काभ्रेका आरन व्यवसाय धरासायी अवस्थामा पुगे

परम्परागत रुपमा संचालित आरन व्यवसायहरु अहिले संकटमा परेका छन् ।काम धेरै गर्नु पर्ने तर यसबाट काम अनुसारको कमाई नहुने समस्या भए पछि पेशाकर्मिहरुले अन्य कामको विकल्प खोज्न थालेका कारण यसरी संचालित आरन व्यवसायहरु संकटमा परेका हुन् । विगत एक दशक अगाडि सम्म काभ्रेमा करिव एक सयको हाराहारीमा रहेका यस्ता आरनहरुको संख्या घटेर अहिले करिव दश वटा जति मात्र रहेका छन् । पहिले यस व्यवसायमै संलग्न रहेर परिवार चलाउनेहरुको संख्या धेरै भएको भए पनि अहिले वीस जना जति मात्र रहेको स्थानिय व्यवसायी दिल बहादुर विश्वकर्माले बताए । आफूहरुले अहिले सम्म नै परम्परागत रुपमै व्यवसाय चलाउनु परेकोले आफ्नो आरन व्यवसाय धरासायी अवस्थामा पुगेको पनि उनले जानकारी दिए ।यहाँका व्यवसायीहरुले गाउँमा रहेका विष्ट (ठालु)हरुका हँसिया, कोदाला , कोदाली तथा अन्य फलामका कृषि औजारहरु बनाउन र यीनीहरुमा धार लगाउन धेरै दुःख गर्नु पर्छ । यस बापत उनीहरुले वर्षको केहि पाथी अन्न र चार्डपर्वमा छुट्याइने केहि भाग भन्दा बाहेक अरु पारिश्रमिक केहि पनि पाउँदैनन् । यस्तो प्रथालाई गाउँ–घरमा बालीघरे प्रथा भनिन्छ । परम्परागत रुपमा चलिआएको यस्तो बालीघरे प्रथा त्यतिखेर राम्रै सँग चलेको भएपनि अहिलेको महङ्गिमा यसले धान्न नसक्ने भएपछि गाउँबाट आरन व्यवसाय विस्थापनको चपेटामा परेको सम्बद्ध व्यवसायीहरुको भनाई रहेको छ ।
फलामको काम गर्नु पर्ने र अहिले यसको भाउ पनि अन्य सामानहरु जस्तै वढेकाले पनि यो व्यवसायलाई अप्ठ्यारो परेको केहिको भनाई छ । यसको विकल्पमा उनीहरु मध्ये धेरै जसो रोजगारीका लागि देशका विभिन्न भागमा पुगेका छन् भने केहि मात्रामा जग्गा जमिन हुनेहरु तरकारी खेती र पशुपालन तिर लागेका छन् । जग्गा जमिन नहुने र अन्य कामको विकल्प पनि नहुनेहरु मात्र अहिले यस्तो काम मै लागि रहेका छन् । यहि अवस्था रहिरहने हो भने अवको केहि वर्ष भित्रमा नैे आरन व्यवसाय पूर्ण रुपमा हराएर जानेमा स्थानिय लोहारहरु चिन्तित् छन् ।
समाजमा यस्तो काम गर्ने मानिसहरुलाई स्वघोषित उपल्ला जातीहरुले हेलाको दृष्टिले हेर्ने गरेका छन् । कथित उपल्लो जातीकाले होच्याउने नियतले यो पेसासम्बद्ध जातीले छोएको पानी पनि नचलाऊने र छोइछिटो हाल्ने गरेका छन् । तर हाल दलित भनिने यीनैले काम नगरिदिने हो भने गैह्रदलितहरुको दैनिक कामकाज ठप्प हुन्छ । यस तर्फ अलिकति पनि नसोचिकन आफूहरुलाई बेवास्ता गरिंदा आफूहरु विस्थापनको क्रममा रहेको स्थानीय अर्का व्यवसायी श्याम विश्वकर्माले गुनासो गरे । कामको अन्य विकल्प खोज्ने अवस्था आएको उनको भनाई छ ।

No comments:

Post a Comment