एक्ली छोरी ११ वर्षीय कृष्णा बिचल्लीमा

बाबु १२ वर्षदेखि भारतमा बेपत्ता र आमा सिरियामा चार
महिनादेखि बन्धक बनेपछि बिचल्लीमा परेकी रुकुमको खलंगा
 ८ की ११ वर्षीया कृष्णा चनारा। तस्बिरः कृष्णप्रसाद/कान्तिपुर
रुकुम, आश्विन ९ - बाबु भारतमा बेपत्ता, आमा सिरियामा बन्धक मामाघरमा आश्रय लिइरहेकी किशोरीले विद्यालय जान पाएकी छैनन् आमालाई छुटाउन परिवारसँग रकम छैन
 १२ वर्षअघि मजदुरीका लागि भारत गएका खलंगा ८ का धनबहादुर चनारा उतै बेपत्ता भए। आर्थिक जोहो गर्न पत्नी भुमीलाई हम्मेहम्मे पर्‍यो। वैदेशिक रोजगारी खोज्दै गत वर्ष वैशाखमा सिरिया पुगेकी उनी पनि उतै बन्धक भइन्। एक्ली छोरी ११ वर्षीय कृष्णा बिचल्लीमा परेकी छन्।
तत्कालका लागि सेरीगाउँस्थित मामाघरमा आश्रय लिइरहेकी उनी पढाइबाट समेत वञ्चित छिन्। उनलाई आश्रय दिइरहेकी ६३ वषर्ीया हजुरआमा पनि कमजोर बनिसकेकी छन्। उनी गर्भमै छँदा बाबु परदेशिएका हुन्।
यमुनान्द नमुना उच्च माविमा कक्षा ७ मा अध्ययनरत कृष्णाले साँझबिहानको छाक टार्न मजदुरी गर्न थालेकी छन्। उनकी आमा भुमी गत वर्ष वैशाख ५ गते बु्रनाई जाने भन्दै छिमेकी रेणुका चनारासँग घरबाट हिँडेकी थिइन्। कमाएर सन्तानको लालनपालन गर्ने उनको सपना युद्धग्रस्त सिरियामै बन्धक भएको छ।
सुरुमा बु्रनाई पठाउने भनेका दलालले उनलाई त्यहाँको कोटा पूरा भइसकेको भन्दै सिरिया पुर्‍याएका हुन्। सँगै गएकी रेणुका भने घरबाट तीन लाख रुपैयाँ मगाएर मुक्त भई घर फर्किसकेकी छन्। रकम मगाउन नसकेकी भुमी भने मुक्त हुन सकेकी छैनन्। सिरियास्थित उनका घरधनीले अवैध रूपमा आएको थाहा पाएपछि बन्धक बनाएको परिवारले जनाएको छ।
दलालले उनीसँग २ लाख ५० हजार असुलेका थिए। उनी विराटनगरका श्यामलाल डंगोल, भक्त परियार, सुनिता मुरमुर र कल्पना सार्कीमार्फत त्यहाँ पुगेकी हुन्। उनलाई सिरिया पठाउने कम्पनीको नाम भने थाहा नभएको उनका आफन्त कैलाश चनाराले बताए।
वैशाख १० गते कोलकाता विमानस्थलबाट सिरिया उडेकी थिइन्। उनीसँगै गएकी साथी फर्किएपछि मात्र परिवारले बन्धक भएको थाहा पाएका हुन्। सिरियाबाट साउनको पहिलो साता भुमीलाई आमा पिपलीलाई फोन गरेकी थिइन्। त्यसपछि सम्पर्क नभएको उनले जनाइन्। मालिकले घरमै थुनेर राखेको भन्ने जानकारी भए पनि त्यहाँको सम्पर्क नम्बर र ठेगाना नहुँदा समस्या भएको पिपलीले जनाइन्।
सुरुमा दलालले ब्रुनाईको इलेक्ट्रोनिक कम्पनीमा काम लगाउने भन्दै सिरिया पुर्‍याएका हुन्। उनीहरूलाई मासिक असी हजार कमाइ हुने भन्दै ठूलो रकम असुलेर विदेश पठाएका थिए। 'कर्जा काटेर छोरीलाई विदेश पठाए, त्यो कसरी तिर्ने भन्ने चिन्ता छ,' आमा पिपलीले कान्तिपुरसित दुःखेसो पोखिन्, 'यता नातिनीको समेत बिचल्ली छ, उता छोरीको त्यो हाल छ।'

No comments:

Post a Comment