मानवीय अन्तरमनमा अनुत्तरित जातीय विभेदको प्रश्न ? -युक्तलाल बिश्वकर्मा

भदौ २८ ,विभेद विरुद्ध अभियान । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । सिक्ने क्रम निरन्तर चलिरहन्छ । पढेर, गरेर, देखेर र अनुभब गरेर मानिसले धेरै कुराहरु सिकिरहेका हुन्छन । सिकाईका दुई वटा पाटाहरु रहेका हुन्छन । सकारात्मक र नकारात्मक पाटो । सकारात्मक सिकाईले समाज परिबर्तनको प्रचुर सम्भावना बोकेको हुन्छ ।समाजलाई सहि दिशा निर्देश गर्न , समाजका बिकृति , विसंगति र खराब आचरणको सुद्धिकरण गर्न र समृद्धि र उन्नतिशील समाजको निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ भने नकारात्मक सिकाईले विकृत मनोभाबनाको बिकासमा टेवा पुरयाई समाजलाई गलत दिशातर्फ डोहोरयाउन मद्दत पुरयाईरहेको हुन्छ । समाजका नकारात्मक सोच र चिन्तनलाई  परिष्कृत गर्दै अनि समाजलाई सुरम्य र अनुशासित बनाई आदर्श , नमुना र उदाहरणीय समाज बनाउन सकारात्मक सिकाई हुनु नितान्त आबश्यक छ । समाजका सकारात्मक पक्षहरु धेरै छन तापनि समाजलाई प्रदुषित बनाउने खराब पक्ष पनि यथाबतै छ त्यो के हो भने जातीय उत्पीडन र छुवाछुत । हाम्रो समाजमा भएका शुन्दर पक्षहरुलाई यसले नराम्ररी कालो धब्बा लगाएको छ  ।समाजमा सबै जना बीच आत्मीयता छ ,सुमधुर सम्बन्ध पनि कायम छ  एक अर्कामा सामाजिक सदभाब पनि मजबुत छ यति हुदा हुदै पनि समाजलाई जातीय छुवाछुतरुपी मानव बिरोधी  कलंकले कुरूप र अश्लिल बनाएको छ । यो सामाजिक यथार्थता र बास्तबिकता हो । हाम्रो समाजमा जातीय छुवाछुत र विभेद सदियौ देखि  लादिएको कुप्रथा हो । यसले सिंगो मुलुकलाई नराम्रो संग गाँजेको छ । समाजको एउटा महत्वपूर्ण हिस्सा जो श्रमजीबी हुन , शिल्पकारी हुन र मेहेनतकस जनता हुन उनीहरुलाई कथित जातपात र छुवाछुतको नाममा विभेदको सिकार बनाउनु र अति तल्लो स्तरको अमानबीय व्यवहार गर्नु समाजको नकारात्मक पक्षको घृणित कार्य हो ।                                                               समाजको भरणपोषण गर्ने दलित समुदाय जसको सीप र कलाले समाजका हरेक दैनिक जनजीबन संचालित छ ।  कृषि पेशाका आबश्यकीय कृषि औजारको निर्माता को हो ? जसको श्रम र सीप भएन भने के दैनिक जीबन सहज हुन सक्छ ? तपाइँ सामाजिक जीवनका हरेक पक्षलाई नियाल्नुहोस त्यहाँ तपाइँ दलित समुदायको श्रम ,सीप र पहिचान पाउनु हुनेछ ।  मन्दिरको घण्ट , गजुर र मुर्ति बनाउने को ? सुन्दर र अनुपम कलाद्वारा शृंगारी मानवलाई आत्मिक रुपबाट प्रफुल्लित बनाउने भूमिका कसको हो ? मानब समुदायको लागि जन्म देखि मृत्युपर्यन्त सम्म आबश्यक पर्ने सामाजिक , सांस्कृतिक जीवनका उपयोगी बस्तुहरु कसले निर्माण गरेका हुन ? हामी गम्भीर भएर सोचौ अन्तरमनलाई प्रश्न प्रति प्रश्न गरौ तपाइको अन्तरमनले के भन्छ ? एउटा समुदाय जो समाजका  धार्मिक , सांस्कृतिक , शैक्षिक र आर्थिक पक्षबाट बहिष्कृत छन ।  समान अधिकार प्राप्त गर्न सकेका छैनन् | न्युनतम मानवीय मूल्य मान्यताबाट समेत अपमानित र प्रताडितपूर्ण जीबन जीउन बाध्य छन ।  समाजमा जातीय छुवाछुत प्रथा कायमै रहिरहनुको प्रमुख कारण नकारात्मक सिकाईको सम्प्रेषण र पुस्ता हस्तान्तरण हो । भनाईको मतलब नेपालीमा एउटा उखान छ बूढो मरयो कुरो सरयो ।  हुनत यो सकारात्मक विचार सम्प्रेषण हुने कुरामा जोड दिईएको होला तर विकृत पक्षको पनि सम्प्रेषण भयो । वाल्यकालमा मेरो एक जना साथी थियो अत्यन्त मिल्ने हामी संगै खेल्थ्यौ , संगै खान्थ्थौ । ऊ मेरै घरमा खाजा खाना र पानी कुनै किसिमको प्रतिबन्ध थिएन । जब उसको दाँत फुक्ल्यो ऊ मेरो घरमा आउन छोड्यो कारण के रहेछ भत्नी बुझ्दा दाँत फुक्ले पछि खान नहुने रे यो उसलाई उसको बुबा आमाले भनेको  । वालवालिका भनेका काँचो माटोका डल्ला हुन | काँचो माटोलाई जुनसुकै आकृति पनि दिन सकिन्छ अर्थात स-साना वालवालिकालाई जे सिकायो त्यहि सिक्छन यसरी वालसुलभ मस्तिष्कमा विभेद र बिकृतिको बिजारोपण गरिदिए पछि त्यो झाँगिने अवसर पाईरह्यो परिणति त्यो सहि थियो या गलत वाल मनोविज्ञानले बुझ्न सकेन ।  यसरी जातीय उत्पीडन र विभेदको सामाजिक परिवेशबाट प्रसार हुदै अगाडी बढ्दै गयो ।  यसो हुनु ठिक थियो या थिएन तपाइको अन्तरमनले के भन्छ ? आफैलाई  प्रश्न गरौं । परिवारका ज्येष्ठ सदस्य मार्फत के गर्न हुने ? के गर्न नहुने ? को संग कस्तो व्यवहार गर्नु पर्ने ? को संग खान बस्न हुने को संग नहुने ? लगायतका नियमहरु सिक्ने सिकाउने चलन व्यापक सम्प्रेषण भएको हुनाले सबै जात जाति बिच  सामाजिक अन्तरघुलन हुन सकेन जसका कारण जातीय विभेद मौलाउदै गयो  ।यसैगरी म पार्टीको अभियानको क्रममा मकवानपुरको छतिवन गएको थिए ।  त्यसताका माओबादीहरु जनयुद्दका क्रममा थिए ।  उनीहरुको दवाबका कारण भएपनि गाउँ घरमा छुवाछुत र विभेदमा केहि सुधार आइरहेको थियो । दबाब र जबरजस्ती गरि ल्याएको परिबर्तन दिगो हुदैन भन्ने लाग्थ्यो तर तत्कालिन अबस्थामा छुवाछूतको आंसिक मात्रामा कमि आउनुमा केहि मद्दत पुगेको होकी भन्ने लाग्छ । गाउँमा प्रवेश गर्न उनीहरुको अनुमति लिएर मात्र जानुपर्ने अवस्था थियो । दलका जिम्बेबार नेताहरुको आपसी सहमतीमा गाउँ प्रवेश गर्ने अनुमती मिलाईएको थियो ।बेलुकाको बास बस्ने क्रममा हाम्रै पार्टीका संगठित सदस्य एबम स्थानीय शिक्षक कहाँ पुग्यौ । उहाँको घरमा बृद्द आमा हुनुहुदो रहेछ ।  उहाँले मलाई बाटोमै के भन्नु भएको थियो भने सर मेरो घरमा आमा हुनुहुन्छ तपाइले परिचय दिने क्रममा थर नभन्नु होला । म अचम्मित भएँ  सबै मिलेर खाना खायौ तर आमाले मलाई न जात सोध्नु भयो न थर नै मैले उहाँको आमामा भन्दा पनि उहाँमा जातीय विभेदको  मनोविज्ञान मजबुत भएको पाए । अन्तर्राष्ट्रिय मानव जाति हुनेछौ भनी गीत गाउने कम्युनिष्ट पार्टीको कार्यकर्तामा परिबर्तन नआएकोमा म छक्क परें ।                                                         हाम्रो गाउँ घरमा के भनाइ रहेको छ भने के गर्नु हामी नयाँ पिढीले त यो कुरा गलत हो भन्छौ तर के गर्नु मेरा घरमा बृद्द बुबा आमा हुनुहुन्छ उहाँको मूल्य मान्यता फरक किसिमको छ त्यसैले उहाहरु मान्नु हुन्न  केहि समय पछि त समाज परिबर्तन भई हाल्छनि भन्नु हुन्छ । मलाई यो कुरामा पटक्कै बिश्वास लाग्दैन । सबै मान्छे बालक , युवा र बृद्द हुन्छन समयको नियतिले सबैलाई यस्तै बनाउँछ । आज हाम्रा बुबा आमा बृद्द हुनुहुन्छ हामी उहाको भावनालाई ठेस पुरयाउन चाहदैनौ तर भोलि त हामी बृद्द बृद्दा हुन्छौ अनि कुरो सर्छ हाम्रा छोरा छोरीले पनि हाम्रो भावनामा पक्कै ठेस पुरयाउन चाहदैनन अनि कहिले अन्तर घुलन हुने ? कहिले कुरीति र कुसंस्कारको दिशाबोध हुने ? अनि कहिले समग्र जातीय छुवाछुत र विभेदको अन्त्य हुने ? त्यसर्थ जातीय आजसम्म टिकाईरहनुमा कुसंस्कार र कुचलनको पुस्ता हस्तान्तरण हो । जातीय छुवाछुत र विभेद आजसम्म पनि समाजमा कायम रहनुमा सामाजिक रीतिरिवाज ,बर्णश्रम धर्म व्यवस्था दोषी त छ नै तर पनि प्रमुख दोषी राज्य र राज्यद्वारा प्रतिपादित नियम र कानुननै रहेको छ | राज्यले नियम कानुनको घोषणा गर्ने तर कार्यन्वयन नगर्ने हातीको देखाउने र चपाउने दाँत जस्तै ।पछिल्लो पटक २०६२ /०६३ को आन्दोलन पछि २०६३ ज्येष्ठ २१ गते मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा  भयो यसको साथसाथै २०६८ ज्येष्ठ १० गते जातीय भेदभाब तथा छुवाछ्त ( कसुर र सजाय ) ऐन २०६८ पनि आयो तर कसैलाई पनि छुवाछुत र भेदभाब गरे बापत कानुनी दायरामा ल्याउने कानुन बमोजिम सजाय गरिएको छैन । मुलुकमा छुवाछुत र विभेद सम्बन्धि थुप्रै घटनाहरु घटिरहेका छन । सिरहाको धनगढी घटना जहाँ डोम समुदायलाइ सार्बजनिक इनारको पानी भर्न प्रतिबन्ध लगाउने काम भयो र स्थानीयद्वारा अपमान र कुटपिट गर्ने काम समेत भयो  तर कारबाही भएन । यसरी कानुन बनाउने तर कारबाही नगर्ने हो भने दलित समुदायले न्यायको अनुभूत गर्न पाउदैनन जातीय छुवाछुतको अन्त्य पनि सम्भब छैन त्यसर्थ कानुनलाई ब्यबहारिक कार्यन्वयन गर्न राज्य गम्भीर हुनुपर्दछ । जातीय विभेदको अन्त्यको लागि संयुक्त राष्ट्रसंघको महासभाले सन १९६५ मा सबै किसिमको जातीय विभेदको उन्मुलन गरौ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको छ । नेपालले पनि यो महासन्धि ३० जनवरी १९७१ मा अनुमोदन गरि पक्ष राष्ट्र भएको छ । अन्तर्राष्ट्रिय कानुनले पनि सबै खाले विभेदलाई दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । जातीय छुवाछुत गर्नु भनेको मानव बिरोधी काम हो र अपराधजन्य क्रियाकलाप हो त्यसर्थ तपाइको अन्तरमन ले के भन्छ ? के जातीय छुवाछुत र विभेद गर्नु मानबीय काम हो ? उत्तर आफैमा खोजौ ।                                                                                
युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य हुनुहुन्छ ।                                                                      

No comments:

Post a Comment