छुवाछुत समाजकै साझा समस्या भएकाले समाजका सवैले अभियान थाल्नु पर्छ

विनोद परियार,रूपन्देही, चैत्र ७ - विभेद बिरुद अभियान - दलित समुदायमाथि हुने छुवाछुत सभ्य समाजकै समस्या भएकाले यसको अन्त्यका लागि सरकारी निकाय, अधिकारकर्मी र नागरिहरुले अभियान थाल्नुपर्ने बताइएको छ । ५१ औं अन्तराष्ट्रिय जातीय उन्मूलन दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाको आयोजना तथा रेडियो जागरणको समन्वयमा सोमबार बुटवलमा भएको विभेद विरुद्ध अन्तरसंवाद कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जातको आधारमा छुवाछुत कसैले पनि गर्न नपाउने भन्दै यदि कसैले छुवाछुत गरेमा कारवाही हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा अन्तरजातीय विवाह गरेका जोडीमा नागरिकता बनाउने सवालमा समस्याहरु द्येखा पर्ने गरेको बताउँदै आफुहरुले त्यस्ता समस्यामा सहयोगी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

बुटवल उपमहानगरका बरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले बुटवललाई मानवताको सहर बनाउने योजना रहेको बताउँदै छुवाछुतजन्य व्यवहारको अन्त्यका लागि उपमहानगरले सहभोजदेखि योजना निर्माणसम्ममा प्राथमिकता दिदै अगाडि बढेको बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि महेन्द्र खड्काले जातीय विभेद भयो भनेर उजुरी प्रहरीकोमा नआएको तर अन्तरजातीय विवाह भएपछिको समस्या आउने बताउनुभयो । अधिवक्ता तथा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव जानुका बराहले नेपालमा कानुन भएपनि कार्यान्वयन हुन नसकेको भन्दै अझै पनि दबाबको खाँचो रहेको बताउनुभयो ।
मुक्ति समाजका केन्द्रीय परिषद सदस्य एचबी रम्तेलले राजनितिक दलहरुले नै दलित समुदायलाई बालीघरे बनाएको भन्दै अब पार्टीभन्दा माथि उठेर राजनितिक दलहरु प्नि सच्चिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व उपाध्यक्षद्धय पदमबहादुर विश्वकर्मा, नन्दबहादुर खड्काथोकी, दलित नेता नरेन्द्र दर्जी,मुक्ति समाज रुपन्देही अध्यक्ष जुद्धबहादुर विश्वकर्मा, दलित अगुवा हरि बमरेल, रेवन्त विश्वकर्मा, टोल नगर समन्वय समितिका सहसंयोजक ज्योतीप्रसाद अर्याल, दलित महिला संघका मनु खड्का, माया दर्नाल पुष्पा विक, संगीता जीआर लगायतले छुवाछुत अन्त्य सँगै दलितका समस्यामा सरकारी निकायलाई संवेदनसिल हुन आग्रह गर्नुभयो । बुटवल उपमहानगरका बरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो जागरणका स्टेशन प्रमुख विनोद परियारले गर्नुभएको थियो ।
सोमबार नेपालमा पनि ५१ औं अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवस मनाइँदैछ । यसैक्रममा रुपन्देहीको भैरहवामा रुपन्देहीका नगरपालिका र गाविसका प्रमुखहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
-जागरण मिडिया

No comments:

Post a Comment