२. दलित शब्दको कोशीय अर्थ दमन गरिएको, थिचिएको, कुल्चिएको वा नष्ट गरिएको भन्ने हुन्छ । तर, वर्ग विश्लेषणका तहमा प्रचलित सामाजिक अर्थका दृष्टिले भने यसलाई समाजमा हक, इज्जत र प्रतिष्ठा प्राप्त गर्न नसकेको जाति वा समूहका, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको वर्गका रूपमा चिनाइन्छ । यस शब्दलाई हिन्दू वर्ण व्यवस्थाअनुसार अछुत जातिका रूपमा प्रयोग गर्ने प्रचलन आजभोलि बढेको छ । व्यापक अर्थमा सम्पूर्ण शोषित वर्गलाई दलित वर्गमा राख्ने प्रचलन पनि नभएको होइन तर आजभोलि यसलाई व्यापक अर्थमा नभएर अछुत जातिमा नै रुढ गर्ने प्रचलन बढी प्रयोगमा छ । नेपाली समाजका सन्दर्भमा यसले जातीय छुवाछूत र विभेदमा परेको सम्प्रदायको स्वपहिचान जातीय छुवाछूत र विभेदको अन्त्य र समतामूलक समाजको स्थापना गर्नका लागि भइरहेको सङ्घर्षको प्रतिनिधित्व गर्छ । जातीयताका अधारमा शोषणको मार खेप्न विवश भएको दलित वर्गको मुक्तिका लागि आज विभिन्न राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन र सङ्घसंस्थाहरू क्रियाशील छन् । वर्गीय समाजमा रहेका सम्पूर्ण असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माणमा क्रियाशील कम्युनिस्ट पार्टी र तिनका भ्रातृ सङ्गठनहरूको सक्रियतालाई दलित मुक्तिको महत्वपूर्ण सहयोगी कदमका रूपमा हेर्न सकिन्छ । तर, नेपालका सन्दर्भमा कम्युनिस्ट पार्टीहरूले पनि दलित समस्यालाई सही रूपमा उठाउन नसकेको अवस्था तिनीहरूका राजनीतिक दस्तावेजको अध्ययन गर्दा प्रस्ट हुन्छ -भट्टराई, २०६१ ः ८१) । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै जातीय समस्यालाई सम्बोधन गर्ने परम्परा पाइए पनि यसलाई वास्तविक रूपमा विश्लेषण गर्ने कार्य भएको पाइन्न । दलित मुक्तिलाई सम्पूर्ण वर्ग मुक्तिसँग नजोडेर यसलाई छुट्टै समस्याका रूपमा उठाउनुपर्ने आवश्यकताको पूर्तिका केही प्रयासहरू नेपाली समाजमा भएका भए पनि यसले अवश्यक गति लिन भने सकेको छैन । दलित वर्गका समस्याहरूलाई वर्ग मुक्तिसँग मात्र नजोडेर छुट्टै समस्याका रूपमा उठान गर्नु र उनीहरूको मुक्तिका पक्षमा छुट्टै आन्दोलन पनि उठाउनुपर्ने आवश्यकताको बोध आजभोलि हुन थालेको छ । किनकि दलित वर्ग शोषितभित्रको पनि शोषित वर्ग हो । त्यसकारण वर्गीय क्रान्ति सफल भएपछि पनि दलित समस्या उस्तै रहन सक्ने खतरा पनि हुन सक्छ ।
सम्पूर्ण अछुत जातजाति, मजदुर, भूमिहीन किसानलगाायत वर्गीय शोषणमा परेका जनताको मुक्तिका लागि लेखिने साहित्य नै दलित साहित्य हो । नेपाली साहित्यको समालोचनात्मक प्रणालीमा दलित साहित्यका बारेमा छुट्टै चर्चा त्यति भएको छैन । तर, भारतीय साहित्यमा यसको चिन्तन परम्परा सुदीर्घ बनिसकेको छ । त्यहाँ दलित साहित्यलाई चिनाउने क्रममा विद्वान्हरूले दलितहरूले नै आफ्नो पीडाको अभिव्यक्ति गर्दै मुक्तिको अपेक्षा साथ लेखिएको साहित्य र गैरदलितहरूले दलित मुक्तिका पक्षमा लेखेको साहित्य गरी मुख्य दुई मतहरू प्रस्तुत गरेका छन् -वाल्मीकि, ई. २००९ ः १४) । दलितका दुःख, अप्ठ्यारो, दासता, अधःपतन, उपहासका साथै दरिद्रताको कलात्मक चित्रण र त्यसबाट मुक्ति प्राप्त गर्ने सञ्चेतनायुक्त साहित्यलाई नै दलित साहित्य भनिन्छ -भट्टराई, २०६१ ः१७) । दलित साहित्यमा समाजबाट तल्लो जातको रूपमा अपहेलित दलितहरूको मुक्तिको आकाङ्क्षा राखिन्छ वा सांस्कृतिक शोषणका विकृत रूपहरूको रूपान्तरणको चाहना व्यक्त गरिएको हुन्छ । दलितहरूको अधिकारप्राप्तिको लडाइँमा उनीहरूकै सङ्गठित र एकीकृत आवाजलाई यस्तो साहित्यमा प्रस्तुत गरिन्छ । दलित साहित्य र साहित्यकार जाति व्यवस्थाको सोपानक्रम भङ्ग गर्न चाहन्छ र सबैभन्दा तल पारिएको जातिलाई अरू जातिसरह सबै प्रकारका हकअधिकार दिलाउन सङ्घर्षरत रहन चाहन्छ -भट्टराई, २०६१ : १७) ।
उत्पादनका साधनहरूमा आफ्नो पहुँच पुर्याएको शोषक वर्गले जातीय स्वरूपको अवधारणा ल्याएर मानव-मानवबीचमा तह सिर्जना गर्ने र विभेदको पर्खाल ठड्याउने कार्य परापूर्वकालदेखि नै गर्दै आएको छ । मानव अस्तित्वमाथि नै प्रश्नचिह्न उठ्ने गरी धर्म-संस्कृतिको नाममा गरिब वर्गमाथि शोषण गर्ने एउटा आधार जातीय संरचना पनि हो । जातीयतालाई आधार बनाएर कथित दलित वर्गलाई सधैंभरि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सामाजिक संरचनाको उपल्लो स्थानमा पुग्नै नसक्ने गरी नेपाली समाजमा शेाषण गरिएको छ । यसरी समाजमा वर्गीय दृष्टिले निम्न, भूमिहीन, मजदुर, श्रमिक, सामाजिक दृष्टिले उपल्लो वर्गबाट उत्पीडित वा दलनमा परेको वर्ग नै दलित वर्गको रूपमा नेपाली समाजमा देखिएको छ । समाजमा रहेको यही यथार्थको प्रस्तुति र त्यसको मुक्तिको अपेक्षासहित लेखिएको साहित्यलाई नै दलित साहित्य मान्नु उपयुक्त हुन्छ ।
दलित साहित्य हिन्दू ब्राह्मणवादी वर्ण व्यवस्थाअनुसार मानिसहरूको सबैभन्दा तल्लो जातिका नाम शोषण र दमनका अन्तिम रूपहरू भोग्न बाध्य पारिएको जातिको जीवनका यथार्थ घटनालाई मूल सामलका रूपमा प्रयोग गरी त्यसलाई बोकेर उपन्यासभरि हिँड्ने पात्र पनि मूलतः त्यसै जातिको नियुक्त गरेर उनीहरूको जीवनावस्था सुधारको अपेक्षासहित लेखिएको हुन्छ । प्रस्तुत आलेखमा को अछुत? उपन्यासमा रहेको दलित सौन्दर्यको मापन गर्नका लागि यस उपन्यासको विषयवस्तु, पात्र वा सहभागितागत र उद्देश्यगत वा वैचारिक पक्षको अध्ययन गरिएको छ ।
३. उपन्यासकार मुक्तिनाथ तिम्सिनाको प्रस्तुत को अछुत ? उपन्यासमा समाजमा दैनिकजसो घट्ने घटनाहरूलाई मुख्य कथावस्तु बनाएर कथ्य विषयलाई स्थिरता दिने काम गरिएको छ । यस उपन्यासमा उपन्यासकारले नेपाली समाजका अछुत जाति र महिलाका समस्यालाई यथार्थ रूपले प्रस्तुत गर्दै सदियौंदेखिको सामन्तवादी वा ब्राह्मणवादी हिन्दू संस्कृतिको उत्पीडनको सिकार भएका दलित एवम् महिलाहरूमा बिस्तारै पलाउँदै गएको विद्रोहको चेतनालाई देखाउने काम गरेका छन् । एउटा उच्च कुलीन तथा शिक्षित दम्पतीबीचका कुराकानीबाट आरम्भ भएको प्रस्तुत उपन्यासमा तत्कालीन नेपाली समाजको अन्याय, अत्याचार र शोषणलाई कथात्मक रूपले प्रस्तुत गरिएको छ । यस उपन्यासमा समतामूलक समाज निर्माणका लागि जातीय मुक्तिलाई आवश्यक रूपमा देखाउँदै यो परिवर्तनबिना सांस्कृतिक, धार्मिक र सामाजिक मुक्ति हुँदैन र समाज उत्थानको सम्भावना पनि छैन भन्ने कुरा प्रस्तुत उपन्यासको मूल कथ्य बनेर आएको देखिन्छ । यो कथ्यलाई पुष्टि गर्नका लागि उपन्यासमा विविध प्रकारका प्रसङ्गहरू आएका छन् ।
उच्च कुलीन तथा सामन्तवादी चिन्तनग्रस्त शोषक मनस्थिति भएको बाबुकी छोरी माया कथित कुलीन खानदानकै बुहारीका रूपमा उसकी श्रमती भएर खगेन्द्रको घरमा प्रवेश गरेकी छे । उसकै घरमा काम गर्न र कपडा सिलाउन आउने गोरे दमाईं र उसकी स्वास्नी उजेलीको जीवनकथाको खोजीमा लागेकी यो शिक्षित प्राणी अन्त्यमा समाज रूपान्तरणको मोर्चामा सङ्गठन निर्माणमा लागेकी छे । समाजले अछुत भनेर दलित बनाइएकाहरूको जीवनवृत्तको खोजी गर्दै जाँदा मायाले उजेली र गोरे दमाईंको वास्तविकता प्राप्त गरेको सन्दर्भ उपन्यासमा वणिर्त भएको देखिन्छ । नेपाली समाजको सबैभन्दा शोषणमूलक अवस्था राणा शासन र हालसम्म पनि अवसरहरू दिने ठाउँमा अछुत भनेर पाखा लगाउने र वासना पूर्तिका लागि तिनीहरूलाई नै प्रयोग गरेर उनीहरूको अस्मिता, अस्तित्व र जीवनलाई कालरात्रिमा परिणत गराउने कथित उपल्लो जातिका मानिसहरूमा भएको संवेदनाहीन र पाखण्डी व्यवहारको प्रस्तुति उपन्यासमा भएको छ । यसका साथै प्रस्तुत उपन्यासमा पितृसत्तात्मक समाज व्यवस्थामा महिलामाथि हुने शोषण, दमन र अत्याचार तथा तिनीहरूलाई वासना पूर्तिको रूपमा लिने प्रवृत्तिको पनि विरोध गरिएको पाइन्छ । दलितहरूको वीजबाट जन्मेर पनि बाहुनको घरमा जन्मँदा त्यो व्यक्ति छुत हुने र अछुत भनिनेहरूको कुकृत्यबाट दलितको कोखमा जन्मनुपर्दा वा महिलामाथिको शोषणका कारण कथित उपल्लो वर्गका मानिसको सम्भोग क्रियाबाट तर त्यही जातिको गरिब वर्गमा जन्मँदा त्यसलाई त्यो शोषकले आफ्नो खानदानको बचावटका रूपमा आफैंले भोग गरेकी महिलालाई अस्वीकार गर्दाका अवस्थामा ती जन्मेकाहरूले समाजमा उचित स्थान प्राप्त नगरेको सन्दर्भ उपन्यासमा आएको देखिन्छ । उपन्यासमा यी दुवै प्रसङ्का लागि छुट्टाछट्टै कथाको बनोट गरिएको पाइन्छ । छुत आमाको छोरो गगने सार्कीसँगको सम्भोगबाट जन्मेर पनि ऊ धर्मको रक्षक पण्डित बनेको तर उसकै बाबु गगने सार्कीलाई पुराण सुनेर फूलप्रसादसम्म लिन नदिइएकोबाट गगने सार्की आन्दोलित भएको र सङ्गठन खोलेर मन्त्रीसम्म भएको अवस्था उपन्यासमा देखिएको छ । उता छुत आमाका छोरा र छोरी विविध कारणले गोरे र उजेली दमाईं र दमिनी भनिएर अमानवीय जीवन बिताउन बाध्य भएको सन्दर्भ पनि उपन्यासमा आएको पाइन्छ । यी विखण्डनका विरुद्धमा एकातिर गगने सार्की लागेको छ भने अर्कातिर यसलाई नजिकैबाट बुझेकी माया पनि वर्गीय मुक्तिका लागि सङ्गठन निर्माणको सिलसिलामा सामेल भएको देखाएर उपन्यास टुङ्गिएको पाइन्छ ।
यसरी प्रस्तुत उपन्यासले उठाएको जातीय विखण्डन र त्यसले सिर्जना गरेको अन्यायपूर्ण समाज-व्यवस्थाको विरोधलाई मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरिएको यो उपन्यासको कथ्यका रूपमा समाजको यही असमान व्यवस्था हो । समाजमा वर्गीय विखण्ड रहुञ्जेलसम्म समानताको कुराले स्थान पाउँदैन भन्ने यथार्थलाई मुख्य रूपले प्रस्तुत गर्दै वर्गीय विखण्डनको यो जालोलाई च्यात्नका लागि पीडित वर्ग नै सचेत बनेर क्रान्तिमा समेल हुनुपर्ने कथ्यको प्रस्तुतिका लागि उपन्यासमा विविध प्रकारका प्रासङ्गिक कथाहरूलाई संयोजन गरेर प्रस्तुत गरेको पाइन्छ ।
माक्र्सवादीहरू उपन्यासका पात्रहरूलाई व्यक्तिका रूपमा नभएर वर्गका रूपमा हेर्ने गर्छन् । दलित साहित्यको सौन्दर्यशास्त्र पनि माक्र्सवादी मान्यताकै सापेक्षमा निर्माण गरिने भएकाले समाजमा विद्यमान जातीय यथार्थलाई पनि वर्गकै रुपमा हेर्दै त्यसको सचित्र वर्णन गर्ने पात्र चयन गरिएको हुन्छ । यस हिसाबले कुनै पनि कृतिमा वर्गीय समाजमा रहेका उपल्लो तथा तल्लो जात, सर्वहारा-श्रमजीवी तथा सामन्ती-पुँजीपति दुवै वर्गका व्यक्तिहरू प्ाात्रका रूपमा आएका हुन्छन् । दलित सौन्दर्य चिन्तनअनुसार कृतिमा कृतिकारले तल्लो जातिलाई वर्गीय भूमिका दिएर त्यसलाई सचेत व्यक्तिका रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । नेपाली उपन्यासको विकासप्रक्रियामा समाजवादी यथार्थवादी वा प्रगतिवादी विचारधाराको आमन्त्रण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पहिलो उपन्यास को अछुत ? वर्गीय समाजको यही यथार्थलाई अभिव्यक्त गर्ने दुवैखाले चरित्र भएका व्यक्तिहरूलाई पात्रीकरण गरिएको समाजवादी यथार्थवादी उपन्यास हो । उपन्यासमा पात्र चयनसम्बन्धी दृष्टिकोणको अध्ययन गर्दा उपन्यासको प्रमुख पात्र वा नायक पात्रको चयन कस्तो व्यक्तिलाई गरिएको छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।
प्रस्तुत उपन्यासको नायक वा प्रमुख पात्र माया हो । ऊ सामन्ती चिन्तन बोकेको बाबुकी छोरी र सामन्ती घरकै बुहारीका रूपमा देखिएकी छे । यसो भएर पनि उसमा सामन्तवादी सांस्कृतिक सोच छैन । बरु ऊ यही सामन्तवादी सांस्कृतिक चिन्तनको अन्त्यका लागि क्रियाशील व्यक्तिका रूपमा देखिएकी छे । उसकै क्रियाशीलतामा सामन्तवादी ब्रह्मणवादी वा रूढीवादी समाजले रूपान्तरित मूल्य पहिल्याउने प्रयास गरेको देखिन्छ -सुवेदी, २०६४ ः४३४) । समाजको अग्रगामी रूपान्तरणका लागि देवेन्द्रजस्ता सामन्तहरूलाई घरघरबाट नङ्ग्याउनुपर्छ भन्ने मान्यताका साथ आफ्नै ससुराका विरुद्धमा मायाले उठाएको कदम तत्कालीन नेपाली समाजको कम क्रान्तिकारी वा रूपान्तरणकारी कदम होइन । ब्रह्मणवादी-हिन्दूवादी समाजमा रहेका शोषणका विभिन्न रूपहरूमध्येको जातीय विभाजन र त्यसैका आधारमा गरिने अमानवीय क्रियाकलापको अन्त्यका लागि मायाले गरेको सङ्गठन निर्माणको प्रयास समाजवादी चेतको उल्लेखनीय उदाहरण हो । सामन्तवादीहरूकै नुनपानी खाएर पनि मायाले जुन खालको साहस र क्रान्तिकारिता प्रदर्शन गरेकी छ त्यो समाज रूपान्तरणको खोक्रो नारा खोक्ने जोकोहीका लागि राम्रो पाठ हो । उपन्यासमा यस्ता थुप्रै अवस्तुवादी सोच एवम् चिन्तनका पराकास्टाहरू देखिएका छन् ती सबैको अन्त्यका लागि मायाले उठाएको कदम सबैभन्दा प्रभावकारी पाइलोका रूपमा देखिएको छ । त्यसकारण माया यस उपन्यासकी नायिका वा प्रमुख केन्द्रीय पात्र हो ।
समाजवादी चेतनाका हिसाबले गगने सार्की पनि प्रस्तुत उपन्यासको उल्लेखनीय पात्रका रूपमा देखिएको छ । शिवलालको घरमा जोत्ने काममा लागेको गगने सार्कीसँगको यौनसम्पर्कबाट शिवलालकी श्रीमतीबाट एउटा छोरो जन्मन्छ । ऊ पछि गएर नामुद पण्डित बन्छ र धर्मरक्षकका रूपमा पुराणवाचकका रूपमा उपन्यासमा देखिन्छ । यस अवस्थासम्म गगने सार्कीमा समाजवादी चेत प्रादुर्भाव भएको पाइँदैन । जब उसकै वीर्यबाट जन्मेको छोरो रविलाल पण्डितले पुराणवाचन गरिरहेका ठाउँमा उसलाई गएर फूलप्रसादसम्म ग्रहण गर्न दिइँदैन अनि मात्र ऊ आन्दोलित भएको छ । उसमा वर्गीय चेतना जाग्छ, जोत्न छोडेर दलितहरूको सङ्गठन निर्माण गरेर राजनीतिमा होमिन्छ अनि मन्त्रीसम्म बन्छ । गतिशीलता र साङ्गठनिकता एवम् सङ्घर्षका हिसाबले प्रस्तुत उपन्यासमा मायापछिको मुख्य भूमिका निर्वाह गर्ने पात्र गगने हो ।
यसरी प्रस्तुत उपन्यासमा समाज रूपान्तरणका लागि समाजवादी चेतना भएका पात्रहरूलाई केन्द्रमा राखेर वैचारिकताको अभिव्यक्ति दिने काम उपन्यासकारले गरेका छन् । उपन्यासमा यी दुई प्रमुख वर्गीय पात्रका अलावा अन्य पात्रहरू पनि देखिएका छन् । उनीहरूको भूमिका प्रत्यक्ष वा परोक्ष रूपमा यही समाजवादी विचारधाराको अभिव्यक्ति दिने काममा सहयोगी सिद्ध भएको पाइन्छ ।
समाज वर्गमा विभाजित छ र शोषित वर्ग आफ्नो अधिकार प्राप्ति र आफूमाथिको शोषणको जालो च्यात्नका लागि क्रियाशील हुन्छ भन्ने मान्यता माक्र्सवादी मान्यता हो । समाजमा रहेका वर्गीय विभाजनका कारण तल्लो वर्ग हमेसा शोषण खेप्न बाध्य छ । उसमाथि सामन्तवादीहरू विभिन्न वहानामा शोषणको जाल हान्न उद्यत् हुन्छन् । यसबाट मुक्तिका लागि तल्लो वर्ग क्रियाशील भएपछि समाजमा स्वतः टकरावको स्थिति देखापर्छ । समाजमा रहेको द्वन्द्वको यही स्थितिलाई साहित्यमा अभिव्यक्त गर्नुपर्छ भन्ने मान्यता प्रगतिवादी साहित्यिक मान्यतामा छ । नेपाली उपन्यास परम्परामा प्रगतिवादी धाराको आमन्त्रण गरेको को अछुत ? उपन्यासमा समाजमा रहेको वर्गीय यथार्थलाई प्रस्तुत गर्दै त्यसको अन्त्यका लागि सर्वहारा वर्गले गरेको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको पाइन्छ । सामन्तवादी समाज व्यवस्थामा विद्यमान शोषणका विभिन्न रूपहरूमध्ये जातिप्रथाको नाममा हुने गरेको शोषण र त्यसबाट मुक्तिका लागि जनस्तरबाट गरिएको र गरिनुपर्ने सङ्घर्ष प्रस्तुत उपन्यासले देखाएको वर्गसङ्घर्षको बाटो हो । यस उपन्यासमा सामन्तवादी परिवारमा जन्मे-हुर्केर तथा सामन्तवादी परिवारकी बुहारी भएर देवेन्द्रको घरमा भित्रिएकी मायाले समाज रूपान्तरणको पक्षमा गरेको सङ्घर्ष वर्गसङ्घर्षको उत्कृष्ट उदाहरण हो । यसका साथै प्रस्तुत उपन्यासको मुख्य पुरुष पात्र गगने सार्कीले आफ्नै वीजबाट जन्मिएर पण्डित भएको आफ्नै छोरो रविलालले पुराणवाचन गरिरहेको स्थानमा गएर फूलप्रसाद ग्रहण गर्ने अवसर नपाएपछि ऊ दलित जातिलाई सङ्गठित गरेर जातीय समस्या समाधानका लागि सङ्घर्षमा उत्रिएको छ । यो घटना पनि प्रस्तुत उपन्यासले देखाएको वर्गसङ्घर्षको एउटा राम्रो उदाहरण हो । यस उपन्यासमा एकातिर नेपाली समाजले परम्परादेखि संस्कारमा पालेर ल्याएका जातिगत विकृतिलाई देखाउने काम गरिएको छ भने अर्कातिर वर्गीय विषमतापूर्ण विचारका द्वन्द्व पनि प्रस्तुत गर्ने काम गरिएको छ -सुवेदी, २०६४ ः४३४) । यसले गर्दा प्रस्तुत उपन्यासको वैचारिक पक्षमा वर्गसङ्घर्ष रहेको कुरालाई स्पष्ट रूपले देखाएको छ । प्रगतिवादी साहित्यमा अपेक्षा गरिएको यसप्रकारको वैचारिक रुप वा वर्ग सङ्घर्षको चेतना दलितसम्बन्धी साहित्यको सौन्दर्यशास्त्रमा पनि अपेक्षित रहने भएकाले तिम्सिनाको प्रस्तुत उपन्यास दलित सौन्दर्य चेतनाका दृष्टिले उपयुक्त छ ।
४. मुक्तिनाथ तिम्सिना कृत को अछुत ? उपन्यास नेपाली समाजमा विद्यमान जातीय समस्या र यसले निर्माण गरेको विकराल अवस्थाको सपाट चित्रण गर्दै त्यसबाट मुक्तिको अपेक्षासहित लेखिएको उपन्यास हो । यस उपन्यासमा हिन्दू ब्राह्मणवादी सामन्ती समाजमा रहेको जातीय विभाजन र त्यसले निर्धारण गरेको कथित तल्लो वा दलित जातिका समस्यालाई उपन्यासको मुख्य वस्तुका रुपमा प्रयोग गरिएको छ । उपन्यासमा रहेको यस्तो वस्तुलाई बोकेर हिँड्ने पात्रका रुपमा समाजमा रहेका उपल्लो र तल्लो जाति दुवै समुदायका पात्रको नियुक्ति उपन्यासमा भएको छ । दलित जातिका नाममा शोषण र उत्पीडनका विभिन्न रुपहरु भोग्न विवश भएको तल्लो जातिका पात्रहरुमा पलाउँदै गएको मुक्तिचेतना र केही सचेत वा परिवर्तनकामी उपल्लो जातिका व्यक्तिहरुमा देखिएको वैचारिक उन्नतिको अभिव्यक्ति उपन्यासको मुख्य सन्दर्भ भएको छ । उपन्यासमा यसप्रकारको अभिव्यक्ति दलित सौन्दर्यको चित्रणका दृष्टिले उल्लेखनीय हुने भएको र यस उपन्यासमा पनि यस्तो अवस्था रहेकाले प्रस्तुत उपन्यास दलित सौन्दर्यशास्त्रका हिसाबले उल्लेख्य छ । नेपाली उपन्यासमा प्रस्तुत कृति प्रकाशित हुनुभन्दा अगाडि लेखिएका उपन्यासहरुले समाजको यस पक्षतर्फ खासै चासो देखाएका छैनन् । त्यसकारण प्रस्तुत उपन्यास दलित सौन्दर्यको चित्रणका हिसाबले नेपाली उपन्यास परम्परामा पहिलो उपन्यास हो ।
सन्दर्भ सामग्री सूची
No comments:
Post a Comment