दलित मैत्री संविधान नबने आन्दोलनमा साथ दिन्छौँ—वैद्य

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, २७ असोज ।
ने.क.पा.—माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अहिलेको संविधान सभाबाट दलित समुदायको अधिकार सुनिश्चित नभए त्यसको विरुद्धमा दलित समुदायले गर्ने आन्दोलनमा आफ्नो पार्टीले साथ दिने बताउनुभएको छ । दलित समुदायको माग तथा साझा सहमतिका बुँदाहरु सहितको ज्ञापन पत्र बुझाउन गएको संयुक्त राजनीतिक दलित संघर्ष समितिसँग उहाँले यस्तो बताउनुभएको हो ।

“यो संविधान सभाबाट दलित मैत्री संविधान बन्छ भन्नेमा हामीलाई विश्वास छैन” ज्ञापन पत्र बुझेपछि उहाँले भन्नुभयो, “यदि दलित मैत्री संविधान बनेन र तपाईँहरुले त्यसको विरोध गर्नुप¥यो भने हामी पनि साथै रहनेछौँ ।”
नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश वि.के.ले जागरण मिडिया सेन्टरलाई दिनुभएको जानकारी अनुसार वैद्यले दलित समुदायका मुद्दामा आफुहरु गम्भीर रहेको भन्दै पार्टीले अघि सारेको ४० बुँदे मागमा पनि सो मुद्दालाई महत्वका साथ उठाएको पनि बताउनुभयो ।
“संयुक्त राजनीतिक दलित संघर्ष समितिका तर्फबाट नेपाली दलित आन्दोलनका साझा मागहरुलाई नयाँ संविधानमा समावेश गराउन र दलितमैत्री संविधान निर्माण गरी सदियौंदेखिको अन्याय, अत्याचार, शोषण एवं उत्पीडनवाट समग्र मुक्तिका लागि हामी निम्न सवालहरुमा सहमत भएका छौं” ज्ञापन पत्रमा भनिएको छ । दलित समुदायको माग तथा साझा सहमतिका बुँदाहरुमा राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्रशासनिक तथा न्याय, शैक्षिक सवालहरु समेटिएका छन् । नेपाल सरकार र संयुक्त राजनीतिक दलित संघर्ष समितिका बीच २०६९ जेष्ठ १३ गते सम्पन्न भएको ४ बुंदे सहमति अक्षरशः कार्यान्वयन गरिनुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले विभिन्न राजनीतिक दलका प्रमुखहरुलाई भेटेर दलित आन्दोलनका साझा मागहरुको विषयमा ध्यानाकर्षण गराउने क्रममा हिजो नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । समितिले भोली एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले जागरण मिडिया सेन्टरलाई जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment