असोज १, विभेद विरुद्ध अभियान । लामो प्रतीक्षापछि देशले नयाँ संविधान पाउने भएको छ, बेहद खुसीको कुरा हो । नयाँ संविधानले निकै ठूलो क्रान्तिकारी फड्को मारेको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता आदिलाई संस्थागत गरेको छ । तर, यो खुसीमा सबै रमाउने अवस्था छैन । किनभने, मधेस आन्दोलन मै छ ।
एउटा व्यक्तिगत प्रसंगतिर जाउँ– बर्खामासमा रुझ्न मन लाग्थ्यो मलाई । केटाकेटी हुँदैको कुरो हो, हामी केही साथी खेल्दै थियौँ । अकस्मात आकाश कालोनीलो भयो, बादल मडारियो । रुझ्न पाइने भयो भनेर म उफ्रेँ, खुसी भएँ । तर, एउटा साथी भने अँध्यारो मुख लगायो र घरतिर दौडियो । पछि म मस्तसँग रुझेर रमाउँदै–उफ्रँदै उसको घरमा पुगेँ । भनेँ– कस्तो मजा भयो यार । ऊ त दुःखी अनुहार लगाएर घरभित्रका सामान यताउता सार्दै थियो, उसको घर चुहिने रहेछ ।
चुहिएको ठाउँमा भाँडा थाप्दै थियो– कसौँडी, कटौरा, थाल, ताउलो, गाग्री, अम्खोरा इत्यादि । घरभित्रको पानी सोहोर्दै थियो । ओढ्ने–ओछ्याउने जोगाउँदै थियो । खरले छाएको मेरो घर भने चुहिने थिएन । बाले भारतमा नोकरी गरेर भए पनि ओढ्ने–ओछ्याउने र लगाउने कपडाको खाँचो थिएन । तर, साथीको अवस्था बेग्लै थियो । आज संविधान आउँदा रमाउनेहरू पनि छन् र अँध्यारो मुख लगाउनुपर्ने पनि छन् । अँध्यारो मुख लगाउने को छन् र किन छन् त ? चर्चा गरौँ, संविधानले व्यवस्था र व्याख्या गरेको धर्मनिरपेक्षबाट ।
संविधानको धारा ४ को स्पष्टीकरणमा अब यस्तो लेखिने भएको छ, ‘धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’
संसारकै सनातन मानिएको हिन्दू दर्शनको आफ्नै महत्त्व र गरिमा छ । कोही यसको पक्ष वा विपक्षमा बोलेर हिन्दू दर्शनलाई कुनै फरक पर्दैन । हिन्दू दर्शन हजारौँ वर्षको चिन्तन, मननबाट आएको हो । सूर्यले पृथ्वीलाई घुम्छ भन्ने युगकै चिन्तन भएकाले यसमाथिका वैज्ञानिक प्रश्न आफ्नै ठाउँमा होलान् । तर, जीवन–जगत, प्राणी, प्रकृतिको उपादयताबारे हिन्दू दर्शनले निकै मिहीन ढंगले व्याख्या गर्ने चेष्टा गरेको छ । आज हामी जेलाई हिन्दूधर्म भन्छौँ, वास्तवमा यो आफैँमा धर्म नभएर दर्शन हो । दर्शन भनेको देखाउनु वा बुझाउनु ।
जीवनलाई एउटा नियममा ल्याउन, समाजलाई सुसंस्कृत बनाउन हिन्दू दर्शनको देन महत्त्वपूर्ण छ । तर, समय क्रमसँगै हिन्दू दर्शनको व्याख्या गलत भइदियो ।
हिन्दू दर्शनले शब्दलाई ब्रह्म भन्छ । र, शब्दको चोरीलाई महापापको संज्ञा दिएको छ । अनि, ब्रह्म शब्दलाई सृष्टिको मूल कारण भनेर व्याख्या गरिएको छ ।
हिन्दू दर्शनअनुसार शब्दको चोरी भन्नाले अर्थको अनर्थलाई बुझिन्छ । अनि, वचन र व्यवहारबीचको असमानतालाई बुझाउँछ । वचन दिएर पूरा गरिएन भने शब्दको चोरी हुन्छ । शब्दको सत्य वा अर्थ त्यहाँ हुन्छ, जहाँ मानिस स्वयं शब्द बन्छ । अर्थात्, जे बोल्छ त्यही गर्छ, त्यही बोल्छ जो गर्छ । हिन्दू दर्शनले शब्दलाई यति महत्त्व दिएको छ– शब्द कहिल्यै मर्दैन, शब्द हिजो पनि थियो र भोलि पनि रहन्छ, यो सृष्टिको उत्पत्ति हुनुभन्दा अघि पनि शब्द थियो । शब्दको अर्थ बुझेर मात्रै हुँदैन, शब्दअनुसार नै व्यवहार गर्नुपर्छ । मह पिएर स्वाद थाहा पाउनु शब्दको अर्थ थाहा पाउनुजस्तै हो, स्वयं मह हुनु अर्थात् व्यक्ति वचनअनुसार चल्नु स्वयं शब्द हुनुजस्तै हो ।
फेरि शब्द त डुंगा हो, सहारा हो, साधन हो अर्थात् गन्तव्य वा मोक्षसम्म पुग्ने घोडा हो । मोक्षको किनार वा ढोकामा पुगेपछि डुंगा वा घोडाबाट ओर्लनैपर्छ । त्यसैले त शास्त्र वा पुराणमा मौनव्रती बाबाको प्रसंग आउँछ । अब मोक्ष के हो त ? आध्यात्मिक अर्थात् आत्मवादी दर्शनमा यो सबैभन्दा रमाइलो लाग्ने र आनन्द दिने प्रश्न हो । किनभने, मोक्ष भनेको सुख हो, शान्ति हो, सुख र शान्ति बुझाउने के–के हो के–के, जुन आममानिसले कहिल्यै बुझ्दैनन् । तर, यो शब्दबाट सकारात्मक ऊर्जा नै लिन्छन् । यो हिन्दू दर्शनको कुरा भयो ।
अनि, भौतिकवादी दर्शन भन्छ– वस्तुबाट शब्द वा विचार जन्मन्छ । दुनियाँमा हर चिजलाई नाम दिइएको छ । र, दुनियाँभरि सबैभन्दा बढी शब्द वस्तु बुझाउने नै हुन्छन् । अनि, वस्तु भएर, वस्तु देखेर, वस्तु कल्पना गरेर नै विचार जन्मने हो ।
धर्म निरपेक्षको सीधा अर्थ हुन्छ, ‘कुनै पनि धर्मको सापेक्ष वा सम्बन्धित नभएर निरपेक्ष वा पृथक हुनु वा रहनु ।’ धर्मनिरपेक्ष मुलुकले व्यक्तिलाई आफ्नो विश्वास र चाहनाअनुसारको धर्म मान्ने छुट वा अधिकार दिन्छ । तर, संविधानसभाले यस्तो व्याख्या गरेको छ– मानौँ, उसले व्याख्या गरेपछि उज्यालो पनि अँध्यारो हुन्छ ।
थोरै चेतनशील आँखाले हेर्दा पनि बुझिन्छ– दुनियाँमा सबैभन्दा बढी अपव्याख्या गरिएको कुनै चिज छ भने, त्यो धर्म नै हो । र, दुनियाँमा मानिसलाई सबैभन्दा बढी भ्रम छर्ने माध्यम पनि धार्मिक कुरा नै हुन् । मानौँ, अनैतिक सम्बन्ध राख्दा भगवान, परमेश्वर वा अल्लाह रिसाउँछन् भनियो । अनैतिक सम्बन्ध राख्दा समाजलाई असर पर्ने हुन्छ, यो कुरा सीधै समाजसँग सम्बन्धित हुन्छ । भगवान, परमेश्वर वा अल्लाह रिसाउने भन्ने त अहिलेसम्म वैज्ञानिक पुष्टि नभएको कुरा हो । फेरि भ्रम छरिन्छ– भगवान, परमेश्वर वा अल्लाह रिसाए भने दुःख वा विपत् आउँछ ।
प्राकृतिक विपतविरुद्ध मानिस जान सक्दैन । यदि गइहाल्यो भने पनि त्यो अप्राकृत हुन्छ । सबै कुरा अप्राकृत हुँदै गयो भने एउटा बिन्दुमा पुगेर प्रकृति सकिएला । भनिरहनुपर्दैन, प्रकृतिभन्दा पर जीवनको अस्तित्व सम्भव छैन ।
मानिस मानिस नै रहनु प्रकृति हो । जब मानिस मानिस नरहेर कुनै जाति, धर्म, क्षेत्र वा समुदायको हुन्छ, ऊ अप्राकृत वा विकृत बन्न पुग्छ । सभ्यता भनेको सुसंस्कृत हुनु हो । संसारमा मानिसहरू आ–आफ्ना समूह, क्षेत्र वा समुदायबाट सभ्य हुँदै आए । भाषा–संस्कृति र देश वा मातृभूमि बनाए । आदिवासी भए । त्यही भाषा–संस्कृतिका कारण आज हामी विभिन्न जाति वा समुदायमा विभाजित छौँ । तर, जातजाति हुनलाई संस्कृतिले मात्रै काम गरेको छैन, विकृति पनि उस्तै छ ।
हामी यस्तो देशमा छौँ, जहाँ सबै कुरा गुमाएर जोगी त भइन्छ, तर जोगी हुँदा पनि आफ्नो जात गुमाइँदैन । कि यहाँ जोगीको पनि जात सोधिन्छ । हाम्रो समाजको संरचना नै यस्तो छ, यहाँ तहगत जातीय विभेद छ । सबैभन्दा ठूलो भनिएको र सबैभन्दा तल्लो मानिएको जातमा पनि जातीय विभेद छ । माथि, उपाध्याय र जैसीबीच भान्सा र चेली चल्दैन, तल दलित समुदायमा पनि यस्तै समस्या छ ।
हाम्रोमा सबैले टाउकोले टेकेर स्विकार्ने एउटै कुरा छ– जात । र, यो जातको पिँधमा हिन्दूदर्शन होइन, धर्म छ । त्यसकारण संविधानले गरेको ‘धर्मनिरपेक्ष’ व्याख्याले सबैभन्दा बढी दलित समुदायलाई असर गर्ने स्पष्ट छ । यो दलित समुदाय यस्तो धार्मिक समुदाय हो, जो आफूले मान्ने धर्मबाटै उपेक्षित छ । यसले हिन्दू धर्म मान्छ, तर हिन्दू धर्मले यसलाई नमान्ने बनाइएको छ । मन्दिर छिर्न दिइँदैन, पानी चलाइँदैन । आज यही समुदायले धर्म परिवर्तन गर्छ कि भन्ने ठूलो चिन्ता छ । जुन धर्म र समुदायले आफूलाई मानिसको इज्जत दिन्छ, पहिचान दिन्छ, त्यसलाई किन परिवर्तन गर्नुपर्यो र ? तर, आज धर्म परिवर्तन गर्नेहरू प्रायः दलित र गरिब छन् । किन छन् ? सामान्य ढंगले विचार गर्दा पनि जवाफ आउँछ ।
आजको संवैधानिक व्यवस्थाको गलत व्याख्या नहोला भन्न सकिँदैन । यसको आडमा गलत व्याख्या हुन सक्छ– सनातन रुपमा मानिँदै आएका रीति–रिवाज, परम्परालाई पनि संरक्षण गर्ने । यो भनेको सनातन रुपमा मानिँदै आएको जातीय विभेद तथा छुवाछुत गर्ने परम्परालाई नछाड्ने । संविधानको यो व्याख्याले नेपाली समाजलाई दूरगामी असर गर्ने देखिन्छ । समाजमा ठूलो जातको भएर सम्मानित हुन कसलाई रहर हुँदैन ?
अर्को, यो संविधानले भूमिहीन दलितलाई कानुन बनाएर एकपटक जमिन उपलब्ध गराउने भनेको छ । यो भनेको धान रोपेर, फलाएर, काटेर, कुटेर, पकाएर भात खुवाउँछ भनेजस्तै हो । कानुन कहिले बन्ने, कस्तो बन्ने, यसका लागि पनि फेरि दलित समुदायले संघर्ष नै गर्नुपर्ने देखिन्छ ।
अर्को, यो संविधानले समानुपातिक कोटा अर्थात् आरक्षणलाई समेटेन । ‘आरक्षण’ शब्द नेपाली र भारतीय उच्च वर्गका लागि सबैभन्दा तुच्छ हो । किनभने, यसले उच्च वर्गको प्रतिभा, बौद्धिकता र क्षमतालाई खोसेको छ । उनीहरू यस्ता प्रतिभाशाली, बौद्धिक र क्षमतावान् पूर्ण मानव हुन् कि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा कमजोर वा पछाडि पारिएको जाति, वर्ग, लिंग, समुदायसँग एउटै रेखामा उभिएर प्रतिस्पर्धा गर्न चाहन्छन् । आज थोरै पनि विवेक भएको नेपालीले स्विकारेको कुरा हो– यो देशमा सबैभन्दा शोषित र उत्पीडित समुदाय दलित हो ।
अहिले राज्यले मधेसी दललाई पूरै दुत्कारेर संविधान घोषणा गर्दै छ । मधेसलाई राज्यले हिजो विभेद गरेकै हो । राज्य संयन्त्रमा मधेसी जनताको खासै पहुँच छैन । आज कुनै दलले टीका लगाएर, दयामायाले दिएको उच्चदेखि तल्ला केही पद–प्रतिष्ठाबाहेक मधेसी जनताले राज्यबाट देखिँदो र छोइँदो ढंगले केही पाएका छैनन् । यो राज्यले उपेक्षा गरेको मधेसभित्र पनि दलित समुदाय छ ।
पहाडिया टाठाबाठाहरूको कुनै हस्तक्षेप नहुने गरी आफ्नो विकास आफैँले गर्ने खालको प्रदेशको माग मधेसी समुदायले गर्दै थियो र छ । संविधान जारी भए पनि यो संघर्ष यत्तिकै तुहिने देखिँदैन । काठमाडौंसँग घाँटी जोडेरै मधेसले आफ्नो अधिकारका लागि संघर्ष गर्नेछ र गर्नैपर्छ ।
गाँठी कुरो यो हो– वास्तवमा मधेसमा अहिले ००७ साल आउँदै छ । जसरी ००७ सालमा राणाबाट सत्ता खोसेर राजा र केही कुलीन वर्गलाई सुम्पिएको थियो, त्यसरी नै केन्द्रीकृत सत्ता खोसेर मधेसका केही कुलीन वर्ग सत्तामा आउने संघर्ष जारी छ । फेरि पनि यो संघर्ष आवश्यक छ, जसरी हिजो ००७ सालको क्रान्ति आवश्यक थियो । एक दिन मधेसी समुदायले आफ्नो निर्णय आफैँले गर्ने अधिकार प्राप्त गर्ने नै छ । यसो भएकै दिनदेखि फेरि अर्को संघर्ष सुरु हुनेछ, मधेसका भूमिहीन जनताले कुलीन र जमिनदार वर्गलाई छाड्नेछैनन् । त्यसैले आजको आन्दोलन र प्राप्त अधिकार गरिब मधेसी जनतालाई भोलि अधिकारका लागि आवाज उठाउने आधार हो ।
आज न्यायप्रेमी जनताले बुझ्नैपर्ने कुरा यो हो– यो देशको एकीकरण पहाडबाट भयो र मधेस पाखा पर्यो । यो देशको शासनको नेतृत्व अभिजातबाट भयो र कथित दलित, जनजाति पछाडि परे । मुखिया, जिम्मावालको युग सुरु भयो । हिजो लालपुर्जा र नागरिकता बाँड्दै दलित र निमुखालाई विभेद गरियो । मुखिया–जिम्मावालको तोक–आदेश वा हुकुममा नागरिकता र लालपुर्जा बाँडिन्थ्यो । मुखियाले जे नामले चिन्यो, त्यही नागरिकताको नाम हुन्थ्यो– ओठे कामी, घोइरे दमाई, दाउरे सार्की इत्यादि । राम्रो जग्गाको लालपुर्जा पनि उनीहरूकै आसेपासेले पाउँथ्यो । यस्तो मारमा कतिपय कथित उच्च जाति पनि पर्थे । केही कथित दलितले पनि राम्रो जग्गा प्राप्त गर्थे । तर, मुखिया–जिम्मावाल वा उनकै आसेपासेले अनेक जालझेल गरेर, जग्गा हडप्थे । आज उनैका सन्तान गीत गाउँछन्– काम पाइएन डिग्री पास गरेर, भैँसी पाल्छु… । यो देशमा डिग्री पास गर्ने नै कति छन् र ? फेरि राज्यले घरछेउमै क्याम्पस खोलेको कति नै ठाउँ छ र ? भैँसी पालेर दूध नबिक्ने जाति पनि त यहाँ छन् ।
अझै पनि पाँचवटा सरकारी कार्यालयमा हेर्नुस्– आचार्यजी, रिजालजी, कोइरालाजी, खनालजी नै बढी हुन्छन् । दमाईजी, कामीजी, राईजी, मगरजी, थारुजी भनिने कमै भेटिन्छन् । महिला पनि कमै भेटिन्छन् । प्रहरी, सेनामा त्यस्तै छ । किन यस्तो भयो ? यी त दलित, जनजाति, मधेसी, महिला त दिमागै नभएका हुन् नि । आज कुनै पनि सरकारी पदका लागि लागि अन्तर्वार्ता दिन आफूले लगाएको सर्टमा कतिवटा टाँक छ, गनेर जानुपर्ने हुन्छ । अन्तर्वार्ता दिन माथिल्लो तलामा जानुपरे भर्याङका सिँढी गन्नुपर्छ । उस्तै परे ‘तेरो टाउकोमा कति रौँ छ ?’ भनेर पनि सोधिन के बेर ! यो कसले बनायो ? दिमाग भएका जातिले । त्यसैले उत्पीडित वर्गलाई आरक्षण आवश्यक छ । किनभने, उनीहरुको टाउकोको रौँ गन्नेसम्मको दिमाग अवश्य नै छैन ।
शास्त्र भन्छ– ब्राह्मण पूजापाठ गर्ने जाति । ब्राह्मण त स्वयं ‘वाद’ थियो । ब्राह्मण हुनलाई आत्मज्ञानी हुनुपथ्र्यो । एउटा नियम र परीक्षा पास गर्नुपथ्यो । तर, बाहुन अर्थात् वादीहरूले मौकाको फाइदा उठाए । वास्तवमा यो देशमा सच्चा ब्राह्मण नै छैन, केवल बाहुन अर्थात् वादीहरू मात्रै छन् । शास्त्रअनुसार ब्राह्मण हुन आज कथित दलितको घरमा गएर भैँसीको मासु र जाँड खाएर उसैकी छोरीलाई बिगारेर हिँड्नजस्तो सजिलो छ र ?
देशका शासकले आफ्नो हितलाई हेरेर विकास गरे, बाटो बनाए, स्कुल–कलेज खोले र विकट कर्णाली भन्ने शब्द जन्मियो । यदि कर्णाली राजधानी हुन्थ्यो भने काठमाडौं विकट हुन्थ्यो, यो उकालोमा रहेको खाल्डोमा कसले गाडी बोकेर ल्याउँथ्यो र ?
यो देशमा पितृसत्ता र धर्म हाबी भयो र वैज्ञानिक विकास पछाडि धकेलियो, महिलापछाडि परे । बल्ब बनाउने क्रममा थोमस एल्बा एडिसन हजारौँपल्ट असफल हुँदै थिए, हाम्रा पुर्खा सूर्यदेवलाई हजारौँपल्ट नमस्कार गरेर बसे ।
हिजो पहाडको सामन्ती व्यवस्था ढलाउन जनयुद्धले ठूलै भूमिका खेल्यो । तीनवटा डाँडा नकाट्दै १० जना बिस्ट र बाबुसाहेबलाई नमस्कार गर्ने दलितहरूले केही सुखको सास फेर्न पाए । माथि राजा नै ढलेपछि संग्रहालयमा पुगेको भाषा ‘आइस्यो गोइस्यो’ ले गाउँघरमा पनि त्यति स्थान पाएन र बिस्ट र बाबुसाहेबहरू खुम्चँदै गए । आज पहाडिया अभिजातका सन्तानहरू हामी सबै नेपाली भन्छन् । उनीहरूका बाउबाजेले गाउँमा नामको पछाडि नेपाली लेख्नेलाई जातीय छुवाछुत गर्छन् ।
यस्ता धेरै कारणले मधेसी, महिला, आदिवासी–जनजाति, दलितलगायत पिछडिन पुगेका छन् । यी पिछडिएको समुदायलाई राज्य संयन्त्रमा ल्याउन आवश्यक छ । यसमा अहिलेको संविधान केही हदसम्म सफल भए पनि पूर्ण रुपमा छैन । अहिले आन्दोलनबाट जति उपलब्धि संस्थागत भयो, त्यो स्वागतयोग्छ । तर, अझै पनि आन्दोलन जारी छ । जसलाई न्यायप्रेमी जनताले बुझिदिनुपर्नेछ ।
रातोपाटी बाट
No comments:
Post a Comment