काठमाडौं, फागुन २९ , विभेद बिरुद्ध अभियान - सामाजिक आन्दोलनका अगुवा व्यक्तित्व बलदेव रामको घरमा पुग्दा दिउँसोको ११ बजेको थियो । म सिरहा पुगेदेखि नै सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेव रामलाई भेट्ने अभिलाषालाई रोक्नै सकिनँ र २०७२ फागुन १८ गते स्थानीय मित्रहरूको सहायोगमा उहाँको घर पत्ता लगाई लागे उहाँको घरतर्फ । सप्तरी मधुपट्टीस्थित उहाँको घरमा पुग्दा सेतो कुर्ता र सुरुवाल लगाएका चमार आन्दोलनका अग्रज व्यक्तित्व बलदेव रामजी आफ्नै घरेलु कार्यमा व्यस्त हुनुहुन्थ्यो । हामी आएको जानकारी पाउनासाथ उहाँ हामी नजिक आउनुभयो । मेरो उहाँसँग पहिलो भेट कैलालीको धनगढीमा भएको भए पनि समयान्तरले उहाँले मलाई चिन्न सक्नुभएन तर मैले भने सहजै चिनें । ६० वसन्त पार गरिसकेका बलदेव रामसँग सहज, आत्मीय रूपमा भलाकुसारी भयो ।२०५५ सालको अन्त्यतिर प्रारम्भ भएको सिनो बहिष्कार आन्दोलको अगुवा सामाजिक नेतालाई आन्दोलन प्रारम्भ भएकै ठाउँमा भेट्दा निकै आनन्द महसुस भयो । मेरा २०५५ र २०५६ सालको सिनो बहिष्कार आन्दोलनले ल्याएको परिवर्तन उहाँबाटै सुन्ने जिज्ञासा पूरा हुने कुरामा समेत म विश्वस्त भएँ । समाजमा तथाकथित रूपमा आफूलाई माथिल्लो जातका समपन्न भनिनेहरूले आफ्नो घरमा मरेका पशुहरू आफूले हात नलगाउने र समाजमा तथाकथित तल्लो जात भनिएकाहरूलाई उक्त मरेको पशु फाल्न लगाउने बाध्यकारी व्यवस्था रहेकोमा सो परम्पराविरुद्ध सप्तरी मधुपट्टीबाट सुरु भएको सिनो बहिष्कार आन्दोलनले सप्तरीको सीमा मात्र नाघेन सफलतासमेत प्राप्त गरेको तथ्य मधुपट्टी जाँदा महसुस भयो । कुनै निश्चित जातले विनापारीश्रमिक अर्काको मरेको पशु फाल्नैपर्ने विषय कुनै पनि अर्थमा सान्दर्भिक थिएन ।
यो आन्दोलनका बेला मित्रशक्तिका रूपमा पत्रकार, अधिकारकर्मी तथा दलित अपधकारकर्मीले निकै सहयोग गरको स्मरण गर्दै उहाँले उक्त आन्दोलनको बेला मालिकहरू संगठित मात्र भएनन् नाकाबन्दीसमेत गरेको बताए । सप्तरी दौलतपुरस्थित कडरहवा र आफ्नै गाउँमा समेत महिनौं नाकाबन्दी गरी बाटोघाटोसमेत बन्दका बाबजुद हामीहरूले हार मानेनौं र आज चमारहरू सिनो फाल्नैपर्ने बाध्यकारी अवस्थाबाट स्वतन्त्र भएका छन् । चमार आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी नभए पनि यसबारे सरोकार राख्दै आएकाले यसबारे जान्न र वर्तमान अवस्था बुभm्नु मेरो उद्देश्य थियो । सो पूरा भयो । आज सिरहा, सप्तरीलगायतका जिल्लामा तथाकथित दलित भनिएकाहरू सिनो फाल्न बाध्य नभएको सुन्दा निकै खुसीको अनुभूति भयो । पूर्वी तराईमा भएको यो आन्दोलन नेपालको सफल सामाजिक आन्दोलन हो ।
जातीय हिंसा, गरिबी र चेतनाको अभावसमेतका कारण यस्तोखाले अमानवीय प्रथा नेपालका विभिन्न भागमा रहेको थियो । यो र यस्तै प्रकारको आन्दोलन सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भएको थियो । नेपालमा २०४६ सालमा प्रजातन्त्रको स्थापना र २०४७ को संविधान निर्माणपश्चात् समेत उपरोक्त परिवर्तनले छुन नसकेका यस्ता अन्यायपूर्ण श्रम सम्बन्ध अवशेष रहनुले कानुनी राज्यको उपहास भएको प्रस्ट छ । सामाजिक सवालतर्फ दल र नीति निर्माताहरूको ध्यान नजानुले राजनीतिक परिवर्तनले खासै महŒव राख्न नसकेको तथ्यतर्फ सबैको ध्यान जानुपर्दछ । राजनीतिक र संवैधानिक परिर्वतनको अनुभूति नागरिकलाई गराउनु कर्तव्य हो भन्नेतर्फ ध्यान जानु आवश्यक भए पनि पीडितहरूले आन्दोलन नगरी सुख पाएनन् । यो आन्दोलनका क्रममा राजनीतिक दलहरूको समेत चरित्र प्रस्ट भएको देखिन्छ ।
विश्वमै धर्मका आधारमा नया“ सम्राज्य खडा गर्न खोज्ने प्रचलनको विकास हँुदै गइरहेको सन्दर्भमा आफंै हिन्दु हौं भन्नेउपर हिन्दुहरूले नै गरेको यो व्यवहार धार्मिक हिसाबले समेत उपयुक्त मान्न सकिँदैन । हाल जनचेतना दलित समाज नामको गैरसरकारी संस्था गठन गरी सो संगठनमार्फत दलितका सवालहरूमा काम गरिरहनुभएको र स्थानीय रूपमै आफ्नै जग्गा र कार्यालय भवन देख्दा बलदेव रामको समाजप्रतिको दायित्वबोध सबैका लागि उदाहरणीय छ । संस्था मार्फतदलित समुदायका युवाहरूलाई संगठित बनाउँदै समाजमा हुने जातीय विभेदविरुद्ध लागिरहने जनाउँदै राष्ट्यि दलित नेटवर्कले प्रदान गरेको टीकाराम पार्की मानवमर्यादा पुरस्कार प्राप्त गर्दा आफू निकै खुसी भएको बताए । नेपालको भूमि अधिकार आन्दोलनमा सक्रिय रहेका बलदेव राम भूमि अधिकार मञ्चको अध्यक्ष तथा भूमि आयोगका सदस्यसमेत भए । आफूले जीवनमा २२ मुद्दा खेपेका र सबैमा जित हासिल गरेका बलदेव राम नेपाल सरकारले विनासूचना आफूलाई आयोगबाट निष्कासन गरेकोमा समेत मुद्दा लडी पुनर्बहाली भएको अवस्थालाई सफलताका रूपमा लिन्छन् ।
पूर्वी तराईमा दलित भएकै कारण समस्या भोग्नेको संख्या कम छैन । जातीय छुवाछुत प्रचुर मात्रामा रहेको छ । धारा छोएकै कारण आज पनि दलित समुदाय प्रताडित बन्न बाध्य छन् । सार्वजनिक स्थल, विद्यालय र मन्दिरमा समेत दलित समुदाय विभेदबाट पीडित छन् । सबैलाई अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्थापन राष्ट्रिय कार्यक्रम भए पनि दलित बालबालिकालाई विद्यालयले पानीसमेत नदिने गरेको तथ्य सार्वजनिक हुँदा समेत कार्यान्वयनकर्ता र दलहरू मूकदर्शक रहेको पाइन्छ । जातीय स्तरण र यो कारणले भोग्नुपरेका दलित समुदायका समस्यातर्फ यहाँ जुन रूपमा आवाज उठ्नुपर्ने त्यो रूपमा हुन सकेको छैन ।
सिनो बहिष्कार आन्दोलनका सफल व्यक्तित्व बलदेव राम अबको उहाँको प्राथमिकता के हो भन्ने प्रश्नमा यो क्षेत्रका दलितहरू छुवाछुत र हरुवाचरुवाका नाममा पीडित छन् । उनीहरूका लागि केही गर्नु आवश्यक भए पनि मित्रशक्तिहरू अलि टाढा भएको गुनासो गरे । अहिले पनि यहाँका दलित समुदायहरू जातीय छुवाछुतबाट पीडित छन् र उनीहरू आफ्नो जीविकोपार्जनका लागि बँधुवा मजदुरका रूपमा काम गर्न बाध्य छन् । सबैको साथ सहयोग र सदाशयता रहे जीवनपर्यन्त यही कार्यमा लागिरहने उनको प्रतिबद्धता निकै सराहनीय लाग्यो । नेपाल सरकारले २०५७ सालमा कमैया र २०६४ सालमा हरुवाचरुवाकै प्रकृतिको अन्यायपूर्ण श्रम समबन्ध अन्तय गरेको छ भने नेपालको संविधानले समेत जातीय छुवाछुत र कसैले कसैलाई निजको इच्छाविरुद्ध काममा लगाउने कुरालाई निषेध गरेको सन्दर्भमा नागरिक अगुवा बलदेव रामले यो सपना सँगाल्नुपर्ने अवस्था सिर्जना हुनुले नेपालको संविधान, दल र सरकारउपर प्रश्न खडा गरेको छ । सिनो बहिष्कार आन्दोलनका सफल अगुवा नेताको यो आकांक्षाले सफलता प्राप्त गरोस्। सिनो बहिष्कार आन्दोलनसरह । आफू र आफ्नो समुदायले बाध्य भई सिनो फाल्ने एउटा कालखण्ड उहाँकै अगुवाइमा सफल भएकोमा उहाँ सधैं सामाजिक आन्दोलनका पथप्रदर्शक हुनुहुनेछ ।
No comments:
Post a Comment