छुवाछुत मुद्दामा चाँडो कारबाही गर्न प्रहरी प्रमुखले दिए निर्देशन

३ कात्तिक, भैरहवा । जातीय छुवाछुत तथा विभेदका मुद्दामा कुनै प्रकारको ढिलासुस्ती नगर्न रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 
  भैरहवामा सोमबार आयोजित जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीका सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरुलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा प्रहरी प्रमुख ढकालले मातहतका प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । 
  जातीय मुद्दालाई अहिले पनि प्रहरी संगठनले गम्भीरतापूर्वक नलिएकोले यसका दोषीहरु सजिलै उम्किने गरेको गुनासोको जवाफमा एसपीको यस्तो निर्देशन आएको हो । अहिले पनि जातीय मुद्दाहरुबारे जाहेरी लिएर जाँदा प्रहरीले जाहेरी दर्ता नगर्ने र सामान्य मिलापत्र गरी आरोपीहरुलाई उम्काउने गरेको जागरण मिडिया सेन्टरका सचिव शिवजी गायकले बताउनुभयो । “नेपालमा दलितहरुको हकहितमा कार्य गर्न बलियो कानुन रहे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको हँुदा दलितहरु अझै पनि पीडित हुन परेको छ”–उहाँले भन्नुभयो । 
  बलियो कानुन भए पनि कार्यान्वयनको अभाव हो कि प्रहरी कर्मचारीको अज्ञानताको कारण अहिले सम्म सो ऐनलाई टेकेर प्रयाप्त मुद्दा दर्ता हुन नसकेको कार्यक्रमका अधिकांश सहभागीहरुको गुनासो रहेको थियो । ऐनको बारेमा प्रहरी अधिकृतहरुलाई जानकारी गराउन रुपन्देहीका सम्पूर्ण प्रहरी युनिटहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजक जिल्ला विकास समिति रुपन्देहीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले बताउनुभयो । 
  अहिले सम्म देशभर यसरी सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरुलाई राखेर जातीय छुवाछुत तथा बिभेद सम्बन्धी ऐनबारे जानकारी दिईएको थिएन, रुपन्देहीमा यो पहिलो भएको आयोजकको दावी रहेको छ । 
  जातीय भेदभाव तथा अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति रुपन्देही र जिल्ला विकास समितिको कार्यालय दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता समितिका सदस्य पदम विश्वकर्माले गर्नुभएको थियो ।  कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा, रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला न्यायाधिवक्ता कमल पन्थी, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

No comments:

Post a Comment