चैत ७,काठमाडौँ,विभेद बिरुद्ध अभियान- रोजगारीका लागि दिनहुँ विदेशिने युवाको सङ्ख्या हजारौँ भए पनि सीप भएका युवाले खाली हात बस्नुपर्दैन भन्ने गतिलो उदाहरण हुन् युवा व्यवसायी रामशरण विश्वकर्मा ।रसुवा, भोर्ले–९ का ३३ वर्षे युवा रामशरणले प्रवेशिका परीक्षा सकिने बित्तिकै रोजगारीका लागि काठमाडौँको यात्रा तय गरेका थिए । सुरुवातका दिन निकै सङ्षर्घशील भए पनि त्यसको केही वर्षपछि उनले सफलताको स्वाद पनि चाख्न थालिहाले ।
नेपाल सुन चाँदी व्यवसायी सङ्घद्वारा सञ्चालित नेगोसिडा नामक परियोजनामार्फत एक वर्षे शिल्पी डिजाइनिङ कोर्स लिएपछि उनको आत्मविश्वासले रङ्ग देखाउन थाल्यो । उनी भन्छन्–“तालिम लिनुअघिसम्म अर्काको पसलमा सानोतिनो काममा गुजारा चलाइरहेको भए पनि त्यसपछि ममा आत्मविश्वास आयो । अलिअलि लगानी अनि धेरै परिश्रम र धैर्यताका कारण अहिलेको सफलता हात लागेको हो ।”
बिबीएससम्मको अध्ययन गरेका रामशरणले सानैदेखि आफ्ना अभिभावकले पनि यही काम गरेको देखेका थिए । तर अभिभावकले जति काम गर्दा पनि हातमुख जोर्नेभन्दा बढीको आयआर्जन गर्न नसकेको यथार्थ पनि उनको अगाडि थियो । उनले आफैँले यही काम थालनी गरेपछि केही नयाँ गर्न नसके यो क्षेत्रमा अगाडि बढ्न गाह्रो हुने देखिसकेका थिए । त्यसैले पनि उक्त तालिमले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएको उनी बताउँछन् ।
सुरुमा कोटेश्वरमा सीमित रहेको उनको ‘प्रशंसा ज्वेलर्स प्रालि’ले अहिले सातदोबाटो र कलङ्कीमा आफ्नो शाखा विस्तार गरिसकेको छ । अहिले उनले २०÷२५ जनालाई रोजगारीसमेत दिएका छन् । व्यवसायले अहिले उनलाई दामका साथै नाम पनि दिलाएको छ । कामका कारण नै विभिन्न सङ्घसंस्थाबाट उनले सम्मान पाउने गरेका छन् ।
“लगन र परिश्रम भए कहीँ पनि मानिसले असफलता भोग्नुपर्दैन”, उनले भने– “अहिले नेपालभर पाँच लाख बङ्गाली सुन तथा चाँदीको काम गर्दैछन् । काठमाडौँमा मात्र तीन लाख छन् । उनीहरु नेपालमा आएर सुन चाँदीको डिजाइन बनाउन सिक्ने र यहीँ व्यवसाय गर्छन । “उनीहरु यहाँ आएर काम गर्न सक्छन् भने हामी यहीँ भएकाले किन नसक्ने ?” उनले भने । विश्वकर्माले डिजाइन गरेको गहना अहिले नाम चलेका ऋद्धिसिद्धि ज्वेलर्स, निलम ज्वेलर्सबाट समेत माग भई बिक्री हुने गरेको छ ।
आफूमा रहेको सीप अरुलाई पनि सिकाउने र यस क्षेत्रमा दक्ष कालिगढको सङ्ख्या वृद्धि गराउनेतर्फ केही गर्न सकिन्छ भन्नेतर्फ पनि आफूले योजना बनाउँदै गरेको उनले सुनाए । युवाले आँट गरे गर्न नसक्ने भन्ने केही कुरा नभएको बताउने रामशरण युवालाई अझ प्रोत्साहनको खाँचो रहेको छ भन्छन् ।
“सरकारले पनि युवाका लागि केही गर्नुप¥यो”, उनले भने, “नेपालमा सीप सिकाउने संस्था नै कम छन् । युवाले काम सिक्छु केही गर्छु भन्ने सोच राखे पनि कहाँ सिक्ने भन्ने समस्या हुन्छ । अनि लगानीको कुरा पनि उठ्छ । त्यसपछि केही गर्ने विचार भएका युवा पनि हतोत्साही हुन्छन् अनि विदेशिन्छन् ।”सरकारले युवालाई विदेशिनबाट जोगाउन रोजगारीको सिर्जना गर्नैपर्ने उनले बताए । रासस
No comments:
Post a Comment