![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEji97Q0ACClybA0GWBS9ZErBWzfPoQ3LcsDr1St0kPaW0RkVnXLEerY3FVeYxoHNUbbLQLP_LkQWYFo7TL45dwATeU5HGi4M9LS48GxfRhKepT72sINcj7Rt09HeUaZngnnnUT3-XigfAA/s1600/gulaabi_20131005101352.jpg)
देशमा गणतन्त्र आएको ७ वर्ष बितिसकेको छ । तर अहिले पनि जातीय विभेद कायम रहनु, निमुखा, एकल वा असहाय महिलालाई बोक्सीको आरोप लगाएर दिसा खुवाउने परम्परा जीवित रहँदा यहाँ गणतन्त्र नआएको भए के के हुन्थ्यो भन्ने कल्पनाले कसैको पनि आङ सिरि· पार्छ । हिजो के यसरी खुलायाम कसैलाई दिसाजस्तो घिनलाग्दो, अमानवीय वस्तु ख्वाउने गरिएको थियो ? थियो भने त्यो प्रचारमा आएन वा सुनवाइ हुँदैन भने किन समाजसँग बैर मोल लिनु भनेर घटनालाई दबाइन्थ्यो ? दुवै कुराको सम्भावना छ । तर अहिले सडकदेखि संसद्सम्म र यस सम्बन्धमा कानुनको प्रावधान हुँदाहुँदै र प्रशासनमा प्रबुद्ध व्यक्ति, शासनमा अग्रगामी शक्ति, विभेद उन्मूलन गर्न र अमानवीय कृत्य रोक्न लामो सशस्त्र सङ्घर्ष गरेको राजनीतिक दल, विभिन्न गैरसरकारी सङ्घसंस्थाहरू चलायमान रहेको तथा महिला हितका लागि पर्याप्त अधिकारकर्मी तथा संसद् तताउन सक्ने शक्तिको विद्यमानतामा किन र कसरी कोपिला बानियाँलाई मानव दिसा खुवाइयो भन्ने प्रश्न अनुत्तरित छ । यस्तो घटना हुँदा संवेदनशील भएर प्राथमिक कारबाई गर्ने प्रहरी किन सक्रिय भएन, सक्रिय हुनुभन्दा पनि घटनालाई सामसुम पार्न किन तत्पर भयो भन्ने प्रश्न झन् अनुत्तरित रहन गएको छ ।
देशमा सङ्क्रमणकाल रहँदा सबै कुरामा भाँडभैलो थियो । अहिले वैचारिक सङ्क्रमणले गाँजेको छ, जुन हिजोको अवस्थाभन्दा निकै विप्लवकारी छ । विभिन्न जातीय, व्यक्तिगत वर्चस्व कायम राख्न मनोवैज्ञानिक सङ्क्रमणकालमा देशवासी जेलिएका छन् । हिजो जुन व्यक्ति, जाति, समुदाय, सम्प्रदायलाई होचो ठान्ने गरिएको थियो, गणतन्त्रमा उसले आफ्नो मानव अधिकार खोज्न थालेको छ, तलबाट माथि उठ्न खोजेको छ, मैलोबाट सुकिलो हुन खोजेको छस उसको उन्नति र प्रगतिलाई कानुनी वा अन्य हैसियतले कुल्चन नपाउने अवस्था आएपछि विस्फोटको रूपमा जातीय विभेद र बोक्सीको आरोप अघि सरेको यथार्थ हुन सक्दछ । मानिस आफ्नो परिवेशको अभ्यस्त हुन्छ, परिवेशमा किञ्चित मात्र परिवर्तन भयो भने उसलाई ग्राहय हुँदैन, यद्यपि परिवर्तन सुखकर नै किन नहोस् । गरीब, अपहेलित, दलित र पछाडि पारिएको समुदायलाई मानिस त्यही रूपमा हेर्न चाहन्छ । हिजो शिर निहुराएर हिंड्ने मानिसले आज शिर उठाउने कुरा त परै जाओस्, शिर निहुराएन भने पनि अस्वाभाविक लाग्छ । उसको त्यस्तो आचरणले आक्रोश निम्त्याउँछ । यही मनोविज्ञानले अहिले उम्लेर आएको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिकाको यस घटनामा त्यहाँ कार्यरत प्रहरी जवान–अधिकृतहरू पीडक वा पीडित पक्षका कोही होइनन् । उनीहरूलाई कारबाई गर्दा कुनै आफन्तको पक्ष लिनुपर्ने अवस्था पनि थिएन । तर घटनालाई सामसुम पार्ने प्रयासको पछाडि प्रहरीमा पनि त्यही मानसिकताले काम गरेको हो । महिला अधिकारका लागि देश थर्काउने अधिकारकर्मीहरूमा पनि त्यही मानसिकताले काम गरेको हो । राजनीतिमा लागेकाहरू पनि प्राय: यही वर्गका परेकाले उनको पनि यो चासोको विषय भएन । केही अर्को वर्गबाट माथि चढेकाहरू छन्, जसले यसमा सरोकार देखाउँदैनन् किनभने उनीहरू ठान्दछन्, तलका लाई हेर्न थाल्यो भने माथि चढ्ने अवसर गुम्छ । दलित वर्गबाट संसद् थर्काउने मानिस छैनन् ? छन्, तर तिनमा पनि त्यही मानसिकता हावी छ, माथि पुगिसकेपछि किन हैसियत तल पार्ने काम गर्नु ?
- source:prateekdaily
No comments:
Post a Comment