गत असोज ५ गते भण्डारीको कोठा भाडामा ल्याई बस्दै आएका दुबै जनालाई कोठाबाट निकाली मंगलवार पूजापाठ गरेको पीडित नन्दुकुमार विकले बताए । १५ महिने भेट्नरी पढ्दै आएका विकलाई पटक–पटक घरमालिक भण्डारीले दलित भन्दै मानसिक तनाव दिँदै आएको विकको भनाई छ । तुलसीपुरबाट प्रसारण हुँदै आएको रेडियो प्रकृतिमा “विषय हाम्रो विचार तपाईको” भन्ने रेडियो कार्यक्रममा फोन गरेको थिएँ । रेडियो कार्यक्रम घर साहुकी छोरीले सुनेकी रहेछिन् । मैले रेडियोमा नाम र थर भनेपछि त्यो कुरा उनीहरुले आफ्नो ठूली आमालाई आएर भनेछिन । त्यसै दिनदेखि मलाई तल्लो जातको मान्छे बसेको भन्दै कोठा छोड्न लगाइयो” विकले भने । 
जात थाहा पाएपछि घरसाहु सीता भण्डारीले “हाम्रो घरमा अशान्ति, अशुद्ध, झगडा र श्राप परेको कुरा आज मैलै ज्योतिषकहाँ गएर हात हेराउँदा थाहा पाएँ । त्यसैले तपाईहरु घरबाट निस्कनुस्” भनेको विकले बताए । घर साहु भण्डारीले “हामीले मान्ने कुल देवताले पनि सानो जातका मान्छेलाई घरभित्र भित्राएको थाहा पाएर हाम्रा हात, खुट्टा शरीर काम्ने दुख्ने भएका छन् । त्यक्तिमात्र नभई यदि श्रीमानले थाहा पाउनु भएमा उहाँ काम्नु हुन्छ । त्यसैले यो सब नहुँदै समस्याको समाधान गर्न कोठा खाली गरिदिनुस् भन्दै भण्डारीले आफूलाई बताएको विकले सुनाए ।
दलित भन्ने थाहा पाउँदाको दिनदेखि नै घर साहु सीताले कोठा खाली गर्न आग्रह गरे पनि अहिलेसम्म कोठा नछाडेको विक परिवारको भनाई छ । भण्डारीले कोठा खाली गर्नका लागि बरु अन्यत्रै कोठा खोजेर तयार पारिदिएको बताइन् । विक परिवारले कोठा छाड्न नमानेपछि मंगलवार बिहानमात्र सँगैको अर्को कोठामा ओड्ने ओछ्याउने विस्तारा, भाँडाकुँडा लगेर राखिदिएर उनीहरु बस्दै आएको कोठा चोख्याउन पूजापाठ गरेको विकले बताएको भनाइ छ ।
यस्तै घर साहु सीता भण्डारीले विकको परिवार बसेको कोठामा मरेको मान्छेको हड्डी भएको बताउँदै ग्रहशान्ति मात्र गरेको बताएकी छिन् । ज्योतिषकहाँ गएर देखाउँदा घरको दक्षिण कोठामा मरेको प्रेतआत्मा छ । त्यसैले घर बान्नुपर्छ भनेपछि मात्र आफूले पूजापाठ गराएको सीताले दावी गरिन् । “रातको समयमा श्रीमान र छोराको गला खै कसले अचेट्छ । त्यसैले यसको समाधान गर्न मैले पूजापाठ गरेको हुँ” उनले भनिन् ।
ग्रह शान्ति गराउन पुगेका पण्डित डा. गंगादत्त शर्माले कुण्डलीमा हेर्दा उक्त कोठामा प्रेत आत्मा देखिएको कारण ग्रहजब गरिदिएको बताए । यो बाहेक अन्य कुरा आफूलाई थाहा नभएको बताउँदै यदि जातीय रुपमा विभेद भएको रहेछ भने यो गलत भएको उनले बताए । पीडित विकले पीडकलाई कानुनी कारवाहीको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएको बताएका छन् । त्यसैले गर्दा विकको दम्पतिले पीडकलाई कानुनी कारवाहीको माग गर्दे सबैमा सहयोग गरिदिन आग्रह गरेको खबर पहिलो पेज डट कममा छ । 

No comments:

Post a Comment