तीज विभेद र भेदभाव रहित रुपमा मनाऔ - युक्तलाल बिश्वकर्मा

भदौ ३०, विभेद विरुद्ध अभियान । तीज नेपाली हिन्दु महिलाहरुको महान चाड हो । धार्मिक एवं पौराणिक हिसाबले यसको बिशेष महत्व रहेको छ । भाद्र कृष्ण पक्षको तृतीया तिथिका दिन निराहार ब्रत बसि यो पर्व मनाइने गरिन्छ । नेपालको सबै क्षेत्रहरुमा र नेपाली महिलाहरु कामको सिलसिलामा जहाँ जहाँ बसेका छन त्यहाँ पनि बिशेष हर्ष र उल्लासमय वातावरणका साथ यो पर्व मनाउने प्रचलन रहेको पाइन्छ । पारिवारिक सुख,संमृद्दी,उन्नति, प्रगति र आरोग्यताको लागि यो ब्रत बसिन्छ । धार्मिक मान्यता अनुसार हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउ भनि ब्रत बसिन उनको ब्रतको प्रभावले भगवान शिव  हिमालय संग पार्बतीको हात माग्न गए हिमालय पनि अति प्रसन्न भई आफ्नी छोरी पार्बतीको बिबाह महादेव संग गरिदिए । यसै धार्मिक मान्यता अनुसार तीजको व्रत बस्ने गरिन्छ । शुद्द र पवित्र मनले गरेको कार्यबाट शिद्दता प्राप्त गर्न सकिन्छ । मनमा कुण्ठा, द्वेष, अशान्त र पीडा छ भने कुनै पनि कुरा प्राप्त गर्न सकिदैन भन्ने कुरा तीजको ब्रतले पुष्टि गरेको छ । अबिबाहित महिलाहरुले आफ्नो जीवनको सुस्वास्थ र आरोग्यताका साथै असल आचरण भएको योग्य पति पाउन र बिबाहित महिलाले सम्पूर्ण परिवारको सुसंमृद्दी, आरोग्यता र प्रगतिको लागि ब्रत बस्ने परम्परा रही आएको छ ।  यही मुल्य र मान्यतालाई अनुसरण गर्दै नेपाली हिन्दु महिलाहरु तीज पर्ब मनाउदै आईरहेका छन ।                        
ब्रतको अघिल्लो दिन अर्थात द्वितीयाका दिन शुद्द र पवित्रतामा बिशेष ख्याल राखी आराध्यदेब भगवान शिवलाई अर्पण गर्ने पूजा सामाग्री तयार गरि रातको तेस्रो प्रहर शुरु हुनु भन्दा अगाबै सुद्द र पवित्र मिष्टान्नयुक्त खानेकुरा दर खाने चलन पनि रहेको छ । भोली पल्ट पानी समेत खान नहुने ,सम्पूर्ण भक्ति, बिश्वास भगवान प्रति समर्पित गर्नु पर्ने जनविश्वास रहेको छ । तृतीयाका दिन नेपालका प्रतिष्ठित शिवमन्दिर, शिवालयहरुमा र काठमाडौं स्थित धार्मिक आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा ब्रतालुहरुको खुब भिडभाड देख्न पाईन्छ । दिनभर ब्रतालुहरु भजन किर्तनमा तल्लिन हुने ,बिशेष गरि परम्परागत नेपाली मौलिक संस्कृतिको  परिचायक बनेको तीज गीतको भाकामा गीतहरु प्रस्तुत गरि मनोरंजन गर्ने चलन पनि रहिआएको छ ।                                                                           समाजमा महिलाहरु सामाजिक, सांस्कृतिक र आर्थिक रुपले शोषणमा परेका छन । सामाजिक, सांस्कृतिक मूल्य मान्यताका खोक्रो आडम्बरमा महिलाहरु बर्षौदेखि विभेद र अपमानको शिकार बन्नु परिरहेको छ । महिलाहरुको चौतर्फी बिकास नहुनुमा सामाजिक विद्यमान कुरीति र कुप्रचलननै प्रमुख रुपले दोषी रहेको छ । पितृसतात्मक सोच र चिन्तनबाट बिकसित हाम्रो समाज छोराको अधिकारलाई सुरक्षित बनाउदै प्रमुख भूमिका प्रदान गर्ने तर छोरीलाई सम्पूर्ण अधिकारबाट बिहिन बनाउदै असमनातापूर्ण व्यवहार गर्ने  कारणले महिलाहरु शोषणमा परिरहेका हुन । परिवारमा सासु, लोग्ने, नन्दबाट खेप्नु परेको हिंसाले उनीहरुको मन छिया छिया परेको हुन्छ । माईत जान पाउने यो महत्वपूर्ण  अवसर पनि कतिपयका लागि सहज हुन सक्दैन । बर्ष दिन सम्म दुख कष्ट सहदै आएका चेलीहरु  तीजमा आफन्त संगको मिलन र सुख दुख आदान प्रदानका साथै मनोरंजन गर्न पाउने भएकाले स्वाभाविक रुपमा माईत जान चाहन्छन । जब तीजमा चेलीहरु माईत जान पाउदैनन तब उनीहरुको मन साह्रै दुख्छ उनीहरु भावविह्वल हुन्छन । उनीहरुमा अपमान, पीडा, मनका कुण्ठा र बेदनाहरुबोध भई गीतको भाव यसरी प्रस्फुटित हुन्छन ।                                                                        
तीजैमा हाँसी खुसी जान्छन सबै माईत                            
आफ्नो माईती मुग्लान पारि छैन साईत                             तीजैमा नपठाउने कस्तो रैछ घर पनि                           
रुँदै रुँदै पकाउ आमा राती दर पनि                           
घ्यु भरेर राख आमा फूलबारीको टिनमा                           
बाँचे भेट होला आमा बर्ष दिनमा                                                                        त्यसैगरि घरमा लोग्नेले अध्यारो मुख लाउने, सासुले गाली गलौच गर्ने, नन्दले ना ना थरिका कुरा काट्ने गरेपछि मनको बहलाई गीतकै माध्यम बाट यसरी ब्यक्त गर्छन ।                                           
स्वामी मुख हेरौ भने रिसाएको अनुहार                         
छुच्ची सासु कुरौटे नन्द बरीलै                                                                                    जब विभिन्न कठिनाईका बाबजुद  चेलीहरु माईत पुग्छन तब उनका बह पोख्ने जन्म दिने आमा बाहेक कोहि पनि हुदैनन । त्यतिखेर उनीहरु आमालाई रुँदै रुँदै यसो भनिरहेका हुन्छन ।                                                 
आज मैले घाँस काटे नौ है भारी गनेर                          
 छरी दिईन सासुले थोरै भनेर                            
भन्दैबाहिर भन्दै भित्र गरिन आमा सासुले                        
आङको चोली भिज्यो आमा मेरो आँसुले                                                                     यसरी महिला माथि भएको विभेदको परिदृश्य गीत द्वारा अभिव्यक्त गर्ने माध्यम पनि तीजलाई नै लिन सकिन्छ । तीजको विकृत पक्षलाई अबको पुस्ताले निरन्तरता दिने काम गर्नु हुँदैन ।  तीजलाई सदभाब र मेलमिलापको पर्वको रुपमा बिकसित गर्नुपर्दछ । महिला उत्पीडन र विभेदको अन्त्य गर्ने पर्व,अधिकार प्राप्तीको पर्वको रुपमा लिनुपर्दछ । तीजका आफ्नै मौलिक बिशेषताहरु छन यसका सांस्कृतिक मूल्य र मान्यताहरु छन । यसलाई जीवन्त राख्दै संरक्षण र सम्बर्द्धन गर्ने काममा हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ । अन्य  देशहरुमा यस प्रकारका चाडपर्वहरु मनाएको पाइदैन त्यसैले तीज नेपालको मौलिक चाड हो ।यसमा हामीले गर्व गर्नुपर्दछ ।सबै  जात जाति भाषा संस्कृतिका महिला दिदी बहिनीहरुले पनि तीजलाई सहर्ष स्वीकार्ने र यसको अन्तरबस्तुलाई आत्मसाथ गर्ने वातावरण सिर्जना होस यो पर्व सबैको पर्व हुन सकेमा मात्र सांस्कृतिक मूल्य मान्यता बिकसित हुन गई सांस्कृतिक एकताको संदेश प्रवाहिकरण हुन्छ । अब तीजले महिला हिंसा जातीय छुवाछुत उत्पीडनको सदैव अन्त्य गर्ने संकल्प लिनुपर्छ ।                                              तीजले उठाउनै पर्ने नकारात्मक पक्ष छुवाछुत र विभेद हो । दलित महिलाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  उत्पीडनमा परिरहेका हुन्छन । दलित महिला जो धार्मिक बिधि  अनुरुप नै ब्रतमा सहभागी भइरहेका हुन्छन  ,गीत,संगीत,मनोरंजन सबैमा समान सहभागिता जनाइरहेका हुन्छन तर बिडम्बना पूजाआजा गर्दा उनीहरु माथि प्रतिबन्ध लगाइन्छ । मन्दिरको ढोका बन्द हुन्छ  पूजा गर्न पाउदैनन  के यो न्याय संगत हो त ? एउटै धर्म एउटै संस्कृति सामाजिक रहन सहन एउटै भगवान तर किन विभेद ? ईश्वर सबैका हुन ।त्यसर्थ धर्म र संस्कृतिमा पनि समानता कायम हुनुपर्दछ । सबैले धर्म प्रति गर्व गर्ने ठाउ होस आफुलाई गौरवान्वित भएको महसुस होस ।  सबैको मन प्रफुल्ल र खुसी भएमा मात्र ईश्वर खुसी हुन्छन ।त्यसैले तीज समानताको पर्व हो,यहाँ विभेद छैन। सामाजिक एकता,सदभाव र मेलमिलाप छ भन्ने संदेश प्रवाह हुनुपर्यो । यसैगरि तीज नेपाली मौलिक संस्कृतिको परिचायक हो । तीजले मौलिक लोक संस्कृतिलाई विश्वसामु चिनाउने र सांस्कृतिक एकताको संदेश दिने काम गर्नुपर्यो । तीजमा बिदेशी संस्कृतिको हस्तक्षेप बढ्दै गइरहेको छ ।पप र डिस्को संस्कृति भित्रिदै  गईरहेको छ । यसले हाम्रो समाजलाई प्रदुषित बनाइरहेको छ ।अत हामीले हाम्रो संस्कृति र पहिचानलाई जोगाउने,प्रोत्साहन गर्ने र भावी सन्ततिलाई संस्कृतिप्रति बोध गराउने काम गर्नु पर्दछ । आयातित संस्कृतिलाई निरुत्साहित पार्दै तिजी संस्कृतिलाई व्यापक प्रचार प्रसार गर्नु पर्दछ | यो पर्वले संस्कृतिको दोहन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरोस । तीजलाई सामान्य र सहज रुपमा सबैले मनाउने पर्वमा बिकसित गर्नु पर्दछ यो महँगो भड्किलो र तडकभडकमा केन्द्रित भयो भने सामान्य मानिसले यसलाई मनाउन सक्दैनन।  तीज आउनु भन्दा एक महिना अगावै देखि टोल /टोलमा गाउँ /गाउँमा बिशेष गरि शहरमा दर खाने, महँगो भड्किलो पहिरनमा सजिने, विभिन्न गीति क्यासेटमा मनोरंजन गर्ने होडबाजी चलेको छ । यसले हामीलाई भरपुर मनोरंजन त देला तर तीजको वास्तविक मर्मलाई उपहास गर्ने काम गर्दछ । तीजमा नेपाली मौलिक तीज भाकाका गीतहरुले महत्व पाउनु पर्दछ ।                                                                        हिन्दी गीत र डिस्को संस्कृतिले हाम्रो तीजलाई जिबन्त राख्न र मौलिक पहिचानलाई जोगाउन सक्दैन । त्यसैले  यसलाई सामाजिक एकताको चाडको रुपमा विकास गरिनु पर्दछ । सबै जात,जाति,भाषा,संस्कृतिका मानिसले पनि यसलाई सहजै स्वीकार गर्ने वातावरण तयार होस साथै जातीय छुवाछुतको समुल अन्त्य गर्ने ,सामाजिक बिकृति विसंगति महिला हिंसा चेलीबेटी बेचबिखन बिरुद्दको अभियानमा केद्रित हुने तर्फ उन्मुख होस । तीज विकास निर्माणको मार्गदर्शन प्रदान गर्ने चाडको रुपमा चित्रित होस । महिला अधिकारको प्रत्याभूत गर्ने र बिभेद मुक्त  समाजको पहिचान कायम हुने चाड बनोस । सबैले तीजप्रति गर्व गरुन कहिल्यै पनि तीजमा विभेद र भेदभाव रुपमा मनाऔ   ।                                                                                                                             युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य हुनुहुन्छ ।                                                                                

No comments:

Post a Comment