विभेदको चक्र, मानसिकता र मुक्तिको खोजी - श्याम नेपाल

काठमाडौं , ९ असोज,विभेद बिरुद अभियान  ।सामाजिक विभेद नेपाली समाजको विशिष्ट चरित्र हो, भनीरहनु नपर्ला । र, यसलाई पुष्टि गर्न किन पनि आवश्यक छैन भने आजको दिनसम्म पनि प्रायः अधिकांश हामी नेपाली आफ्नो परिचय पहिलो निमेषमै जातीय आधारबाटै अपेक्षा गछौं र दिन रुचाउछौं । र, जात परिचयको त्यो इकाई हो जस्को उत्पत्ति वर्ण व्यवस्थाको जा“तोमा मन्थन गरी यसरी वनाईएको छ, त्यसको उपयोगले एकथरीमा उच्च कुलिन सम्मान, सामाजिक प्रतिष्ठा र श्रेष्ठताकोे विश्वास जगाउँछ भने, अर्को थरीमा कमजोर मनोवल, हीन भाव, मानविय सम्मान तथा आत्म विश्वासमा क्षय पु¥याउनुका साथै जीवन प्रति निराशा तथा सामाजिक कुण्ठा उत्पन्न गराउदैँ यी सबै कुरा “दैब” कै इच्छामा भएको भन्दै विभेदको विकारलाई स्वीकार्ने ग्रन्थिको विकास गराउछ । यसरी सामाजिक मान–प्रतिष्ठा, श्रेष्ठता, शक्ति र सत्तासंग जात जोडिएको हुँदा , हाल जतिसुकै जातीय राजनीति वा जातीय राज्यको विरोध गरे पनि, ती विरोध गर्नेहरुलेनै नेपाली समाजमा सदियौंदेखि सुसुप्त रुपमा घनिभुत जातीय राजनीति गर्दै अहिले पनि आफ्नो जातीय वर्चश्व कायम राख्दै आएको इतिहास जीवीतै छ । यदि होइन भने कोही किन तयार छैन जात त्याग्नलाई, कथित तल्लो जात भनिने दलितहरुलाई आफू समान स्वीकार्नलाई ? किन आज पनि अन्र्तजातीय विवाहहरु भत्काईदैछ, तोडिदै छ ? जबकी वर्तमान परिप्रेक्ष्यमा सायदै जातीय विभेद र उत्पीड्न सामाजिक अपराध हो भनेर थाहा नपाउने कोही नहोला । तर पनि खोई किन सामाजिक विभेदको क्रम रोकिएको छैन ?
यो एउटा सामाजिक मनोविज्ञानसंग जोडिएको जटिल समस्या हो । जस्को निरन्तरताको पृष्ठपोषण हिन्दु जीवनशैलीको जग मानिने हिन्दु संस्कृति र धर्मको आडबाट भईरहेको छ । अझ स्पष्टरुपमा भन्नुपर्दा हिन्दु सामाजिक संरचनाको लगफ्रेमको रुपमा काम गर्ने वर्णव्यवस्थाबाट निर्दिष्ट मानसिकताका कारण आजसम्म पनि सामाजिक विभेदको चक्र हाम्रो समाजमा सक्रिय रुपमा चलिरहेकै छ । यस्तो किन भैरहन्छ ? र यसबाट कसरी मुक्ति पाउने भन्ने एउटा गम्भिर प्रश्न हो । र यसको उत्तर राज्य लगायत जोसुकै द्वन्द्व रहित, संगठित र सभ्य तथा समृद्ध समाज चाहने नेपाली नागरिकहरुले खोज्ने समय आईसकेको छ ।
अन्यथा, यो राष्ट्र र यस्का ठेकेदारहरुले अर्को एउटा ठूलो दूर्भाग्य वेहोर्न तयार हुनुपर्नेछ । यदि त्यसो होइन भने समाजमा विद्यमान मानवता विरुद्धका संगिन अपराधिक प्रकृतिका परम्परागत तथा साँस्कृतिक विसंगति र विभेदहरुलाई तुरन्तै कडाईका साथ राज्यले सम्वोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । र यदि राज्यले साच्चै यस दिशातर्फ जिम्मेवारी लिन्छ भने यसको शुरुवात निम्न बुँदाहरुमा यहाँ चर्चा गरिएसम्मको न्यूनतम् वुझाई विना सम्भव छैन् ।
विभेदको चक्रः
विभेद कसरी घटित हुन्छ भन्ने जान्नका लागि विभेदको सुत्र जान्न जरुरी हुन्छ । र विभेदको सरलिकृत सुत्र भनेको; पूर्वाग्रह + परम्परागत धारणा = विभेद हो । र अझ स्पष्ट हुनकालागि विभेद सृजना गर्नमा योगदान गर्ने महत्वपूर्ण पक्ष “पूर्वाग्र ” र “परम्परागत धारणा” भनेको के हो भनेर जान्न अझ धेरै जरुरी छ । त्यसो भए पूर्वाग्रह भनेको के हो त ? पूर्वाग्रहको साब्दिक अर्थ शून्य वा न्युन तथ्यको आधारमा पूर्व र्निधारित मान्यता वा मुल्यांकन हो । जस्तै– नकारात्मक विचार, फैसला, मान्यता, कुनै व्यक्ति निश्चित समुह वा समुदायको सदस्य भएका कारणले ऊ प्रतिको हाम्रो दृष्टिकोण आदि । त्यसैगरी परम्परागत धारणाको साब्दिक अर्थ कुनै निश्चित समुह प्रति झुटो, वंग्याईएको, सतही तथा अपूर्ण ज्ञानका आधारमा वनेको पूर्वाग्रही मानसिक चित्र हो । जस्तै तामाङ्गहरुले भारी बोक्छन, महिलाहरुको बुद्धि हुदैन, दलितहरु फोहोरी हुन्छन आदि । यसरी यी दुई फरक दृष्टिकोणको मिश्रणले विभेद उत्पन्न हुन्छ । विभेदको सजिलो परिभाषा भनेको समानहरु वीच गरिने असमान व्यवहार हो । अर्थात कुनै व्यक्तिलाई उस्को लिङ्ग, जात, वर्ण, धर्म वा उस्को अपाङ्गगता प्रतिको हाम्रो पूर्वाग्रही सोचका कारणले गरिने फरक व्यवहार हो । विभेद खुलारुपमै व्यवहारबाट अभिव्यक्त हुन्छ भने पूर्वाग्रह प्रवृत्ति वा वानीबाट  अभिव्यक्त हुन्छ ।
तसर्थ, जवसम्म हाम्रो सोच, दृष्टिकोण र व्यवहार जातीय पूर्वाग्रह र परम्परागत सोचबाट मुक्त हुनसक्तैन तवसम्म विभेदको चक्र हाम्रो समाजमा अन्तहीन क्रममा चलिनै रहनेछ । त्यस्तो अवस्थामा विभेदको चक्र टुट्ने सम्भावना त्यति वेला मात्र सम्भव छ, जतिवेला विभेद गर्नेहरुले आफ्नो व्यवहार विभेदपूर्ण भएको वोध गरी आफुलाई सच्याउनेछन् वा विभेद खेपिरहेकाहरु सम्पूर्ण रुपले जागृत भई  आफु माथि भैरहेको विभेदको प्रतिकार गर्नेछन् । र त्यतिबेला प्रतिकारबाट हुने विध्वंशको प्रकृति र परिणाम यतिबेला कल्पना गर्न नसकिने खालको हुनेछ ।
नेपाली मानसिकता :
सामाजिक विभेदको सन्र्दभमा नेपाली मानसिकताको प्रसंग कोट्याउनु पर्दा धेरै पर नगई केही महिना अघि मात्र देशमा घटित अपराधिक प्रकृतिको एउटा घटना, एसिड प्रकरण, को उदाहरणबाट प्रस्ट्याउन चाहन्छु । यो घटना कानुनतः अपराधिक हो,यसमा दूई मत छैन । तर यसको पृष्ठभूमिमा यो घट्नालाई उर्जा प्रदान गर्न सामाजिक विभेदको मानसिकताले खेलेको भुमिका चै के हो ?– यो राष्ट्र र सरकारलाई मेरो खुला प्रश्न !
एउटा उज्जवल भविष्य बोकेको युवक जातीय अपमान र तृस्कारको मारले मनरोगको सिकार हुन पुग्छ । ऊ भित्र फस्टाउदै गएको जबरजस्त कुण्ठा वदलाको भावमा परिणत भई ऊ आक्रामक वन्न पुगी एउटा संगिन अपराध गर्न पुग्छ । जस्को परिणाम निश्चयनै दूर्भाग्यपूर्ण छ । त्यो हामी कसैबाट छिपेको छैन । एकातिर सुन्दर युवतीहरुको जीवनबाट कान्ति क्षय भएको छ भने अर्कोतिर स्नातक उत्तिर्ण गरी मर्यादित सैनिक सेवामा प्रवेश गर्ने तयारी गरिरहेको छोरो  अपराधि वनि जेल प्रवेश गर्न पुगेको छ ।
जे–जति भयो सार वुझाईमा यति मात्र हो की एउटाले विभेदको आधारमा तृस्कार गरेको छ  भने अर्कोले विभेदको आधारमा प्रतिकार गरेको छ । प्रतिकार वाह्य प्रकृतिको भएकाले त्यसको असर अनि घाउ देखिएको छ । तृस्कार आन्तरीक प्रकृतिको भएकाले न त्यसको असर देखिएको छ न घाउनै । कानुनलाई सवुत चाहिन्छ । त्यसैले प्रतिकार अपराध ठहरिन्छ र जीवन वि.के अपराधि । तर तृस्कार गर्नेहरुको अपराध जीवनको भन्दा कम नभए पनि उनीहरु समाजमा स–सम्मान जीवन यापन गरिरहेका हुन्छन ।
विभेदका स्तरहरु :
विभेदले काँहा–काँहा डेरा गरी वसेको छ , यो कुन–कुन स्तरमा भेटिन्छन र यी कस्ता प्रकृतिका हुन्छन भनेर एकछिन चर्चा गर्न आवश्यक ठान्दछु । मुख्यतः विभेद व्यक्तिगत, साँस्कृतिक र संरचनागत गरी तीन तह वा स्तरमा भेट्न सकिन्छ । व्यक्तिगत स्तरको विभेद व्यक्तिको विचार र व्यवहारमा भेटिन्छ । त्यसैगरी साँस्कृतिक स्तरको विभेद कर्मकाण्डी संस्कारका अभ्यासमा भेटिनुका साथै, संस्कृतिले समाजमा स्वीकार्यता र वहिष्करणको रेखा कोरी सामाजिक समुहहरु वीच साँस्कृतिक विभेद गरेको पाइन्छ । त्यसै गरी संरचनागत स्तरमा कुनै निश्चित समुहहरुलाई सामाजिक, राजनीतिक र आर्थिक रुपले शक्तिशाली निर्धारणगरी समाजमा संरचनागत विभेद गरेको पाइन्छ ।
यस वाहेक  विभेदका अन्य कारणहरु पनि छन । जस्तै मानवीय सामाजिक जीवनका विधि आयामहरुमा भिन्नता तजबिज गर्ने हाम्रो बानी पनि एउटा हुदै हो । संस्कृति, राष्ट्रियता, भाषा, धर्म, राजनैतिक आस्था, वर्ग, पहिरन, लिङ्ग, यौनिकता, जात, उमेर, अपां¨गता जस्ता मानवीय जीवनसंग सम्वन्धित पक्षहरुका  आधारमा भिन्नता ठहर गर्न खोज्नु समाजमा घट्ने विभेदका प्रमुख कारणहरु हुन् । र यस्ता विभेद कोबाट हुन्छ भन्ने थाहा पाउनु पनि हाम्रो जानकारीका लागि महत्वपूर्ण छ ।
विशेष गरी व्यक्तिहरु, समुह वा समुदायहरु, निजी तथा सार्वजनिक क्षेत्र वा संघ संस्थाहरु र सरकारहरुबाट प्रायः विभेदहरु भैरहेका हुन्छन् । तर दुर्भाग्य विभेदहरु धेरै तरिकाबाट हुने भएकाले कतिपय पिडितहरुलाई आफुमाथि विभेद भएको वा भईरहेको छ भन्ने सुईको सम्म हुदैन । प्राय विभेद गरिने तरिका भनेको तीनवटा छन् र ती यस प्रकार छन् : आधिकारिक र अनाधिकृत तरिका, वाह्य र आन्तरिक तरिका तथा प्रत्यक्ष र अप्रत्यक्ष (आशय) तरिका ।
मुक्तिको उपाय :
अन्त्यमा, सामाजिक विभेदको चक्रबाट मुक्तिको आवश्यकता सामाजिक विभेद खेप्नेहरुको मात्र नभई सामाजिक विभेद गर्नेहरुको पनि हो । विभेदको चक्रबाट उन्मुक्ति भनेको विभेदकारी र विभेद पीडित दुवै मानवीय कलंक हुनुबाट छुट्कारा पाउनु हो ।  यदि विभेद गरीरहेकाहरु विभेद भोगीरहेकाहरु प्रति संवेदनशील नभइदिने हो भने विभेदको चक्रबाट छुट्कारा पाउन त्यति सजिलो हुने छैन । जो हामीले भोगीरहेका छौ । तर मानसिक शुद्धि र आत्म अनुभुति अपेक्षित परिवर्तनको एउटा नविन प्रयाश भएकाले यदि आम जन–जीवनमा निम्न उल्लेखित उपायहरु अभ्यासमा ल्याउन सके त्यसले हामीलाई विभेदको चक्रबाट मुक्त गरी पशुको जगतबाट मानवको जगत र सभ्य मानवको जगतबाट ज्ञानी वा वुद्धको जगतमा पु¥याउने छ । त्यति मात्र होइन साच्चै हामीले यी उपायहरुलाई आम जीवनमा अपनाउन सके हाम्रो मुक्ति कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्न अनकनाउनु पर्दैन ।  निवेदीत उपायहरु :– समानुभुति राख्नु, समझदार हुनु , सचेत रहनु, संवेदनशील हुनु, आफ्नो सोच वा व्यवहारबाट उत्पन्न हुनसक्ने परिणाम प्रति गम्भीरतापूर्वक सोच्नु, निष्पक्षता र तटष्थता निर्वाह गर्नु , आफुलाई मन नपर्ने व्यवहार अरुसंग नगर्नु , अन्य संस्कृति वा धर्मलाई खतराको रुपमा नलिनु, संवेदनशील सामाजिक मुद्दाहरु के हुन भनेर थाहा पाउनु, हरेक व्यक्तिलाई आपूm सरह सम्मानजनक व्यवहार गर्नु , मानव मर्यादामा आँच आउन नदिन चिन्तनशील बन्नु , उपयुक्त भाषाको प्रयोग गर्नु , काुननी रुपमा रहेका विभेदहरु समयानुकुल खारेज वा परिवर्तन गर्नु,किम्वदन्ती वा पुराणहरुका दमनकारी र विभेदकारी वचनलाई विश्वास नगर्नु , फरक विचारको कदर गर्नु र अझ भनौ विभेदको विरुद्ध सरकारी, नागरिक र समुदाय स्तरवाट संस्थागत महाअभियान चलाउनु अत्यन्त जरुरी छ, किनकि विभेदले मान्छेलाई मान्छे हुनवाट मात्रै वन्चित गर्दैन त्यसको असर मुलुककै संवृद्धि सम्म पर्ने कुरा आज सम्म हामीले भोगिरहेका छौ, अझै कति सम्म भोग्नु पर्ने हो तपाई हाम्रै हातमा छ ।
(सन् २००५ मा वेलायतको चेभिनिङ्ग स्कलर अवार्ड प्राप्त लेखक, नेपालको सामाजिक क्षेत्रमा खाश गरेर मानव अधिकार, दलित र सिमान्तकृत समुदायका मुद्दाको रक्षा, प्रवद्र्धन र स्थानीय शासन सवलिकरणमा डेढ दशक देखि  कृयाशील छन् । सन् २०११ मा लेखकले नेर्वेजियन एस के फेलोसिप प्राप्त गरेका थिए ।)

No comments:

Post a Comment