दलितहरु एकजुट भएर आन्दोलन नगरी दलित मुक्ति असम्भव

 धरान, चैत्र १३  , विभेद बिरुद्ध अभियान -सबै राजनीतिक दलमा आबद्ध दलितहरु एकजुट भएर आन्दोलन नगरी दलित मुक्ति असम्भव रहेको दलित अधिकारकर्मी उमिता बराइलीले बताउनु भएको छ । 

उहाँले धरान–२२ मा स्थानीय दलितहरुले आयोजना गरेको वृहत दलित भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि रहनु भएकी बराइलीले दलितहरुमाथि लादिएको छुवाछुत र भेदभावको अन्त्य गर्न अझै पनि आन्दोलन जरुरी रहेको बताउनु भयो । 
कार्यक्रममा अर्का अतिथि दलित उत्थान समन्वय समिति धरानका अध्यक्ष दिलबहादुर रामदामले दलितहरु एक ढिक्का नभई दलित मुक्ति सम्भव नहुने बताउनु भयो । उहाँले अहिले संविधानलाई कार्यन्वयन गर्न अघि बढ्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलले अहिलेको समयमा समेत दलितहरुमाथि राज्यसत्ताद्धारा नै विभेद कायम रहेकाले पुरानो संसदवादी राज्यसत्ताको ध्वंस नगरी दलितहरुको मुक्त नहुने बतामा जोड दिनु भयो । उहाँले दलितहरुमा क्रान्ति र चेतनाले परिपूर्ण नभई अधिकार र मुक्ति सम्भव नहुने समेत बताउनु भयो । उहाँले अबका दिनमा दलितहरु क्रान्तिकारी विचार र चेतनाद्धारा प्रशिक्षित भई संसदवादी पुरानो राज्यसत्ताको विरुद्धमा केन्द्रीत हुनुपर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा अर्का वक्ता नेकपा माओवादी निकट नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा कोशी उपक्षेत्रीय व्यूरो इन्चार्ज डिल्ली नेपालीले श्रमिकको श्रम चुसेर खानेहरुको अहिलेसम्मको राज्य सत्ताले विभेद सिर्जना गर्ने पुरानो कानुनलाई बदल्न नचाहेकाले दलितहरुमाथि विभेद र शोषण जस्ताको तस्तै रहेको बताउनु भयो । अहिले सम्मको सरकार र सत्ताको शासन गर्ने व्यवहार शैली तवर तरिका पुरानै भएकाले यो पुरानो ढाँचाको राज्यसत्ता विरुद्ध सङ्घर्ष जारी रहेको समेत बताउनु भएको छ । 
त्यसैगरी मोर्चा कै सुनसरी जिल्ला संयोजक नन्दलाल लोहारले अहिलेसम्मका संसदवादी राजनीतिक पार्टीहरुले दलितहरुलाई मलम पट्टि लगाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दलितहरुले अब क्रान्तिको बाटो नरोजी मुक्ति सम्भव नहुने समेत दाबी गर्नुभयो ।
धरान–२२ मा ३ सय घर परिवारका दलितहरुको हक अधिकारका निम्ति निर्माण गरिएको समान दलित अधिकार समितिको उक्त भेला जेष्ठ स्थानीय दलित नागरिक रामबहादुर गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो । सेवक विश्वकर्माले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि स्थानीय दलित अगुवा दुर्गा शंकरले प्रकाश पार्नु भएको थियो ।


महाप्रतिवाद बाट साभार 

No comments:

Post a Comment