खरसाङ (भारत), भाद्र २५ - दार्जिलिङमा उनका समकालीन लगभग सकिए। 'कसैलाई कालले लग्यो, कसैलाई नेपालले,' संगीतकार प्रदीप दर्नालले गफको पन्तुरो खोले, 'मलाई कसैले केही गर्न सकेको छैन।'
आठ दशक उमेर पार गरिसक्दा पनि उनको जोस तन्नेरीझैं छ। त्यही जोसका साथ अझै संगीतकर्ममै सक्रिय छन्। 'धेरैजसो समकालीनले संसारै छाडे,' खरसाङस्थित निवासमा दर्नाल भावुक बने, 'यतिबेला आफूलाई एक्लो महसुस गरिरहेको छु।'
दार्जिलिङले धेरै स्रष्टा र सर्जक जन्मायो। त्यही सूचीमा दर्नालको नाम पनि समाविष्ट छ। खासमा उनको परिचय संगीतकारका रूपमा बढी छ। हवाइन गितारमा सिंगो पश्चिम बंगाल राज्यले उनलाई 'गुरु' मान्छ। स्टिल इलेक्टि्रक गितार (हवाइन) बजाउने नेपाली ज्यादै कम छन्, त्यसमा उनको नाम अग्रपंक्तिमा आउँछ। दर्नालले पहिलोपटक संगीत सुरु गर्दा संगीतप्रति मान्छेको रुचि ज्यादै कम थियो। 'अहिले संगीतको आकर्षण डरलाग्दो छ,' स्थानीय लवजमा उनी बोले। उनले सुरुबाटै गितार बजाउन सिकेका हुन्।
सन् १९६७ मा खरसाङको सेन्ट हेलेन्स स्कुलमा, जहाँ नेपाली महारानी ऐश्वर्या पढेकी थिइन्, एउटा सानोतिनो सांगीतिक कार्यक्रममा दर्नालले पहिलो पटक गितार फिटेका थिए। गितार बजाउने उनको फरक शैली देखेर दर्शक त छक्क परे नै, स्कुलकी पि्रन्सिपल सिस्टर युवानाले बोलाएर प्रस्ताव राखिन्, 'तपाईंले स्कुलका विद्यार्थीलाई गितार सिकाइदिनुपर्यो।' सिस्टरको प्रस्ताव उनले सहर्ष स्विकारे। त्यसै बेलादेखि हवाइन गितारका उस्तादको रूपमा उनी दार्जिलिङभर चिनिए। सिलिगुडी, जलपाइगुडीसम्मका मान्छे गितार सिक्न खरसाङ धाउन थाले।
'त्यो बेला रेडियो पनि थिएन। ग्रामफोन रेकर्ड र हार्मोनियन तबलाको चल्ती थियो,' उनी नोस्टाल्जिक बने, 'केही हिन्दी गीत र नेपालीमा मित्रसेनको रेकर्ड मात्रै सुन्न सकिन्थ्यो।'। दर्नालको पहिलो संगीत रेकर्डिङ नै भारतको सरकारी टीभी च्यानल दूरदर्शनले गरेको थियो। दूरदर्शनमा अवसर पाउनु दार्जिलिङे स्रष्टाका लागि खेलाची थिएन। त्यसबेला दूरदर्शनले भर्खर सेवा सुरु गरेको थियो। हिन्दी गीत-संगीत बाक्लै बज्ने दूरदर्शनमा नेपाली संगीतको कुनै कार्यक्रम थिएन, त्यसै बेलादेखि नेपाली गीतसंगीतको कार्यक्रम सुरु भएको थियो।
सन् १९८६ ताका दूरदर्शनको टिम उनको घर खोज्दै पुगेछ। दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको आगो दन्किरहेको थियो। 'इन्डोर रेकर्ड गरेर टोली फर्कियो,' उनले सुनाए, 'आउट डोर रेकर्ड कोलकाता स्टेडियममा भयो।' उनले पुराना र ज्यादै रुचाइएका नेपाली गीतको धून दूरदर्शनको प्रस्तुतिमा सुनाए। धेरैको मन जिते।
अल इन्डिया रेडियोले खरसाङबाट प्रसारण सुरु गरेपछि उनी झन् लोकपि्रय बने। शिवकुमार राईका धेरै गीत र रूपकहरूमा उनले संगीत भर्ने मौका पाए। 'अरुणा लामाका केही गीतमा संगीत भरेको छु,' उनी सुनाउँछन्, 'उहाँ नेपाल पसेपछि खासै संगत हुन सकेन।'
सन् १९४४ ताका सर्व संगीतालय नामको एउटा संगीत स्कुल खुलेको थियो खरसाङमा। संस्थामा माणिकचन्द्र प्रधान, सीबी गुरुङ, टीबी रामुदामु, एनबी गुरुङहरू जोडिएका थिए। उनीहरूकै संगतबाट दर्नालले संगीतलाई तिखार्ने मौका पाए। अमर गुरुङ, अरुणा लामा, गोपाल योञ्जनहरू नेपाल भासिएपछि भेट हुन पाएन। नेपालमा बस्ने अवसर त उनलाई पनि नआएको थिएन। तर, किन-किन उनको भित्री मन मानेन।
१९५० मा पासाङ गोपर्मा, तारानाथ शर्मा उनका सहपाठी थिए। उनीहरू सेन्ट अल्फासिसमा सँगै पढ्थे। तानासँग उनको बढी घनिष्ठता थियो।
No comments:
Post a Comment