वर्णवादी नेपाली राज्यसत्ता र लाठीको राजनीति - गोपाल नेपाली( बादी)

भदौ १६, विभेद विरुद्ध अभियान ।
के हो मुस्कानसहितको प्रहरी सेवा ?
नेपाल सरकारका प्रहरी संगठन र केही समूहले नेपाल प्रहरीमा भएका कमि कमजोरी हटाउन तथा सुधार गर्न मुस्कानसहितको प्रहरी सेवा लागू गरिरहेका छन् । प्रहरी सेवा जनपक्षीय नभएका कयौं गुनासा आएपछि उनीहरुको सेवालाई स्तरीय र सहज बनाउन र आमनागरिकले पनि सेवा पाउन सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो । तर यस्ता कार्यक्रम प्रभावकारी भएका छैनन् । प्रहरीभित्रका बर्दीधारी गुण्डा प्रवृत्तिका कारण प्रहरी संगठन नै बदनाम छ । मानवीयता उनीहरुको मानसपटलबाट फुत्किसकेका छन् । यही देखियो, बिजुली बजारमा दलितहरुको शान्तिपूर्ण आन्दोलनमा भएको धरपकड र दमनमा ।
यो घटनामा संविधानले दिएका अधिकार पनि दलितलाई उपयोग गर्नबाट वञ्चित गरियो । खसआर्यभित्रका सामन्ती मानसिकताका शासक वर्गले लुटको नगरीको हिस्सा खोसिन्छ कि भन्ने डरकै कारण यस्तो पाखण्ड देखाए । शान्तिपूर्ण विरोध गर्नु आमनागरिकको अधिकार हो । त्यही अधिकार खोस्ने दुस्साहस बर्दिधारी गुण्डाहरुबाट भयो । दमन गर्ने नियतले प्रहरीले जथाभावी लाठीचार्ज गरे, अधिकारर्कीमाथि कुटपिट गरे, बुट लात्तीले खाँदे । यस्तो दमनबाट दलितहरु झनै आक्रोशित भए ।
वर्णवादी दमनचक्र र प्रतिरोध
बललाई जति बल लगाएर पिटिन्छ बल त्यत्ति नै माथि उफ्रन्छ । अहिले दलित आन्दोलन पनि त्यस्तै भएको छ । राज्यले प्रहरी लगाएर दलित आन्दोलनमाथि गरेको दमनको प्रतिरोधमा सबै दलित सडकमा उत्रिए तीन हजार वर्षदेखिको उत्पीडनको अन्त्य खोज्दै ।
उनीहरु राज्यले कानुनमार्फत दलितहरुमाथि गरेको शोषण र विभेदविरुद्ध उभिएका छन् । राज्यको विभेदकारी नीति र संरचनाको अन्त्य गरी समानता र सामाजिक न्याय स्थापनाका लागि लडाइँ लड्दैछन् । युगान्तकारी परिवर्तनको अपेक्षामाथि दलहरुले गरेका घातविरुद्ध संघर्षरत छन् । तर राज्य चलाउने दलहरुको गैरजिम्मेवारीपनका कारण दलितहरुमाथि उत्पीडन जारी छ । त्यसकै विरुद्ध देशभरका दलित एउटै व्यानरमा उभिएका छन्, विभिन्न दलका मोर्चा सम्हालेका दलित संगठनहरु पनि एउटै मञ्चबाट जुझ्दै छन् । तर दलित आन्दोलनलाई राज्यले दमन गर्न चाहिरहेको छ ।

साउन १९ गते दलित आन्दोलनमाथि राज्यले गरेको दमनलाई भुल्न सकिँदैन । दलित अधिकारमाथि दमनले प्रहरी संगठनभिको मुस्कानसहितको सेवालाई हाँक दिएको छ । मुस्कानसहितको सेवा यहाँनिर फेरि चुकेको छ । शान्ति, अमनचयन र शुसासन कायम गर्न, प्रहरी संगठनको सेवालाई चुस्त दुरुस्त राख्न यस्तो कार्यक्रम ल्याइएको हो । तर बर्दीधारीहरुले नै गुण्डागर्दी गरेपछि जतिसुकै राम्रा कार्यक्रम पनि प्रभावकारी हुन सक्दैन ।
अधिकारका लागि संघर्षरत अधिकारकर्मीमाथि बुटले खाँद्ने, लाठी बर्साउने र संवेदनशील अंगमा हिर्काउनु नै हो त मुस्कानसहितको सेवा ? मान्छेलाई पनि पशुसरह लछारपछार गर्नु, कसैको खुट्टा भाँचिदिनु, कसैको टाउको फुटाइदिनु नै मानव अधिकारको क्रियान्वयन हो ? हुन त बन्दहड्तालजस्ता आन्दोलनका कार्यक्रममा मुस्कानसहितको प्रहरी सेवा लागू नहुन सक्छ, तर कम्तीमा मानवीय संवेदना त हुनुपर्छ नै ।
दलितको कार्यक्रम भन्ने वित्तिकै प्रहरीलाई आदेश दिएर क्रुरता देखाउने अनि कागजमा मुस्कानसहितको कार्यक्रम अति प्रभावकारी भएको भन्दै ढ्वाङ फुक्ने । त्यसकै छनक देखियो प्रहरी उपरीक्षक दानबहादुर कार्कीको व्यवहार । उनमा अलिकति पनि मानवता भएको भए २६ जनाभन्दा बढि दलित अधिकारकर्मी अस्पतालमा जानु पर्दैनथ्यो । उनको हेपाहा प्रवृतिले दलित आन्दोलनलाई थप आन्दोलित बनाएको छ ।
बिजुली बजार काण्ड
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा अन्तरिम संविधान २०६३ ले दिएका दलित अधिकार समेत काटिएका छन् । पहिलो संविधानसभाले सर्वसम्मतिले पारित गरेका अधिकार पनि अपहरण गरिएको छ । त्यसैले १० वटा दलका दलित भ्रातृ संगठनले संयुक्त आन्दोलन थाले । संयुक्त राजनीतिक संघर्ष समिति, दलित नागरिक समाज र दलित सभासद समन्वय समितिले साउन १९ गते एकघण्टे चक्काजाम गर्न खोजेका थिए । कार्यक्रमबारे जानकारी हुँदाहुँदै पनि गृह प्रशासनले दलित आन्दोलनमाथि दमन गर्‍यो । गृहमन्त्रीले नै दमन गर्न आदेश दिए । शान्तिपूर्ण आन्दोलनविरुद्ध गरिएको दमनले सीमित वर्ग र जातिका शासकहरुले रजाइँलाई देखायो ।
कार्यक्रम हुनुअघि प्रहरी उपरिक्षक कार्कीले बटुवाहरुसँग आन्दोलनबारे बुझ्न खोजे । एक आन्दोलनकारीले दलित आन्दोलनको उद्देश्य बताएपछि उनको अनुहार अमिलो भयो । उनले नेतृत्व र सभासदसँग वार्ता गर्नु उचित ठानेनन् । आन्दोलनकारीहरु सभासदसहरुको नेतृत्वमा अगाडि बढ्न थालेपछि उनले धरपकड गर्न आदेश दिए । प्रहरीले त आँखै देखेन, को महिला, को पुरुष, सवैलाई निर्दयी ढंगले लाठी र बुटले हान्न थाल्यो । केही सभासदले कसले दियो आदेश भनेर सोध्दा माथिको आदेश भन्दै उनीहरुलाई समेत लछारपछार गरियो । सभासद, पूर्व मन्त्री, महिला र बटुवालाई पनि छाडिएन ।
किन खनिए कार्कीहरु
दलित समुदायलाई अन्यायको जाँतोमा पिस्न पल्केका शासकहरुले सजिलै राज्यका अंगमा उनीहरुलाई समावेश गर्न दिनेवाला छैनन । दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यकको प्रतिनिधित्व भएमा राज्यसत्ता खोसिने डर उनीहरुलाई छ । उनीहरुकै एक प्रतिनिधि हुन् डिएसपी कार्कीहरु । उनीहरुमा दलितहरुलाई लाठी र बुटको भरमा माथि उठ्न नदिने मनसाय देखिन्छ ।
कार्कीहरुले ह्रिंसक प्रवृत्ति सुधारेनन् भने उनीहरुलाई नै घातक हुनेछ । समावेशी समानुपातिकता त उनीहरुजस्ता अरुको अधिकारमाथि रजाइँ गर्नेहरुको लागि पेटको चिन्ता भएको छ । अतः उनीहरुमा दलित र दलित शब्दप्रति नै घृणा हुनसक्छ । त्यही घृणाको सिकार हुने २६ जनामध्ये म पनि एक हुँ । सुरुदेखि नै उनीहरुको व्यवहार हेर्दा वर्णवादी र तानाशाही प्रवृत्ति देखेको थिएँ ।
गृहमन्त्रीज्यूलाई अनुरोध
दलितहरुको शान्तिपूर्ण कार्यक्रम विथोल्न उक्काउने, र दलित अधिकारमाथि दमन गर्न आदेश दिने गृहमन्त्रीको दुस्साहसप्रति संसदमा सत्तापक्ष, विपक्षका दलित र गैरदलितहरु सभासदले चर्को विरोध गरे । चौतर्फी विरोध भएपछि गृहमन्त्रीले झारा टार्ने शैलीमा स्पष्टीकरण दिए । गृहमन्त्रीको झुटो दाबीमा पनि कम्युनिस्ट नेताको मुखबाट वर्णवाद र तानाशाही तर्क ओकलिएको थियो दलित आन्दोलनलाई होच्याउने शब्दमार्फत ।
गृहमन्त्रीलाई मेरो चुनौती छ, कुनचाहिँ यातायातका साधनमा क्षति भएको प्रमाण छ ? कुनचाहि मिडियाले खिचेको भिडियो पेस गर्छौ  ? बरु प्रहरी प्रशासनको असली अनुहार झल्कने प्रमाण हेर्न चाहन्छौ ? हावादारी कुरामा संसद र सांसदलाई गुमराहमा पार्न सजिलो होला, तर प्रत्यक्षदर्शी जनतालाई झुक्याउन सक्नुहुन्न अब ।
अन्त्यमा
गृहमन्त्रीज्यू, नेपाल प्रहरीको मुस्कानसहितको सेवा दलितको हकमा साह्रै ‘प्रभावकारी’ देखियो । दलित नागरिक समाजकी अगुवा कमला हिमचुरीको खुटटा भाँचिदिने कति ‘मधुर मुस्कान” हाम्रो डिएसपी साबको ! डिएसपी रेवती ढकालको कुटाइबाट अधिकारकर्मी कमला हेम्चुरीको खुट्टा भाँच्चिएपछि खुट्टामा स्टिलको रड नै राख्नुपर्‍यो । यसको उपचारखर्च र क्षतिपूर्ति दिने कि नदिने ? कार्की र ढकालहरुलाई कारबाही गर्ने कि नगर्ने ? यो प्रश्न गम्भीर रहेको छ ।
माननीय दलजित श्रीपालीका दुईटा दाँतै हल्लिएर फुत्किने अवस्थामा पुग्यो । उहाँको हात भाँच्चिन पुग्यो । यही होला हैन प्रहरीको मुस्कानसहितको सेवा ?
प्रहरीको मुस्कानकै कारण पूर्व सभासद विनोद पहाडीको आँखैनिर निधार फ्ट्यो । दलित अगुवा गणेश विकेको टाउको फुट्यो । झण्डै सत्तरीको हाराहारीका सभासद मानबहादुर विश्वकर्मा घाइते भए, सभासद जितु गौतममाथि लछारपछार भयो । अब त अति नै भयो यो मुस्कानको । हामी भुल्ने छैनौं त्यो मन्द मुस्कानको, जसले गर्दा दलित आन्दोलनका २६ जना घाइते भए । अधिकांश अंगभंग हुन पुगे । हामीलाई चाहिँदैन दलितहरुलाई दमन गर्ने मुस्कान सेवा । यस्तै सेवा जारी राखियो भने राज्य र राज्यका यन्त्रले ठूलो मुल्य चुकाउनुपर्ने छ ।
इसमता बाट साभार

No comments:

Post a Comment