कोमामा पुगेका मिजारलाई क्यानडाबाट नेपालीको सहयोग

रमेश गिरी/उज्यालो । भक्तपुर, असोज ३० - पैसा कमाउन साउदी अरब गएका बाबु विरामी भएर कोमामा पुगेको अबस्थामा फर्किए पछि बिचल्लीमा परेका भक्तपुर चाँगुनारायण गाविस ७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) का तीन बच्चालाई क्यानडामा रहेका नेपालीले सहयोग गरेका छन् ।
उज्यालो अनलाईन तथा उज्यालो ९० नेटवर्कबाट गत भदौ २६ गते प्रकाशित, प्रसारित समाचारबाट उनीहरुको अवस्था थाहा पाएपछि क्यानडामा बसेका रुपन्देहीका ईश्वर थापाले त्यहाँ रहेका नेपालीबाट रकम संकलन गरेर पठाएका छन् ।
क्यानडामा रहेका थापाले रुपन्देही घरभई सानेपा बस्दै आएका विजयसिंह थापामार्फत पठाएको ५२ हजार २ सय ६५ रुपैयाँ बिहीबार मिजार कै घरमा पुगेर थापाले संचारकर्मी तथा स्थानीय समाजसेवीको रोहवरमा परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।
रोजगारीका लागि जुत्ता सिलाउने काममा साउदी अरब गएका ४० वर्षका रामकृष्ण तीन महिना अरब मै थलिएर उपचारै नहुने अबस्थामा फर्किए पछि तीन बच्चाको बिचल्ली भएको हो । गत बैशाख १६ गते साउदीबाट सिधै बीर अस्पताल लगेर तीन महिना उपचार गर्दा डाक्टरले अब निको हुदैन भनेर फर्काएपछि दैनिक घरमा बाबु कुरेर बसिरहनु परेको जेठी छोरी सविताले बताउनुभयो । ‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरि विरामी परे, आमा अरुसंगै भागेर गईन्, बुबाको उपचारदेखि खानलाउन समेत ठूलै समस्या पर्‍यो, हामी त विचल्लीमा पो पर्‍यौ’ आँखाभरी आँसु पार्दै सविताले भन्नुभयो ।
अस्पतालमा उपचार गर्दा लागेको तीन लाख रुपैयाँ अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा संकलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षका बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दानी नहुँदा ठूलो समस्या परेको बताउनुभयो ।
समाचार सार्वजनिक भएपछि एक विदेशी नागरिकले ४५ हजार रुपैयाँ खातामा जम्मा गरिदिएको, बच्चालाई लुगा किन्न घरमै गएर सात हजार रुपैयाँ दिएको, बिभिन्न निकायबाट ६१ हजार रुपैयाँ सहयोग भएको, गाउँबाट करिब २५ हजार रुपैयाँ संकलन भएको, क्यानडामा बसेका नेपालीबाट ५२ हजार २ सय ६५  रुपैयाँ गरि हालसम्म करिब १ लाख ८३ हजार रुपैयाँ सहयोग संकलन भएको विरामीका बाबुर चतुरे सार्कीले बताउनुभयो । तीन बच्चालाई एकवर्षसम्म पुग्ने कापी कलम र एक जोर लुगा बालविकास समाजले सहयोग गरेको छ । हाल जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, ८ वर्ष की छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेकोछ ।
‘बुबाको होस छैन, कसैलाई चिन्नुहुन्न, सुतेको सुतै हो, दालको रस, दूध नाकमा राखेको पाईपबाट खुवाउने गरेका छौ’ सबिताले भन्नुभयो ‘दिसा, पिसावका लागि पाईप जोडिएको छ, हाम्रो त साह्रै बिजोग भयो ।’
चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले विरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँबाट केही चन्दा उठाएर सहयोग गरेको र अन्य निकायबाट सहयोगको अपेक्षा गर्दै स्थानीयले नै छोराछोरीको नाममा नेपाल बैंक लिमिटेड भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिएको बताउनुभयो ।

No comments:

Post a Comment