घर जलाएपछि कल्यानकी तुलसी सार्कीको उठिवास

कलेन्द्र सेजुवाल, सुर्खेत, असार १६- जिल्ला वन कार्यालयले वनक्षेत्रमा रहेको घर जलाएपछि कल्यानकी तुलसी सार्कीको उठिवास भएको छ। कार्यालयले अतिक्रमण हटाउने प्रक्रियामा बिहीबार १५ वर्षदेखि बस्दै आएको उनको टहरोमा आगो लगाएको छ। 'अरुका त गाउँमा पनि घर छन्, त्यहीँ जालान्,' ६७ वर्षीया तुलसीले भनिन्, 'हाम्रो श्रीसम्पति यही थियो, आगो लगाए, कसरी बाँच्ने?' बिहीबार दिउँसो वीरेन्द्रनगरबाट गएको सुरक्षाटोलीले कल्यान र दशरथपुरमा अतिक्रमण गरी बनाइएका २५ घरटहरामा आगो लगाएको छ। बिकल्पविना घरमा आगो लगाउँदा तुलसीजस्ता वास्तविक सुकुम्बासीलाई भने चिन्तित बनाएको छ। कार्यालयका अनुसार आगो लगाइएकामध्ये तीन घर सुकुम्बासीका छन्। 'आफ्नो घरजग्गा नभएका हामीजस्ता गरिबलाई कहीँ गए पनि सुख छैन,' कल्यानकी गीता सुनारले भनिन्, 'सरकारले अन्त कतै जग्गा दिएर उठाएको भए यस्तो बिजोग हुने थिएन।' तीन महिनाअघि कामको खोजीमा श्रीमान् भारत गएकाले कहाँ, कसको घरमा बस्ने अन्यौलता भएको उनले बताइन्।
सशस्त्र द्वन्द्वका क्रममा वन अतिक्रमण गरी बनाइएका कल्याण र दशरथपुरका घरटहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन सुरक्षाकर्मीको टोलीले भत्काएको हो। कल्यानको देउती सामुदायिक वनक्षेत्रभित्र बनाइएका २२ र दशरथपुर-५ मा बनाइएका तीन घर आगो लगाएर ध्वस्त गरिएको जिल्ला वन अधिकृत शम्भूप्रसाद चौरसियाले जानकारी दिए। टोलीले १० विगाहा क्षेत्रमा लगाइएको केरा र मकै पनि नष्ट गरेको छ।
सुरक्षा टोलीलाई बिहीबार बस्ती र बाली हटाउन झण्डै सात घण्टा लागेको थियो। पूर्व सुचना दिएर भत्काइएकाले धेरै अवरोध नभएको वन अधिकृत चौरसियाले बताए। 'हामीले पटकपटक वन अतिक्रमणकारीलाई वन क्षेत्रबाट हट्न सार्वजनिक सुचना गरेका थियौँ,' उनले भने, 'केही ठाउँमा सामान्य अवरोध भए पनि बाँकी ठाउँमा अतिक्रमणकारीले नै सहयोग गरेको पाइयो।' दशरथपुरमा वन क्षेत्र अतिक्रमण गरेर बनाइएका तीनवटा घर भत्काउन जाँदा स्थानीयले केही अवरोध गरेका थिए।
कल्यानको देउती बज्यै सामुदायिक वन क्षेत्रभित्र २०५४ सालमा बस्ती बसेको थियो। शान्ति प्रक्रियासँगै वननजिक माओवादी लडाकुको क्याम्प बसेपछि अतिक्रमण हटाउन गाह्रो भएको वन अधिकारी बताउँछन्। 'हामीले पटक-पटक बस्ती हटाउन अनुरोध गर्दा माओवादी सेनाबाट धम्की खेप्नुपर्‍यो,' जिल्ला वन कार्यालयका एक अधिकारीले भने, 'अहिले भने उहाँहरुकै सहयोगमा वन क्षेत्र खाली गराउन सफल भइयो।'
अतिक्रमण हटाउन सशस्त्र प्रहरी बलको रक्तकाली गणबाट धर्मेन्द्रसिंह भण्डारीको नेतृत्वमा ५१ र जिल्ला प्रहरी कार्यालयबाट सई गीता चौधरीको नेतृत्वमा २५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेका थिए।

No comments:

Post a Comment