मुरु गाविसका दलित समुदायले यस वर्षदेखि खलो नलिने निर्णय गरे

रुकुम, ३१ भदौ ।
यहाँको एक गाविसका दलित समुदायले खलो प्रथा त्याग्ने भएका छन् । पूर्खादेखि नै खलो प्रथामा काम गर्दै आएका मुरु गाविसका दलित समुदायले यस वर्षदेखि खलो नलिने निर्णय गरेका हुन् । 

दलित एकता मञ्च मुरु र मुरु गाविसमा रहेका आरन तथा सिलाइकटाइ व्यवसायीहरुले यस मौसमदेखि खलोमा काम नगर्न गाविसस्थित सबै दलितलाई आग्रहसमेत गरेका छन् । परम्परागत खलो प्रथाबाट जीविकोपार्जनमा समस्या भएपछि समयानुकूल परिवर्तन हुन अबदेखि खलो प्रथामा काम नगर्ने निर्णय भएको दलित एकता मञ्चका अध्यक्ष खिमबहादुर विकले बताउनुभयो । 

त्यहाँका दलित समुदायले कामअनुसारको ज्याला पनि कायम गरेका छन् । थोरै तथा सानो कामदेखि ठूलो कामसम्म सबै कामको ज्यालादर काम गरिएको भन्दै उनीहरुले ज्यालाबिना काम गरिएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।वर्षभरि काम गर्दा पनि थोरै पारिश्रमिक पाउनुपर्ने बाध्यताबाट छुटकारा पाउन पुर्खादेखिकै काम त्याग्ने निर्णय गरेको टोपजङ्ग परियारले बताउनुभयो । खलो प्रथाबाट अहिलेको महँगीलाई थेग्न सक्ने अवस्था नभएपछि ज्यालामा काम गर्ने निर्णय भएको परियारले बताउनुभयो । 


परम्परागत खलो प्रथा त्याग्ने निर्णयले मुरुका सबै दलित समुदाय खुसी भएका छन् । धेरै काम गरे पनि थोरै ज्याला पाउनुपर्ने अवस्था अब हटेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । मुरुलगायत जिल्लाका अधिकांश ठाउँका दलितले वर्षभरि काम गरेबापत बाली भित्र्याउने बेलामामात्रै दुईपाथी अन्न (खलो) पाउने गर्दछन् । रासस 

No comments:

Post a Comment