किशोरी आमाले भरिँदै सुदूरपश्चिम

ध्रुव बीसी÷राजधानी
अछाम, २ कात्तिक
विनायक–९ अछामकी लक्ष्मी विक १५ वर्षको कलिलो उमेरमा आमा बनिन् । जिल्ला अस्पताल अछाममा ‘नर्मल डेलिभरी’ भएकी लक्ष्मीको बच्चाको तौल जम्मा डेढ किलो मात्रै छ । त्यो दिन अस्पतालको प्रसूतिगृहमा बच्चा जन्माउने लक्ष्मी एक्ली थिइनन् ।
लामो प्रसव व्यथापछि ‘किशोर अवस्था’मै मंगलसेन–३ की १७ वर्षीया रेखा विकले पनि बच्चा पाइन् । ‘यी दुवै किशोरीको स्वास्थ्य अवस्था राम्रो छ,’ जिल्ला अस्पताल अछामकी स्टाफ नर्स गंगा बुढामगरले भनिन्, ‘तर, सबै यस्ता भाग्यमानी हुँदैनन्, एक वर्षको अवधिमा उनीहरूकै उमेर समूहका ४३ आमाले सुत्केरी नहँुदै पेटमै बच्चा गुमाए ।
यो तथ्यांक जिल्ला अस्पताल र बयलपाटा अस्पतालको मात्र हो । अन्य स्वास्थ्य संस्थामा कति आए, कतिले ज्यान गुमाए ? कुनै तथ्यांक छैन । यी दुई ठूला अस्पतालमा गत साउन महिनायता सुरक्षित प्रसूतिका लागि आएका ८ सय ६१ मध्ये ४ सय १२ किशोरी थिए । बयलपाटा अस्पतालको तुलनामा जिल्ला अस्पतालमा आउने किशोरीको संख्या निकै न्यून देखिन्छ । त्यसो त एक वर्षको अवधिमा जिल्ला अस्पतालमा आएका जम्मा ३ सय १३ सुत्केरीमध्ये किशोरीको संख्या ९० मात्र छ ।
सुरक्षित सुत्केरीका लागि अछामलगायत सुदूरपश्चिमका डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका स्वास्थ्य संस्थामा आउनेमध्ये किशोरीको संख्या बढी रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका हेल्थ असिस्टेन्ट सिद्धराज भट्टका अनुसार यस क्षेत्रका ९ जिल्लाको तथ्यांकअनुसार एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा आएका प्रसूति गराउन आएका ३८ हजार २ सय २४ मध्ये किशोरीको संख्या १० हजार ९ सय ८२ छ । जसमध्ये ३८ आमा र १ हजार ८६ बच्चाको मृत्यु भएको छ ।
त्यसमा पनि ५ सय ५९ बच्चा नजन्मिँदै पेटमै मरेका थिए भने ५ सय २७ बच्चाको जन्मेको २८ दिन नपुग्दै मृत्यु भएको हेल्थ असिस्टेन्ट भट्टले जानकारी दिए । आर्थिक वर्ष २०७०÷७१ को तथ्यांकअनुसार अछाममा ४ हजार ४ सय २० महिलामध्ये १२ सय ६२ जना किशोरी सुत्केरी हुन अस्पताल आएका छन् ।
त्यस्तै, बाजुरामा १ हजार ७ सय ६६ महिलामध्ये ५ सय ४० किशोरी, बझाङमा ३ हजार ३ सय ४३ मध्ये १ हजार १ सय २६, डोटीमा ३ हजार ६ सय ३९ मध्ये १ हजार १ सय ६५, कैलालीमा १ हजार १ हजार ९ सय ६७ मध्ये २ हजार ९ सय ५४, कञ्चनपुरमा ६ हजार ३ सय २० मध्ये १ हजार ६ सय ८७, डडेलधुरामा २ हजार ३ सय २९ मध्ये ७ सय ४, बैतडीमा ३ हजार ८२ मध्ये १ हजार र दार्चुलामा १ हजार ३ सय ५८ महिलामध्ये ५ सय ११ किशोरी आमा बनेका छन् ।
त्यसो त दुर्गम जिल्लाका सबै महिलाहरू सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा आउन थालेका छन् । त्यसबाट उत्साहित स्वास्थ्यकर्मी किशोरी आमाहरूको संख्या बढेपछि भने चिन्तित देखिन्छन् । ‘मातृ मृत्युदर नियन्त्रण हुन थाले पनि शिशु मृत्युदर नियन्त्रणमा चुनौती छ,’ जिल्ला जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले राजधानीसँग भने, ‘यसले सन् २०१५ सम्म प्रतिएक हजारमा शिशु मृत्युदर १६ मा झार्ने सहस्राब्दी लक्ष्यसमेत प्रभावित भइरहेको छ ।’स्वास्थ्यकर्मीहरूले २० वर्ष उमेर नपुगेसम्म बच्चा नजन्माउन सल्लाह दिने गरेका छन् । कम उमेरमा गर्भवती हँुदा आमा र बच्चा दुवैको ज्यान जाने उच्च जोखिम रहे पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका ३७ प्रतिशत कम उमेरका किशोरी सुत्केरी हुने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
समाजमा बढ्दै गएका विकृतिका कारण हुने बालविवाह अपेक्षित रूपमा रोक्न नसक्दा किशोरी आमा बढेको सरोकारवालाहरूको भनाइ छ । २० वर्ष नपुगेर सुत्केरी भए बच्चा स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा हुन्छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशक पर्शुराम श्रेष्ठ शारीरिक परिपक्वता नभई किशोरीले बच्चा जन्माँउदा कुपोषण र पाठेघर खस्नेलगायतका समस्या देखिने बताउँछन् । ‘समय नपुगेर बच्चा जन्मिन सक्छ । जन्मियो भने पनि कम तौलको हुने र कुपोषित हुन सक्छ । आमाको हर्मोनमा कमी आउने समस्या हुन्छ,’ श्रेष्ठले भने, ‘कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशुको अकालमै ज्यान जाने समस्या घट्न सकेको छैन ।’

No comments:

Post a Comment