नेपाल ब्यान्ड बाजा एसोसिएसनका अध्यक्ष श्याम परियार, सल्लाहकार राजन सुनामसहित पाँच जनाको टोली कान्तिपुरमा आयो। उनीहरूले एउटा राष्ट्रिय महत्त्वको योजना सुनाए। योजना रहेछ, संविधान घोषणा हुने भनिएको माघ ८ गते संविधानसभा भवनबाहिर ब्यान्ड बाजासहित पाँच सयभन्दा बढी व्यक्तिलाई उतारेर राष्ट्रिय धुनहरू बजाइरहने। संविधान जारी भए त्यो स्वागतको धुन हुने, पहिलाजस्तै पर सरे दबाबको।
पितापुर्खादेखि बाजा बजाउने व्यवसाय गर्दै आएका राजनका दुइटा छोरा देशमा गरिखाने अवस्था नदेखेर दुबई गएछन्। १२ कक्षामा पढ्दै गरेका कान्छा छोरा पनि उतै जाने तरखर गर्न थालेछन्। छोराहरू भटाभट विदेशिँदाको व्यथा एकातिर छ, आफूपछि पेसै मरेर जाला भन्ने चिन्ताले उनलाई सताउन थालेछ। यो अवस्थाका जरा खोतल्दै जाँदा उनी संविधानमा पुगेछन्। शतप्रतिशतजस्तै दलितले सञ्चालन गरेको यो व्यवसायको एसोसिएसनले नै ठहर गरेछ, संविधान बनेन भने देश बर्बादै हुने भयो।
'युवा प्रायः पलायन भइसके। ठूलाबडाका सन्तानले पितापुर्खाका व्यवसाय धान्छन्। लगानी बढाएर त्यसमै अघि बढ्छन्। हाम्रा छोराछोरीलाई यो पेसा मनपर्न छाड्यो। सार्वजनिक ठाउँ वा अर्काकहाँ बाजा बजाउन जाँदा अनेक भेदभाव हुन्छन्। देखिनेगरी/नदेखिनेगरी हुन्छन्। हामीले त सहँदै आएका छौं। अहिलेको पुस्ताले सहँदैन। त्यसैले उनीहरू यो पेसाबाटै भाग्न थाले। अवस्था यस्तो आइसक्यो कि ब्यान्ड बाजाको अस्तित्व नै सकिने हो कि भन्ने डर लाग्न थाल्यो', उनीहरूले भने, 'यो सबै राजनीतिक अस्थिरताको परिणाम हो। गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधान बन्ने हो भने देशमा आर्थिक गतिविधिले तीव्र रूप लिने थियो। भेदभाव हट्ने थियो। हरेक पेसाकर्मी र व्यवसायीले सम्मानपूर्वक काम गर्न पाउने थिए। युवा रोकिने थिए। पेसा बाँच्ने थिए। देश उँभो लाग्ने थियो।'
उनीहरूले आफ्नो योजनालाई यसरी पुष्टि गरे, 'त्यही भएर हाम्रो संकल्प संविधान हो। त्यसका लागि हामी दबाब दिन चाहन्छौं। त्यो दिन संविधान आओस् भनेर कामना गर्छौं। आयो भने त्यो हाम्रो भव्य स्वागत हुनेछ, आएन भने बाजा बजाएरै धर्ना चलिरहनेछ। जबसम्म संविधान घोषणा हँुदैन, तबसम्म हाम्रो समूहले सडकमा राष्ट्रिय धुन घन्काइरहन्छ।'
धेरै पहिला गाइएको थियो ः
हातमा कलम हुनेहरू
कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू
बाजा लिएर उठ
ब्यान्ड बाजा व्यवसायीले त्यस्तै समय आएको ठानेको छ। एसोसिएसनले त्यसका लागि आफ्ना सदस्यहरूलाई एक महिना तालिम दिने भएको छ। प्रशासनसँग अनुमति लिएर शान्तिपूर्वक धुन बजाउने भएको छ। माया प्रेमका होइन, राष्ट्रिय गीतका धुन बजाएर संविधान निर्माताहरूलाई झकझक्याउने भएको छ। उनीहरू शान्ति चाहन्छन्, संविधान चाहन्छन्। नागरिक समूहका अन्य सदस्यजस्तै हातेमालो गर्दै संविधानका लागि आवाज बुलन्द गर्न चाहन्छन्। अब पनि समयमा संविधान बनेन भने देश बर्बादै हुन्छ भन्नेमा हरेक पेसा, व्यवसाय, तह र तप्काका नागरिक सचेत भइसकेका छन्। तिनैमा पर्छन्, ब्यान्ड बाजा व्यवसायी पनि।
त्यो ब्यान्ड बाजाको धुन निणर्ायक राजनीतिक नेतृत्व र सभासदहरूका लागि मीठो संगीत बनोस्, तर्साउने आवाज नबनोस्। यो बेलैमा उनीहरूको कानमा परोस्। जनताको अपेक्षामाथि फेरि कुठाराघात नहोस्। बेकामका झगडामा अलमलिएर प्रतिगामीलाई सलबलाउने मौका नमिलोस्। यो चेतनाको धुन बनोस्।
ललल
पौराणिक कालमा दुईजना गोठाला रहेछन्। दिउँसो बाख्रा चरिरहेका बेला एउटाले भनेछ, 'पारि गाउँमा नाच छ। त्यहाँ राम्रा-राम्रा युवती आउँछन्। रमाइलो गर्न पाइन्छ। बाख्रा चर्दै गर्छन्, जाऊँ, हिँड्।'
अर्काले अस्वीकार गर्दै भनेछ, 'बरु अर्को गाउँमा भजन छ रे। त्यहाँ धार्मिक सत्संग हुन्छ। त्यता जाउ“m।'
हाम्रा राजनीतिक पार्टीहरूका चलिरहने वार्ताजस्तै उनीहरूको पनि कुरा मिलेनछ। सहमति हुन सकेनछ। दुवै आआफ्ना रोजाइमा गएछन्। नाच हेरिरहेको बेला युवतीप्रति आशक्त भएर गएको गोठालाले साथीलाई सम्झेछ, 'त्यो मोरो भजनमा नाचिरहेको होला।'
भजनमा नाचिरहेको व्यक्तिले उसरी नै साथीप्रति कल्पना गरेछ, 'यतिबेला त्यो बजिया कुनै युवतीसँग नाचिरहेको होला। कुनै सुन्दरीलाई लिएर जंगलतिर पो गएको छ कि? क्या मज्जा भइरहेको होला त्यसलाई?'
जसले युवतीको नाचमा गएर भजन सम्झ्यो, ऊ स्वर्ग गएछ। जसले भजनमा गएर पनि अर्काका छोरी-बुहारीप्रति नराम्रो चिताएर साथीलाई जोड्यो, ऊ नर्क गएछ। फल रूपमा होइन, सारमा मिलेछ। शरीरतिर होइन, मनतिर गएछ।
यसको सार हो, कुनै कर्मप्रति जो मनैबाट प्रतिबद्ध हुन्छ, उसलाई मात्र फल प्राप्त हुन्छ। काम गरेजसरी प्रोपोगान्डा देखाएर फल पाइँदैन। हातमा कलम हुनेदेखि, बाजा बजाउने हुँदै औजार चलाउनेसम्म संविधान सम्भिmरहेका छन्, संविधानकै भजन गाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कब्जा गरेर बसेका ६०१ जना के सम्भिmरहेका छन् कुन्नि? आस गरौं, यसपालि पक्कै नर्क नजालान्।
No comments:
Post a Comment