मार्च २१ लाई राष्ट्रिय क्षमा दिवसको रुपमा मनाऔ -गणेश परियार सिवा

चैत ८ - विभेद बिरुद अभियान -आज  मार्च २१ , अर्थात्  ५१  औं अन्तराष्ट्रिय  जातीय विभेद तथा रंगभेद विरुद्धको दिवस, विश्व भरी नै विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ l जातिय विभेद तथा रंगभेद उन्मुलन दिवसको ईतिहास दक्षिण अफ्रीकाको सार्प भिल्लेमा सन १९६० मार्च २१ का दिन भएको ६९ जना ब्यक्तीहरुको नरसंघारको घटनासंग जोडिएको छ l  रंगका आधारमा गरिने विभेदले अफ्रिकी मुलका काला जातिहरु बिश्वभरि अमानबिय र पशुतुल्य जीवन जिउन बाध्य बनाईएका थिए l  
काला जातिको स्वतन्त्रा र मानब अधिकार कानुनी रुपमानै वर्षौसम्म कुल्चिएर राखेका,  गोराहरुले कालाहरू माथि गरिएको दमन , भेदभाब ,अन्याय ,शोषण ,उत्पीडन र दासत्वलाई सहन नसकी यसको बिरोधमा हजारौ मानिसहरु एकै ठाउमा भेला भई दक्षिण अफ्रिकाको विभेदी कानुनका बिरोधमा शान्तिपूर्ण तरिकाले जुलुस प्रदशन गर्ने क्रममा सन १९६० मार्च २१ का दिन त्यहाको प्रहरी प्रशासनले जुलुस माथि अन्धाधुन्ध  गोलि चलायो र गोलि लागेर ८ जना महिला र १० बालबालिका सहित ६९ जनाको क्रुरता पुर्वक हत्या गरेका थिए  | 
यस घटनाले विश्वभरि तरंग उत्पन्न गरायो l रंगभेदले पिल्सिएका करोडौ करोड जनताहरुलाई तरंगित र आन्दोलित बनाउने काम गर्यो l यसै घटनालाई स्मरण गर्दै  संयुक्त राष्टसंघले २१ मार्च  १९६५ मा  जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मार्च २१ लाई  मनाउने घोषणा गर्यो र सन १९६६ देखि हरेक वर्ष मार्च २१ को दिन बिश्वभरि जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवसकोरुपमा मनाईदै आईएको छ l  नेपालले पनि यो महासन्धिलाई सन् १९७१ मा अनुमोदन गर्दै मार्च २१ लाई जातिय भेदभाब उन्मुलन दिवसकोरुपमा मनाउदै आएको छ l नेपालमा बिशेष गरि जातिय छुवाछुत र विभेदका कारण पछाडी पारिएका, उत्पीडनमा पारिएका दलित समुदायहरुले मार्च २१ लाई बिशेष दिनकारुपमा विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरेका छन l दक्षिण अफ्रिकामा यस दिनलाई मानव अधिकार दिवसकोरुपमा मनाउने गरिएको छ l 

 विश्वका अन्य ठाउहरुमा प्रयोग गरिएका रंगभेद र मुलत हाम्रो दक्षिण एसियामा हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित जातिभेद  (वर्णभेद ) आवरणमा केहि समान देखिए पनि यसका मुल बिशेषताहरुमा ठुलो अन्तर रहेको छ l रंगभेद गोरा र काला दुई फरक जाति र भूगोलमा बिकसित भएका मानव जातिहरु बिचमा गोरा जातिले काला जाति माथि गरेको अमानबिय र जंगली बर्बरता थियो भने दक्षिण एसियामा हिन्दु वर्णाश्रम ब्यबस्था अन्तर्गत बिकसित भएको जातिभेद ( वर्णभेद ) समान जाति र समान भूगोलमा बिकसित भएका समान मानवजाति भित्र जबर्जस्त तरिकाले लादिएको बर्बरता थियो l रंगभेदले काला जातिका मानिसलाई  मानवपशुको रुपमा किनबेच गर्ने, दास बनाउने सम्मका बर्बरता थोपरे पनि रंगभेद दक्षिण एशियामा बिकसित गरिएको जातिभेद (वर्णभेद ) जस्तो अस्पृश्यता र धर्मसंग गासिएको छैन l 
 दक्षिण एसियामा हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित जातिभेद (वर्णभेद ) शुरुमा समान भुगोल र समान जाति भित्र विकासित भएको मानब समाज भित्र श्रमको विभाजन गर्ने उदेश्यले शुरु भएको र पछि त्यहि श्रमको विभाजन जातिको पहिचान र जन्मको पहिचान बन्न थालेको देखिन्छ l त्यसमाथि पछि छुवाछुत र अस्पृश्यता जस्ता कुराहरु घुसाएर धर्म र पुर्व जन्मको कर्मसंग जोडिदिएर आर्थिक, सामाजिक, धार्मिक, सास्कृतिक, राजनैतिक र शैक्षिक क्षेत्रहरुमा प्रतिबन्ध लगाउदै त्यसपछिका शासक र सत्ताहरुले कडा कानुन र नियम बनाएर अनिवार्य समाजमा विभेद गर्न सिकाएपछि आजको नेपालका चालिस लाख सहित विश्वभरिका झन्डै एक्काईस करोड जनसख्या आजपनि आफ्नो स्वाभिमान भुईमा रगेडदै अपमान पुर्वक जीवन जिउन बाध्य भैराखेका छन l 

 आज मार्च २१ गते विश्व समुदाय जातिय भेदभाब तथा रंगभेद उन्मुलन दिवस मनाई रहेको छ नेपालले अब यसै  दिनलाई राष्ट्रिय क्षमा दिवसको रुपमा पनि मनाउनु पर्छ l दलितहरु माथि हिजोको राज्यसत्ताले अन्याय गरेकै हो l रामशाह देखि जयस्थिति मल्ल हुदै मुलुकी ऐन १९१० सम्मको कानुनहरु पल्टाएर हेर्दा हुन्छ आजका चालीसौ लाख नेपालि नागरिकहरुलाई दलित बनाउन राज्यको भूमिका कति कठोर थियो भनेर l आफ्नो नागरिक माथि गरिएको त्यो पापको क्षमा अब राज्य र समाजले यो समुदायसंग माग्नै पर्छ l अनि मात्रै अब यस्तो विभेद गर्दैनौ भन्ने संकल्प आउछ l अष्ट्रेलियामा हरेक वर्ष मे २६ तारिकका दिन राष्ट्रिय क्षमा दिवस मनाइन्छ l बिसौ  शताब्दीमा अष्ट्रेलियाका आदिबासी समुदायका बालबच्चाहरुलाई जबर्जस्ति र अन्यायपूर्ण तरिकाले खोसेर गोराहरुको घरमा लगिन्थियो आज अष्ट्रेलियाले त्यहि हिजो आफुले गरेको अपराधको क्षमा आफ्ना नागरिकहरु संग हरेक वर्ष मे २६ तारिखका दिन माग्ने गर्छ l नेपालमा पनि राज्य र समाजले मार्च २१ लाई राष्ट्रिय क्षमा दिवस घोषणा गरेर हिजो दलितहरु माथि गरिएको विभेद, अपमान, बहिस्कार र अपमानको माफी माग्नै पर्छ र क्षतिपूर्ति सहित दलितहरुलाई मुलधारमा ल्याउने संकल्प गर्ने पर्छ l  यसले हिजो गल्ति गर्नेहरुलाई आत्मग्लानी गर्ने मौका दिन्छ भने नया पुस्तालाई यस्तो गल्ति गर्नुहुन्न भन्ने चेतना बिकास गराउछ साथै हजारौ वर्षको उत्पीडनले आक्रोसित बनाएको दलितहरुलाई हिजोको पिडा बिर्सिएर अब संगै हातोमालो गरेर अगाडि बढ्नु पर्छ भन्ने भावानाको बिकास गराउदछ l 

आजपनि नेपालका दलितहरुको सामाजिक, आर्थिक, राजनैतिक सहभागिता, धार्मिक, सास्कृतिक र शैक्षिक अबस्थालाई हेर्ने हो भने सबैभन्दा पुच्छरमा छ l  श्रम र शिल्पकारिताको एकदमै राम्रो ज्ञान भएता पनि दलितहरु पछाडी पर्नुको कारण तीनहजार वर्ष भन्दा अगाडिदेखि दलितहरु माथि गरिएको विभेद र बहिस्करणनै हो l दलित हाम्रा देशका ति नागरिकहरु हुन जसलाई हिजोको राज्यसत्ताले कानुन बनाएर विभेद गर्न, बहिस्कार गर्न लगाएको छ l  मुलुकी ऐन २०२० भन्दा अगाडिका सबै कानुनहरुले दलितहरुलाई उत्पीडन दिन लगाउछ नदिए सजायको भागिदार बनाउछ l  आज दलितको अबस्था दलित हुनुको पछाडी हिजोको राज्यसत्ता र समाजको निरन्तर विभेदनै हो l त्यसैले आज हामीले दलितहरुमाथि भएको उत्पीडनको कुरा उठाईरहदा सबैभन्दा पहिला यसको शुरुवात हिजो दलितहरुमाथि गरिएको अमानबिय अत्याचारको माफी मागेर शुरुवात गरिनु पर्छ l 
अन्तमा मार्च २१ लाई रंगभेद तथा जातियविभेद उन्मुलन दिवसमा मात्रै सिमित नबनाई राष्ट्रिय क्षमा दिवसकोरुपमा हरेक वर्ष देशब्यापीरुपमा मनाऔ l

No comments:

Post a Comment