बाँदरलाई भर्याङ लगाएर मकैको कुन्यु सुरक्षित हुदैन - गोपाल सिवा

भदौ २३- विभेद विरुद्ध अभियान । एका तिर सात दशक पछि पहिल्लो पटक सवै दलित जुटे अब चै केही हुन्छ भनेर धाक र नाक फुलाउन नपाई सयुक्त दलित आन्दोलन भित्रको एउटा जमात महिनौं देखिको सयुक्त दलित आन्दोलन संगै सविधानमा आफ्ना हक अधिकार स्थापित गर्ने डिलमा पुगेर हाम्फाल्न नसकेर फर्कियो । आफ्नै दलित समुदायलाई ढाँट्ने र उचालेर शासकलाई घुर्काउने काम साथसाथ गरेर आन्दोलनमा होमिएको यो जमातको आचरणले सात दशक जेठो लित आन्दोलन , दलित समुदाय र यश भित्रका अनेक राजनीतिका  समस्याहरूलाई सतहमा ल्याइदियो  ।अर्को तिर नेपाली राजनीतिमा दलित समुदायलाई सधैँ मतदाताका रूपमा प्रयोग गर्दै , बन्दुक बोकाएर अघि लाउदै सिंहदरबारमा प्रवेश पाउने प्रचलनलाई कांग्रेस–एमाले सहित हिजो जन्युद गरेर आएको एमाओवादी दलले पनि निर्वाह गरेको देखियो ।
त्यस्तै गरि आकर्षक नारा र विभेदको सूची देखाएर मत बटुल्न सफल भएका राजनीतिक दल प्रशिक्षित दलित समुदायका नेताले संविधानसभा त्यागेर सडकमा जान्छौ भन्दै राग गाए । अनन्त संविधानसभाको आम्दानी मुखियाले खोसी देलान भनेर बेलैमा समुदाय त्यागेर पूर्ववत् स्वरूपमा दलका मुखियाहरूको शरणमा लम्पसार परे ।बर्शौ देखि आर्थिक , सामाजिक ,राजनीतिक र सामाजिक रूपमा ठगिएका दलितलाई भावनात्मक रूपमा सामुदायिक जन्जिरले बाँधेर अधिकार बिहिन बनाउन दलहरु सफल भए भने आफै पनि डिल बाट हाम फाल्दा जे पनि हुन सक्छ बरु जन्जिरले बाधिएर बस्ने भन्दै मौन आत्मसात गरे ।
धेरै वर्षदेखि यस किसिमका बेथितिमा अगुवाले बाटोमै आची गरेर आत्मसात गर्दा पनि हामी पछि हुनेले चुप लागेर केही हस्तक्षेप नगरेकाले आज यसरी अधिकार बिहिनको स्थिति निर्माण भएको हो ।
अहिले सम्म स्थिति निराशाजनक भए पनि सबै बितिसकेको छैन ।किनकि  हामी बस्ने, हाम्रा सन्तति हुर्काउने र हामीले भविष्य बनाउने समाज र ठाउँ यही हो । त्यसैले हाम्रो हस्तक्षेप आवश्यक छ । हो सयुक्त दलित आन्दोलन मार्फत हस्तक्षेप आवश्यक छ तर अहिलेसम्म गरेका आन्दोलनका उपलब्धी किन संस्थागत हुन सकेन भन्नेबारे आफ्नो स्पष्टोक्ति नगरे सम्म दलित समुदायले सयुक्त दलित आन्दोलन प्रती विश्वास गर्ने आधार देखिदैँन । 
 चौतर्फी विभेद, दमन र बहिष्करणमा बाँचेका दलितलाई बारम्बार एकता गराउने, जुटाउने र दलित आन्दोलनमा ल्याएर सिंहदरबारमा कुर्सी जोगाउने दाउमा दलित नेताहरु लागि परेका रहेछ्न भनेर यहि सयुक्त दलित आन्दोलनमा अघि लाग्ने एउटा जमात बाट प्रस्ट भै सकेको बर्तमान अवस्था छ । अत  सयुक्त दलित आन्दोलनको लागि अगुवा र नेताहरुले के–के गरे ? सयुक्त दलित आन्दोलनले महिनौं सम्म गरेका आन्दोलनका उपलब्धीहरु किन संस्थागत हुन सकेनन ? र दलित समुदायको छवि खराब हुने गरी कार्य गरेका नेतालाई सयुक्त दलित आन्दोलनले के कस्तो किसिमको कारबाही गर्यो भन्ने कुराको फेहरिस्त सार्वजनिक नगरून्जेल सयुक्त दलित आन्दोलनका यिनै नेता र यिनै पात्र माथि कसरी विश्वास गर्ने आम दलित समुदायले भन्ने प्रश्न तेर्साएको छ ।

सयुक्त दलित आन्दोलनका अगुवाहरूले अर्को चरणको पुनः आन्दोलन गर्ने उद्घोष गरिसकेका छन्।आन्दोलनको एजेन्डा, उद्देश्य र आन्दोलनमा लागि परेका नेताहरुको दोधारे चरीत्र बारे समीक्षा नै नगरी पुनः आन्दोलनको तयारी गर्नु असान्दर्भिक देखिन्छ । किन्कि एकातिर आन्दोलनको बारेमा स्पष्टोक्ति नगरेसम्म दलित समुदायले विश्वास गर्ने आधार देखिदैँन ।भने अर्को तिर दलित समुदायको आधारभूत समस्यामा कुनै सरोकार नराखेका र दलित समुदायको नाममा,  आडमा काठमाडौँमा रमाउँदै गरेका दलित समुदाय केन्द्रित नेताहरु पुनः स्वार्थपूर्तिका निम्ति सयुक्त दलित आन्दोलनमा आएर  फेरि आफूलाई अघिअघि देखाउन सक्ने छन । चुनावको बेला र मुखिया सँग दमित भएका बेला मात्र दलित र दलित समुदायलाई सम्झिने ठुला  दलमा आवद्ध दलित समुदायका नेतालाई कसरी पत्याउने वा उनका कुरामा लागेर किन आन्दोलित हुने ? आफ्नो मात्र स्वार्थ हेर्न्र, समृद्ध बन्न खोज्ने, परेको बेला अघि लागेर डिलमा पुगेर हाम फाल्न न सक्ने व्यक्तिलाई कसरी मुक्तीको लागि लड्ने निडर नेता मान्ने भन्ने जस्ता हजारौँ सवाल दलित समुदाय माझ छ । त्यसैले ढुल्मुले सोच पालेका नेतालाई अघि लाएर समुदायको हक अधिकारको सुरक्षा हुन्छ भन्नू र बाँदरलाई भर्याङ लगाएर मकैको कुन्यु सुरक्षित हुन्छ भन्नू उस्तै उस्तै हो ।

No comments:

Post a Comment