चटपटे बेचेर लखपति बनीन उर्मिला पुर्कुटी

झापा , आश्विन २९, २०७१ 

यहाँकी एक दलीत महिला चटपटे बेचेर लखपति बनेकी छन्। धार्मीक तथा पर्यटकीय क्षेत्र दोमुखा घुम्न आउनेलाई मिठो चटपटे बेचेर उनी लाखौ मूल्य बराबरको धन सम्पतिको मालिक बनेकी हुन्।सतासीधाम ८ दोमुखाकी २५ वर्षिया उर्मिला पुर्कुटीको हातले फिटेको चटपटे स्वादिलो हुने स्थानीय बताउँछन्। देब्रे हातले सोली समाएर दाहिने हातले स्वादले चटपटे खाँदै गरेकी मोरङ पथरीकी साबित्रा भुजेलले चटपटेमा स्वादको दम भएको बताईन्। भोक मिठो कि भोजन भन्ने जिज्ञासामा भुजेलले पुर्कुटिले बनाएको चटपटेको भोजनै मिठो भएको बताईन्।
 
चटपटे बनाएर बिक्री गर्नु अगाडि उर्मिला उनकै घर नजिकको कन्काई खोलाको बगरका ढुँगा फुटाउँथिन्। ढुँगा फुटाउने कस्टपूर्ण काम नगरे बिहान बेलुका उनको छाप्राबाट धुँवा निस्कदैन थियो। दुई महिनाको सुत्केरी हुँदा पनि मैले कन्काईका ठूल्ठूला ढुंगा फुटाएर घरको आर्थिक गर्जो टारेको थिए। काखीमा नानि च्यापेर पनि खोलामा जान्थे उनले भनिन्, 'अहिले त पैसाले मात्र होईन भगवानले पनि साथ दिएका छन।' 
 
मुटु र स्वास प्रस्वासमा दिनहुँ समस्या हुन थालेपछि ढुंङ्गा फुटाउन छोडेर थोरै पूजिँमा पनि राम्रो व्यापार हुने चटपटे व्यवसाय सुरु गरेको उनले सुनाईन्। ढुँगा, गिटि, माटो र बालुवासँगको दैनिक संघर्षले बिरामी हुन थालेको बताउने पुर्कुटिले खोलाको काम छोडेपछि रोगले पनि छाडेको बताईन।
 
'१७ वर्षको उमेरदेखि खोलामा काम गरे', उनले भनिन, 'चटपटेकोे व्यापारबाट परिवारको आर्थिक गुजारा पनि यतिबेला राम्ररी चलेको छ।' पुर्कूटीका श्रीमान जयबहादुर ज्याला मजदुरी गर्थे। श्रीमतीले चटपटे बेचेर कमाएको पैसाले पासपोर्ट बनाएर बिदेश हुँईकिएपछि पुर्कुटी परिवारको आर्थिक अवस्था सुधारिएको उर्मीलाले बताईन।साउदी अरेबियामा श्रीमानले कमाएको पैसा र मैले दोमुखामा चटपटे बेचेर कमाएको पैसा सुरूङ्गाको एक बित्तिय संस्थामा राखेका थियौ,' उनले भनिन् 'हामी दम्पतिको कमाईले २२ लाख मूल्यको भिटा किन्न सफल भएका छौ।' बिगतलाई सम्झँदै उनले भनिन, 'पहिला सडक र खोला किनारको बास थियो अहिले छत मुनिको बास छ।'   
 
पुर्कुटीका तीन जना छोरा छोरी माईधारका निजी स्कुलमा अध्ययन गर्छन्। दैनिक ५ देखि १२ सयसम्मको कमाईले नानीको पढाई खर्च मात्र होईन बचत पनि हुने उनले बताएकी छन्।
 
शुरुशुरुमा त चटपटे बनाएर बेच्दा लाजले भुतुकै हुन्थे, उनले भनिन, 'अहिले त एक दिन चटपटे बेच्न दोमुखा आईन र घरै बस्नुपर्यो भने दिन बिताउन सक्दीन।'
 
हुन पनि पुर्कुटीको चटपटे पसलमा दोमुखाघुम्न आउनेको दीनहु भीडै हुने गरेको छ। सिजन अनुसारको व्यापार गर्ने पुर्कूटीले असोजदेखी जेठ महिनाको अवधिमा पेय पदार्थसमेत बेच्ने गरेकी छन्। यो ९ महिनाको अवधिमा टाढा टाढाबाट पनि दोमुखा घुम्न आउनेको भीडले माग अनुसारको व्यापार हुने गरेको उनले बताइन। चटपटेका पारखीले पनि पुर्कुटीको मसलादार हातले घोलेको चटपटे र झालमुरी स्वादीलो हुने गरेको बताए। सिजनमा बिराटनगर, धरान, ईटहरी, धनकुटा, दमक, बिर्तामोड, भद्रपुर, काकडभिट्टा, इलाम लगायत भारतका सिक्किम, दार्जेलिङ्ग, भुटानदेखlका मानिस दोमुखा घुम्न आउने गरेका छन्। 
 
धेरै पैसा खर्चेर बिदेस जानु अनि जोखिम मोलेर काम गर्नुभन्दा थोरै लगानिमा पनि आफ्नै गाँउ ठाउमा व्यापारबाट मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण सबैले सिके राम्रो हुने उनको सुझाब छ।

No comments:

Post a Comment