टेकमान विकले ५ बिसौलीसम्म फलाम निकाले - डा. प्रेम शर्मा

(डा.शर्मा त्रिविविका प्राध्यापक हुन् ।)

धवलागिरी अञ्चलका ४ जिल्ला–मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङका धेरै गा.वि.स.र ठाउँहरूमा फलाम, तामा र अन्य प्रकारका खानीहरू भेटिन्छन् । हालसम्म भूगर्व तथा खानी विभागले पत्ता लगाएका खानीहरू के कति छन् तर यस क्षेत्रका स्थानीयवासीहरू र उनीहरूका पूर्खाहरूले थाहा पाएका र केही प्रयोगमा ल्याएका खानीहरू– फलाम, तामा, शिशा, निलोतुथो, नुन, चुन, सुन, स्लेट बढी चर्चामा छन् । बढी प्रयोगमा स्थानीयवासीहरू– कामी, छन्त्याल, थकाली र मगर समुदायहरूले प्रयोग र उत्खननमा ल्याएका खानीहरू मुस्ताङमा नुन खानी, म्याग्दी, पर्वत र बागलुङमा फलाम र तामाखानी बढी चर्चित छन् । यी कुराहरूको तथ्यसत्य म्याग्दीका ७ गाउँहरू, पर्वतका ३ गाउँ र बागलुङका १२ गाउँहरूको नाम खानीसँग जोडिएका छन् । यी खानीहरूमध्ये केही खानीहरु झण्डै २०३५ सालसम्म पनि चल्दै थिए तर आवादी जग्गा नापी भएपछि र भूमिसुधार कार्यक्रम २०२१ सालपछि प्रायः बन्द हुन थाले । यसका पछाडि अन्य धेरै कारणहरू पनि छन् । आज बागलुङ जिल्लाको १ फलाम खानीबारे छोटो स्थलगत जानकारी गराउन चाहन्छु ।
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ खुङ्गा गा.वि.स.–९ मा लुकुरवन फलामखानी भन्ने स्थान छ, जुन ठाउँमा म्याग्दीतर्फबाट दरवाङ हुँदै बागलुङको तमान गा.वि.स. दूरलेक भएर पनि पुग्न सकिन्छ वा बागलुङ सदरमुकामबाट वा पाल्पा–रिडी–गुल्मी हुँदै बुर्तिबाङ भएर पनि पुग्न सकिने ठाउँमा पर्दछ । खासगरी यातायातको सुविधा हालमा बुर्तिबाङसम्म पुगेका कारण बुर्तिबाङबाट पैदल ५ घण्टाको यात्राबाट पनि पुग्न सकिन्छ । लुकुरवन फलामखानी दूरलेक पहाडको फेदी अर्थात् काल्चे खोलाको वारिपारि भेटिन्छ । यो फलाम खानीभन्दा ३÷४ सय मिटर तल अर्को तामा खानीको पनि सुरुङ भेटिन्छ । शिसाखानी (स्याला)बाट ससुराली बनाउन आइपुगेका स्व.दले कामीका छोरा ६५ वर्षीय प्रतिमान कामी (हाल उनीहरू सबै कामीको सट्टा वि.क. थर लेख्न रुचाउछन्) भन्छन्– “ससुरालीक्षेत्र (लुकुरवन एरिया)मा बाटैमा बाहिर फलामको धाउ (ओर) छ्यापछ्यापती भेटिने भएका कारण ससुराली गाउँमै बसेर फलाम निकाल्ने काम आफ्नो बाबुले २००५।०६ सालतिरबाट सुरु गरे । त्यस क्षेत्रका अन्य कामीहरूले (नन्दराज वि.क.का बाबुछोराहरू) कृषि औजारहरू बनाउथे (हाल पनि नन्दराम त्यही पेशा गर्दछन्) । सो कुराको पुष्टी हाल बुर्तिबाङ निवासी ५० वर्षीया विकासका लागि महिला संजालकी अध्यक्ष कुमारी पुन भन्छिन्– बाबु र गाउँलेहरूले लुकुरवनखानीका कामीहरूसँग अन्नमा वा पैसा हालेर फलामका लाप्सा डल्ला खरिदने गर्दथे र पछि त्यसैबाट फाली, आँसी, कुटो, कोदालो र अन्य फलामका भाँडावर्तन बनाउने गरेको कुरा बताउछिन् ।
दलेका बाबुछोराहरू एक दुईदिन धाउ जम्मा पार्ने र पगाल्ने अँगेनो बनाएर खार्ने काम गर्थे ।” उनी भन्छन्– आफ्नो बुबाले २००६ सालदेखि त्यस ठाउँमा काम गर्दै गरेको र उनको मृत्युपछि पनि प्रतिमान वि.क.ले २०३४÷०३५ सालसम्म त्यो कामलाई निरन्तरता दिँदै आएको बताउँछन् तर उनकी श्रीमती र १ छोरी खानीभित्र पुरीएर पछि छोडेको बताउँछन् । दले कामीका अर्का सहकर्मी ७५ वर्षीय टेकमान वि.क.ले आफू र दले कामीका छोराहरू लगायत ६÷७ जना भएर कसैले धाउ जम्मा पार्ने, घाममा सुकाउने, कसैले कोइला तयार पार्ने र अँगेनोमा खार्ने काम गरेको बताउँछन् । टेकमान वि.क.का अनुसार कहिलेकाहिँ दिनमा २०÷२२ किलो अर्थात् ५ बिसौलीसम्म फलाम निकालेको बताउँछन् ।
फलाम ३ किसिमको गुणस्तरमा भेटिने गर्दथ्यो– (१) आङले जुन– फुट्ने खालको, (२) लचकदार, जुन जता पनि सजिलै जोड्न सकिने, (३) झिर्का निस्कने र खास काम नलाग्ने । त्यस समय धाउलाई खानीबाट झिक्न धेरै गाह्रो थिएन । कुनै कुनै त ५÷७ मिटरको दूरीमा (प्वालभित्र भेटिने) हदै धेरै भित्र जानु परे १५÷२० मिटरको सुरुङसम्म जानुपथ्र्यो । फलामको धाउलाई खानीबाट निकालेर सुकाएपछि झण्डै ५०÷६० मिटर तल (जहाँ हाल फलामको किट प्रशस्त भेटिन्छ) पहाडको कापमा अँगेनो थियो, त्यहाँ २ जनाले दुबै हातमा गोरु÷गाईको छालाको खाल (खलाँती) लगातार चलाउने १ जनाले कोइला र धाउ अगेनोमा राख्ने र दिनको सरदर ५÷६ जनाले ४÷५ धार्नी निकाल्ने बताउँछन् । टेकमान वि.क.ले आफूले निकालेको २÷३ बिसौली फलाम आफूलाई माया लागेर हालसम्म घरैमा राखेका छन् । उनका घन, कोदालो बाउसो, सन्नाखो, कुँढी (दूध तताउने), ओदान, चिम्टा लगायत धेरै घरयासी औजारहरू त्यही खानीबाट निकालेको फलामबाट बनेको मौजुदा छन्, तर हिजोआज मधेस (भारत)बाट सजिलो र कमलो फलाम आउने भएका कारण र चर्को भेजा (मुखियालाई राजश्व) बुझाउनु पर्ने कारण खानीहरू क्रमशः लोप हुँदै गएको बताउँछन् । उनीहरू भन्छन् वार्षिक रूपमा मुखियालाई ७०÷७५ रूपैयाँ बुझाउनु पथ्र्यो, फलाम सुरुसुरुमा प्रति धार्नी ५० पैसा÷१ रूपैयाँसम्म बेच्नुपर्ने, म्याग्दी र बागलुङका गाउँहरू, अन्य जिल्लाका टाढाका गाउँहरूमा बढी मूल्य (१÷२ रूपैयाँ धार्नीको पाइने) पर्ने र स्थानीयवासीले कम मूल्य दिने प्रायः अन्नवालीसँग (१ धार्नी बराबर ३ पाथी अन्न) साट्नु पर्ने चलन बताउँछन् । नन्दराज वि.क. जो हालसम्म पनि स्थानीय औजारहरू बनाउछन्, उनी भन्छन्– “हाम्रो ठाउँ देश क्या धनी छ । आधुनिक साधन हुने हो भने यहाँको (लोकल) खानीको फलामले धेरै पैसा कमाइन्थ्यो हजुर ।” त्यो नभएका कारण उनका ३ छोराहरू खाडी मुलुकतर्फ गएका छन्  । प्रतिमान र टेकमान वि.क. अझै पनि आशावादी छन् कि निकट भविष्यमा सरकारले खानी निकाल्ने छ र उनीहरूले पनि काम पाउने छन् । लेखकलाई उक्त फलाम खानी हेर्न बोलाएर स्थानीय कामी समुदायहरूसँग साक्षत्कार गराउने स्थानीय शिक्षकद्वय कुलबहादुर छन्त्याल र उनका सहकर्मी तिलक पुनले आफ्ना पुर्खाहरूले त्यस ठाउँको खानीको महत्वका कारण त्यहाँ बसोबास गरेको र छन्त्यालहरू विगतमा खानी खोज्ने अन्वेषक(मुसा)को रूपमा परिचित भएको बताउँछन् । उहाँहरूको इच्छा पनि विगत लामो समयसम्म सञ्चालनमा रहेर पनि हाल (३०÷३५ वर्ष) बन्द रहेको खानी सञ्चालन होस् भन्ने मनसायले खोजीनीति गर्न थालेको तर कहाँ, कोसँग सम्पर्क गर्ने भन्नेबारे अनविज्ञ रहेको कारण त्यसैको खोज र पर्खाइमा रहेका छन् ।
लुकुरवन खानीबाट फलाम निकाल्ने र औजाहरू बनाउने कामीहरू खानीको काम बन्द भएपछि आपतमा परेका छन् । विगतमा उनीहरूसँग जग्गा जमिन थिएन । २०२१ सालपछि नापी हुँदा थोरै घरबास मात्र उनीहरूका नाममा नापी भयो । परम्परागत रूपमा गर्दै आएको पेशा बन्द भयो । त्यसैले बाँच्नको लागि बनमा गई निगालोको चोया बनाउने, चोयाबाट डोको, डालो, मान्द्रो, कोक्रो बनाउन थालेका छन् । हिजोआज उनीहरूको मुख्य पेशा नै त्यही भेटिन्छ । छोराछोरीहरू नपढेको र कम पढाउने, आर्थिक एवम् शैक्षिक पछ्यौटेपनका कारण ऋण सापट गरेर विदेश पठाउने र सिजनल ज्यालादारी गरी गुजारा गरिरहेको भेटिन्छ तर उनीहरूसँग विगतका सहकर्मी भई खानीको कामले जीविकोपार्जन गर्ने छन्त्याल र थकाली समुदाय धेरै अगाडि बढीसकेका छन् । थकालीहरू यो पेशासँग सरोकार देखाउन पनि छोडे । उनीहरू यो पेशासँग सम्बन्ध देखाउन लाज मान्छन्– बुर्तिबाङका झमबहादुर शेरचन भन्छन् । अब छन्त्यालहरू पनि बढी चेतनशील र पढेलेखेका भएका कारण क्रमशः राम्रो व्यवस्थाकासाथ अघि बढीरहेका छन् तर यी दलित (वि.क.)हरू धेरै पछाडि अलपत्र रूपमा जीवन गुजारी रहेका छन् । कुनैबेला सरकारले साकार रूप लिएमा यसरी यत्रतत्र छरिएका खानीको पुनः सञ्चालन (आधुनिक ढङ्गले) भइदिएमा अवश्य पनि यी जातिहरूको उद्दार हुने थियो । बागलुङ, पर्वत, र म्याग्दीमा यस्ता खानी र विगतमा संलग्न कामी (वि.क.) र छन्त्यालहरू प्रशस्त भेटिने हुँदा सम्भव भएसम्म यातायात र प्रविधिको क्षमता वृद्धि गरी नेपाल सरकारले अध्ययन अनुसन्धानपश्चात् अगाडि बढाएमा त्यस क्षेत्रको गरिबी न्यूनीकरण र जातजातिहरूको उद्दार हुने थियो भन्ने आशा गर्न सकिन्छ । नेपाल सरकारले भविष्यमा सकारात्मक सोंच राख्नेछ । 

No comments:

Post a Comment