नवलपरासी स्थित इँटा भट्टामा बलराम मुसहरलाई जिउँदै जलाउने प्रयास

फागुन २३, बिभेद विरुद्ध अभियान  । बडहरा दुबौलिया ७ स्थित युबिआई इँटा भट्टामा एक मुसहर समुदायका युवकलाई जिउँदै जलाउने प्रयास गरिएको छ । भट्टा सञ्चालक र प्रबन्धकसँग सामान्य विवाद हुँदा सरावल ७ गोबरहियाका १८ वर्षीय बलराम मुसहरलाई इँटाभट्टाभित्र राखेर जलाउन खोज्दा युवक घाइते भएका छन् ।
घाइते मुसहरलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । डेढ महिनादेखि मुसहर भट्टामा काम गर्दै आएका थिए । पछि उनले त्यहाँ छाडेर अर्कै भट्टामा काम गरिरहेका थिए । शुक्रबार युबिआईमा काम गर्दै आएकी उनकी दिदी सुशीलालाई भेट्न गएका बेला घटना भएको हो । ‘मुसहरलाई देख्ने बित्तिक्कै मुन्सी भगवती यादवले जिस्काए । भाइले उनलाई गाली गरे । त्यसपछि मुन्सीले अरू मजदुर लगाएर समाते,’ उनकी दिदी सुशीलाले भनिन् । समातेर कुटपिट गरेपछि मालिक प्रमोद साहले ‘भट्टामा हालेर जलाइदेऊ । दुईचार लाख खर्च गर्नुपर्छ । गरिहाल्छु’ भन्दै मजदुरलाई बल्दै गरेको आगोमा हाल्न लगाएको उनले बताइन् । ‘मैले भाइलाई बचाइदिनु भन्दै गुहार मागें,’ भक्कानिँदै मुसहरकी दिदी सुशीलाले भनिन्, ‘दुगुर्दै आएर केही मजदुरले भट्टाको प्वालबाट जल्दै गरेको खुट्टा ताने । भाइ भुइँमा लड्यो । भाइको दुवै खुट्टा र लडेपछि पिठ्यँु जलेको छ ।’
दिनहँु मालिक र मुन्सीको दुव्र्यवहार सहदै काम गरेको तर अहिले भाइको ज्यानै लिन खोजेको दु:खेसो उनले गरिन् । ‘काम गरे मालिकको दुव्र्यवहार सहनुपर्छ । नगरे के गरी बाँच्ने भन्ने अवस्था छ । पैसोको धाक दिँदै मजदुर शोषण गर्दै आएका छन्,’ दिदी सुशीलाले भनिन्, ‘इँटाभट्टा मालिकको अगाडि कसैको केही चल्दैन ।’ घटनाबारे बुझ्न उनको घरमा पुगेको राष्ट्रिय मानव अधिकारको टोलीसमक्ष सुशीलाले भाइको उपचार र दोषीलाई कारबाहीको माग गरेकी छन् ।
घटना निन्दनीय रहेको मानव अधिकार संघसंगठनले जनाएका छन् । ‘मजदुरलाई मालिकले मानवभन्दा बस्तुका रूपमा हेर्दो रहेछन्,’ अनुगमन गर्न गएका एमनेस्टी इन्टरनेसनल ग्रुप ३१ का संयोजक विजय जैसवालले भने । गत वर्ष पनि सोही भट्टामा भारत विहारबाट आएका मजदुरको कुटाइबाट मृत्यु भएको स्थानीयवासी वृजदेव पाण्डेले बताए । ‘यस्ता घटना भट्टामा सामान्य भइसकेको छ,’ उनले भने, ‘इँटा उद्योगमा मालिकको पक्षमा धेरैले बोल्छन् । तर मजदुरको पक्षमा बोल्ने प्राय: कोही हुँदैनन् ।’ मुसहरलाई इँटाभट्टामा जलाउन खोज्ने बेला आफू त्यहाँ नरहेको भारत विहार बेगुसरा घर भएका मुख्य मिस्त्री अशोक यादवले बताए । त्यो बेला आफू हरि इँटा उद्योगमा हेर्न गएको उनको भनाइ छ । भट्टामा जलाउन खोजेका बेला कार्यरत मिस्त्रीहरू शैलेन्द्र केवट, भीम केवट, शिव केवट, नारायण मुसहर र अजय मुसहर शनिबार काम गर्न आएका थिएनन् । ती मिस्त्रीको खोजी भइरहेको गोबरहिया प्रहरी चौकी इन्चार्ज वीरेन्द्र खत्रीले बताए । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताएको खवर आजको कान्तिपुर दैनिक मा प्रकाशित छ  । उनका अनुसार इँटाभट्टाका मुन्सीसहित तीन जना कर्मचारीलाई प्रहरीले हिरासतमा लिएको छ । जाहेरी दरखास्त परेपछि भट्टा मालिक समेतलाई नियन्त्रणमा लिई अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने बताए । झगडालाई ज्यान मार्ने जस्ता विषय बनाई अतिरन्जित गरिएको इँटा उद्योग संघका जिल्ला अध्यक्ष कृष्णमान श्रेष्ठले बताए ।

No comments:

Post a Comment