जमुनियाका दलित समुदाय अझै नागरिकताबाट वञ्चित

जमुनिया (महोत्तरी), माघ ५ - सर्लाही सीमासँग जुटेको जमुनियाका दलित समुदाय अझै नागरिकताबाट वञ्चित छन् । राज्यले सहज ढंगमा नागरिकता वितरण गर्न पटक पटक टोलीसमेत न खटाएको हैन । नागरिकतालाई नै मुद्दा बनाएर आन्दोलन र राजनीति पनि नभएकेा हैन । तर आफू दलित भएकै कारण कसैले नागरिकता नदिएको उनीहरूको आरोेप छ ।
जसका कारण ७५ नागेकी दहिया सदाले अझै सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छैनन् । फूलकहा ८ मा पर्ने ५० परिवार बसोबास गर्दै आएका जमुनियाका मुसहर बस्तीमा यस्तो भत्ता पाउने उमेरका करिब ३० वृद्धवृद्धा छन् । तर कसैसँग नागरिकता छैन । सुविधा पनि कसैले पाएका छैनन् ।
'उमेर पुगेर के गर्नु' दहियाले दुःखेसो पोखिन्, 'भत्ता पाउन नागरिकता चाहिँदो रहेछ । नागरिकता बनाउन जाँदा पैसा चाहिँदो रहेछ ।' नागरिकता नभएकै कारण उनीहरूले स्वास्थ्य सेवासमेत पाउन नसकेको बताए । मुसहर बस्तीमा कालाज्वरलगायत किटजन्य रोगको प्रकोपसमेत छ । गाउँमा यस्ता रोग लागेर धेरैले ज्यानसमेत गुमाएको उनीहरूको भनाइ छ । तर गाविसमा पटकपटक सुपानेट वितरण हुँदा पनि नागरिकता नभएकै कारण आफूहरूले पाउन नसकेको उनीहरूले बताए ।
'झुल बाँडेको थाहा पाएर हामी पनि गाविस पुग्यौं,' कालाज्वरलेे ग्रस्त राजवती सदाले बताइन्, 'तर न्ाागरिकता खोइ भन्यो र छैन भन्दा रित्तै
फर्काए ।' बस्तीकी भुथरी सदाका अनुसार नागरिकता बनाउन जाँदा सचिवलगायत गाविसका कर्मचारीले ५ सय रुपैयाँ माग्ने गरेकाले नागरिकता नबनेको
हो । उनीहरूका अनुसार इलाका र गाविसमा टोली आएपछि सबै नागरिकता बनाउन पुगेका थिए । जनही ५ सय खर्च गरेर फारामसमेत भरेर सचिवलाई बुझाए । सचिव र उनका कर्मचारीले प्रतिफाराम ५ सय मागेपछि उनीहरू नागरिकता नबनाई फर्के ।
'सचिवले ५ सय मागे,' गाउँलेको बीचमा भुथरीले भनिन्, 'दिन नसकेपछि दिनभर राखेर साँझपख सबैको फाराम फ्याँकिदिए । अनि नबनाई फक्र्यौं ।' यस्ता घटना टोली खटाएपिच्छे भएको राजवती सदा स्मरण गर्छिन् । बनिबुतो छाडेर टोलीमा पुग्यो । फोटो खिच्न र फाराम भर्नमै पैसा सक्यो । अनि सचिवलाई खर्च दिन नसक्दा नबनाई फक्र्यो । आफू दलित, विपन्न र बोल्न नसक्ने निमुखा भएकैले पनि आफ्नो समुदायको नागरिकता लगायतका समस्याप्रति कसैले गम्भीरता नदेखाएको उनीहरूको गुनासो छ । अशिक्षित र बोल्न नजान्ने भएकैले पनि गाविसमा काम लिएर जाँदा सचिवले खुलेआम पैसा मागेर काम नगरिदिएको उनीहरूले आरोप लगाए ।
गाविसको दुव्र्यवहारबाट आजित भएका हरि सदा भन्छन्, 'एक त हामी दलित उसमाथि मुसहर समुदाय भएकै कारण हाम्रो कसैले सुनुवाइ गर्दैन,' उनले थपे, 'हामीलाई सबैले हेप्छन् । न हाम्रो नागरिकता बन्छ न हाम्रा छोराछोरीको जन्म दर्ता
गरिदिन्छन् ।' भर्खरै सरुवा भई फुलकहा पुगेका गाविस सचिव नागेश्वर यादवलाई जमुनियाका दलित समुदायको नागरिकता समस्याबारे यकिन जानकारी छैन । तर नागरिकतालगायत उनीहरूका समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाए । 'दलित बस्तीमै पुगेर उनीहरूको
समस्या बुझ्ने र समाधानको प्रयास गर्नेछु,' सचिव यादवले भने ।

No comments:

Post a Comment