एउटा मन्त्रीको बिहे हुने भयो, पत्रिकाले सूचना दियो
एउटा मन्त्रीको बिहे हुने भयो, पत्रिकाले सूचना दियो,
बिहे भयो, प्रमुख पत्रिकाले फोटो सहित मुख्य पृष्ठमा छाप्यो ।
मन्त्रीणी “मर्निङ्ग वाकमा”
कुकुरसँग घुम्दा, अकास्मात कुकुर बेपत्ता !
पत्रिकाको लागि प्रमुख समाचार बने
तर एउटा दलितले दूध बेच्न पाएन,
मन्दिर पस्न पाएन, शंख बजाउन पाएन,
कुवामा पानी लिन पाएन,
कहिल्यै समाचार बनेनन् गरिब दलितका कथा र व्यथाहरु
रेडियोले फुकेन, टि.भी.ले देखेन, गोरखापत्रले छापेन ।
– मोतीलाल नेपाली (सुनगाभा र सपनाहरु)
कवि मोतिलाल नेपालीको यो कविताको भावसँग मिल्दोजुल्दो भोगाई रहेको छ, शान्ति समिति इलामकी संयोजक बसन्ती घतानीको । २०७० पौष २८ मा शान्ति समितिको संयोजक निर्वाचित हुनुभएकी घतानी आफूले समेत सामाजिक क्रियाकलापमा विभेदको अनुभव गर्नुपरेको बताउनुहुन्छ । २०२३ साल असार २३ गते भारतको दार्जिलिङ्ग जिल्लाअन्तर्गत पानीघट्टामा बाबु बिक्रम गहतराज र आमा फुलमायाँको सन्तानको रुपमा जन्मुनभएकी घतानीको २०४१ सालमा इलाम सदमुकामको घतानी थरको दलित नागरिकसँग विवाह भएको थियो । २०५४ सालमा एकल महिला हुनुभएकी घतानी विभिन्न सामाजिक संघ, संस्थाहरुमार्फत् सामाजिक काममा क्रियाशिल हुनुहुन्छ भने राजनीतिक रुपमा नेपाली कांग्रेसमा आस्था राख्नुहुन्छ ।
शान्ति समितिको संयोजक भएपछि यसबीचमा कस्तो महसुस गर्नुभएको छ ?
म महिला त्यसमा पनि दलित महिला र त्यसमा पनि एक महिला भएर पनि सबैको साथ र सहयोगले शान्ति समिति इलामको संयोजक पदमा निर्वाचित हुँदा अत्यन्तै खुशी लागेको छ । साथै दुःखित पनि तुल्याएको छ । किनकी महिला त्यसमा पनि दलित महिलालाई हेर्ने दृष्टिकोण फरक नै हुँदो रहेछ । संयोजक भएपछि समाजका बुद्धिजिवि भनिनेहरुकै सोंचाई र हेराईमा फरक पाएँ । व्यवहारमा विभेद गरेको जस्तो महसुस मलाई हुन्छ । कतिले त दलित एकल महिला शान्ति समितिको संयोजक भन्दा ओंठ लोप्राएको पाएँ । समाजले दलित समुदायको नेतृत्व समाजालई सजिलै नपच्दोरहेछ जस्तो महसुस भइरहेको छ ।
तपाईं शान्ति समितिको संयोजक हुने कुरा कतिको सहज रह्यो ?
शुरुमा मेरो खासै इच्छा रहेको थिएन । तरपनि समितका अधिकांश सदस्यहरुले अरु हुनुभन्दा त बरु दिदि हुनु नि भन्नुभयो । मतदान नै भयो । मसँग संयोजकको लागि प्रतिस्पर्धा गर्नुहुने साथीको र मेरो सात–सात मत आयो र निवर्तमान संयोजकको निर्णयक मत मलाई परेपछि मैले शान्ति समितिमा एक मतले निर्वाचन जितेर संयोजक हुने अवसर पाएको हुँ । धेरैको साथ, सहयोगले गर्दा संयोजक बन्न सफल भएँ ।
शान्ति समितिमा तपाईं संयोजक भएपछि यसबीचमा के–कस्ता क्रियाकलापहरु सम्पन्न गर्नुभयो ?
म संयोजक भएको लामो समय भएको छैन । करिब एक महिनाको यस अवधिमा गाविस र नगरका शान्ति समितिका संयोजकहरुका लागि मेलमिलापसम्बन्धी दुई दिने तालिम इलाम सदरमुकाममा गरियो । फिक्कल र मंगलबारेमा विभिन्न गाविसका शान्ति समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुको लागि मेलमिलाप सम्बन्धी दुईदिने तालिम भएको छ । साथै चुलाचुली र माइपोखरी गाविसमा शहीद परिवारका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । अब अनुगमनको काममा जुट्नुपर्ने अवस्था छ ।
गाविस÷नपामा रहेका शान्ति समितिहरु कतिको क्रियाशिल अवस्थामा छन् त ?
समितिमा रहनुहुनेहरु नै विभिन्न सन्दर्भमा हामी गाउँ पुग्दा चाहेर पनि सक्रिय हुन नसकेको बताउनुहुन्छ । त्यस्तै हामी आफैंले चाहेर पनि गाविस र नगरपालिकामा रहेका शान्ति समितिहरुलाई स्रोत, साधनको अभावमा सक्रिय बनाउन सकिरहेका छैनौं ।
कति द्वन्द्व पिंडितहरु आफूहरुले राहत नै नपाएको र द्वन्द्वबाट प्रभाव नै नपरेको मान्छेले पनि पिंडितको नाममा राहत लिएको गुनासो गर्नुहुन्छ नि ?
केही–केही ठाउँबाट यस्ता किसिमका गुनासोहरु पनि आएका छन् । गुनासो व्यवस्थापनमा हामी सक्दो लागिरहेका छौं र लाग्नेछौं । गासिबाट द्वन्द्व पिंडितको नाम सिफारिस गर्ने क्रममा नै केही ठाउँमा त्रुटी भएको पाइएको चाहिँ सत्य हो । र यही कुराले राहत वितरण एवम् प्राप्त गर्ने कुरामा सुनासोहरु आएको हो ।
विगतको द्वन्द्वमा मात्र नभएर हरेक परिवर्तनका लागि दलित समुदाय रगत, परिना बगाएर लड्यो । परिवर्तनपछि दलित समुदायले न्यायोचित अवसर पाएको छ जस्तो लाग्छ ?
खै ! अवसर त के पायो भन्नु र ? केही ठाउँहरुमा प्रतिनिधित्वको थालनी भएपनि सकारात्मक व्यवहार छैन । पाएन भन्ने अवस्था पनि छैन म आफैं पनि इलाम जिल्लाको शान्ति समितिको संयोजक भएको छु । तर जुन रुपमा राज्यले दलित समुदायको लागि अवसर सिर्जना गर्नुपर्ने हो त्यो स्थिति छैन र अवसर पाउनेले पनि काम गर्ने सहज वातावरण छैन ।
महिला, त्यसमा नि दलित एकल महिला भएर यो अवस्थासम्म आइपुग्न कतिको संघर्ष गर्नुपर्यो ?
जिन्दगीमा के–के भोगियो भोगियो । कति धेरै सहेर काम गरियो भनेर साध्ये छैन । पार्टी, संघ–संस्थाहरुमा मात्रै नभएर आफ्नै घरभित्र पनि अनेकन बाधा, व्यवधानहरु भोग्नुप¥यो । परिवारमा नै पनि धेरैलाई म सामाजिक काममा सक्रिय भएको पाच्य हुँदैनथ्यो । तर मेरो श्रीमान्ले मलाई सामाजिक काममा लाग्न सँधै हौसला दिनुहुन्थ्यो । ०५४ सालमा श्रीमान बित्नुभयो, एकल भएँ । म सामाजिक कामको अगुवा भएको हेर्न उहाँको इच्छा र साथ, सहयोग थियो । अहिले उहाँ नहुनुभएको भएपनि म जे भएको छु त्यसमा सबैभन्दा बढी हात उहाँकै छ ।
जातीय विभेदको अन्त्य भएर समतामूलक समाज निर्माणका लागि के गर्नुपर्दछ होला ?
सबैको सोंचमा सकारात्मक परिवर्तन आउनुपर्दछ । जबसम्म मानिस जातले हैन कामले ठूलो र सानो हुन्छ भन्ने धारणा सबैमा विकास हुन सक्दैन तबसम्म विभेद भइनै रहन्छ । यदि सामान्य रुपमा यो सम्भव नभए, जातीय विभेदकै कारण अर्को ठूलो द्वन्द्व पनि हुन सक्छ । त्यसको नेतृत्व गर्ने परिवर्तनकारी शक्ति नजन्मेला भन्न सकिन्न । तसर्थ मानिसको सोंचका साथै गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्दछ । यसका लागि सबैले सकारात्मक भूमिका खेल्न जरुरी छ जस्तो लाग्छ ।
No comments:
Post a Comment