असोज १, विभेद विरुद्ध अभियान । आफ्नै घटनाबाट सुरु गर्छु । त्यतिबेला म कक्षा चारमा पढ्थें । स्कुलनजिकैको एउटा पसलमा पानी पिउँदै गर्दा मलाई नचिनेर साहुनीले सोधेकी थिइन्, यी नानी को हुन् ? उत्तरमा मसँगै आएकी साथीले बताइदिएकी थिई, ’ऊ बालकृष्ण सरकी छोरी हो ।’ यथार्थ थाहा पाएपछि साहुनी एकाएक आक्रोशित हुनपुगिन् र जुन गाग्रीबाट मैले पानी सारेर पिएकी थिएँ, त्यही गाग्रीको पानी मेरो शरीरभरि खन्याइन् । थपिन्, ‘अर्काले ढाड भाँची भाँची ल्याएको पानी छुन लाज लाग्दैन ? लौ खा !’ त्यसपछि उनको क्रूर व्यवहार र कडा गाली खाएपछि म डाँको छोडेर रुन थालेछु ।
मेरो बालमस्तिष्क हुर्किँदै गएपछि थाहा लाग्दै गयो : म त अछूत पो रहेछु । म दलित र उच्च जातकी साहुनीमा फरक छ भनेर मलाई समाजले पाठ पढाउँदै गयो र म बारम्बार सामाजिक हेपाइ सहन अभिशप्त भएँ । मलाई ती व्यक्तिहरुप्रति घृणा छ, जसको दिमागमा दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, गर्ने व्यबहारमा कमी आएको छैन, उही गैरदलित । जति उनीहरुले दलित भएकै कारण घृणा गर्छन्, म त्योभन्दा दोब्बर घृणा गर्छु उनीहरुलाई । कहिलेकाहीँ त लाग्छ, म एउटा रंगकर्मी हुँ, जातीयताको रंगमंचमा फरक समाजमा एउटा नाटक गर्दैछु ।
हो, म दलित भएर पनि गैरदलित भएको नाटक गर्दै छु । विशेष गरी यो काठमाण्डुमा गैरदलित भएको नाटक गर्दै छु, ठाउँपिच्छे पहिचान फेर्दै बाँच्नुपरेको छ । यो जातीयताले ग्रसित दीर्घरोगी भएको समाजमा खुब भेदभाव भोगेँ मैले र भोग्दै छु पनि । उही दलित भएकै कारण मानहानि भयो, सामान्य मानिसको दर्जाबाट तल खस्किनुपर्यो । धारामा होस् या मन्दिरमा, भोज भतेरमा होस् या मेलापातमा या मृत्युकार्यमा किन नहोस् ! स्कुल, कलेज, सार्वजनिक ठाउँ, सभा अनि सम्मेलन जताततै मैले अमानवीय व्यवहार खप्नुपरेको छ ।
साथीभाइसँगको जमघट यत्रतत्र देखियो, भोगियो । हरेक ठाउँले मेरो दलित पहिचानको वकालत गर्यो । मतलब म कुनै ठाउँमा पनि घृणाबाट अछूतो भइनँ । चाहे प्रत्यक्ष होस् या अप्रत्यक्ष । हजुरबुबा, बुबाहरु आफ्ना पालामा चरम विभेद भोगेको कथा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो सुनाउनुहुन्थ्यो । हो, म पनि त्यही भोग्दै छु कि सायद अंशस्वरूप । अझै मेरा छोराछोरीले पनि तिनै घटनाहरु नभोग्लान् भन्न सक्दिनँ ।
काठमाण्डुमा कोठा नपाउनुको पीडा त छुट्टै छ । म मात्र हैन यहाँ हज्जारौँ छन्, हरेक ठाउँमा बोल्दा होस् या जे काम गर्दा होस्, जातको खुलासा होला कि भन्दै निक्कै संयमित भएर बोल्नुपर्छ । कारण, उही मानहानि, उही इज्जत प्रतिष्ठा उही सम्मान । अरुमाझ आफ्नो पहिचान खुलस्त दिन नपाएकोमा भित्र भित्र क्रोध र जलन एकैसाथ हुन्छ । यहाँ छुवाछूतविना अछूतो समाज कुन छ र ? कानुनीरुपमा अन्त्य भएको भनिए पनि व्यावहारिक रुपमा अझै हटेको छैन । सदियौँदेखि मानिस मानिसबीच ऊँचनीचको भावना सृजना गर्ने हिन्दूधर्मले समाज टुक्रा टुक्रा परेको छ । यदि यही व्यवस्थाको निरन्तरता रहिरहने हो भने समाज निश्चय नै जातीय विभेदको ज्वालाले विस्फोट हुनसक्दछ, मेरो विचारमा हिन्दूधर्म परिमार्जन हुनुपर्दछ ।
- हुलाकी डटकम बाट
We old people also fa
ReplyDelete