महिलाको हत्या गरि घर जलाएर प्रमाण मेट्ने प्रयास

काठमाडौं, २४ भदौ, विभेद विरुद्ध अभियान । - पाल्पा बौघागुम्हा-३ छेर्लुङकी ५० वर्षीया दिब्याकुमारी दर्जीको हत्या गरेर उनको शवलाई घरभित्रै जलाइएको छ।
बुधबार बेलुका करिब ७ बजे आफ्नै घरभित्र दिब्या मृत फेला परेकी थिइन्। घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार मृतकको शरीर जलेको छ। घटनास्थलमा रगतका छिटा भेटिएका छन्। मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरिएको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डा झपेन्द्र ढकालसहित चिकित्सक टोली घटनास्थल पुगेको छ।
दर्जीका पति एक वर्ष पहिले गाउँकै खेतमा मृत फेला परेका थिए। दुई छोरीको बिहे भैसकेको र पतिको निधन भएपछि दिब्या घरमा एक्लै बस्दै आएकी थिइन्। घटनास्थलमा खटिएका प्रहरीका अनुसार घरभित्र अगेना छेउमा हत्या गरेर कम्बल र कपडाले पुरेर आगो लगाइएको देखिन्छ। उनले टेलिफोनमा भने, ‘घटनास्थल हेर्दा उनको हत्या गरेर घरभित्रका लत्ता कपडाले लास छोपेर आगो लगाइएको छ, उनले भने, घरभित्र आगो लगाएर घरै जलाउने योजना बनाएको जस्तो देखिन्छ। खरले छाएको सानो घरभित्र घटना भएको हो।
स्थानीय शरद भट्टराईका अनुसार दिब्याको मंगलबार नै हत्या भएको देखिन्छ। बुधबार बेलुकासम्म खोरका बाख्रा र कुखुरा निकालिएको रहेनछ, उनले भने, मंगलबार राति नै घटना भएको हुनुपर्छ। घटनास्थलबाट फलामको गल रड र काठको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ। आगोले शरीरको आधा भाग डढेको छ।
दिब्याले पुरस्कार बुझ्न पाइनन्

छिमेकी गाउँ बौघामा भएको महिला समूहको तीज गीत प्रतियोगितामा दिब्या सदस्य रहेको मिलिजुली महिला समूहले पुरस्कार जितेको थियो। बुधबार पुरस्कार बुझ्ने समारोहमा दिब्या उपस्थित थिइनन्। छेमेकी जमुना दर्जीले दिब्याको प्रमाणपत्र र एकहजार पुरस्कार लिएर घरमै छोड्न गएको थिइन्।
 
उनले चिच्याएर बोलाउँदा घरभित्रबाट आवाज आएन। झ्यालबाट हेर्दा डढेको कपडाको थुप्रोमा च्यापिएकी दिब्या देखेपछि घटना बाहिर आएको हो। दिब्या महिला समूहमा मादल बजाउने र गाउने गर्थिन्।

नागरिक न्यूजबाट

No comments:

Post a Comment