विषय प्रवेश
जसरी ‘जातीप्रथा’ भारतबाट आयात भयो, त्यसरी नै ‘दलित’ शब्द पनि आयात हो । दलित भन्ने शब्द नेपालमा आयात हुनु भन्दा पहिले अछुत, तल्लो जात, परिगणितलगायतका नामले सम्बोधन गरिन्थ्यो । ‘दलित’ भन्ने शब्द भारतका संविधानविद् डा. अम्बेडकरले सर्वप्रथम भारतकै विभिन्न दलितहरुलाई एकमुस्ट सम्बोधनका लागि प्रयोग गरेका थिए । ‘दलित’ भन्ने शब्द २०२४ सालमा मात्र नेपाल आएको हो । जातिप्रथा नेपालमा मनुस्मृतिको पाला भन्दा पहिले नै थियो । जातिप्रथा लागु हुनु भन्दा अगाडि पनि दमाहा बजाउने मान्छे थिए–दमाई, फलामको काम गर्ने–कामी, छालाको काम गर्ने सार्की वा चमार, सुनको काम गर्ने–सुनार, मुसा मारेर खाने–मुसहर जसलाई उनीहरुको कामको आधारमा त्यो समुदायलाई चिनिन्थ्यो । जब जातप्रथा नेपालमा भित्रियो, ती समुदायहरुमध्ये कसैलाई सानो जात र कसैलाई ठूलो जात भनि विभाजन गरियो । यहाँ नाम कसरी दोषी भयो ? तर, जसरी व्याख्या गरे पनि दलित भनेको तिनै अछुत सुद्र पानी नचल्ने समुदायहरुलाई जनाउन प्रयोग गरिने शब्द हो, जसले मात्र शब्दमा टिकेको भेद्भावलाई नै निरन्तरता दिइरहेको छ ।
गायक पशुपती शर्माको तीजको गीत विवादमा मुछिएको छ, यो लेख त्यसैसँग सम्बन्धित छ । यद्यपी उन्ले उक्त गीत सद्भाव खल्बलाउन थालेको भन्दै बन्दको घोषणा पनि गरेका छन् । दलित समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै दलितबाट विरोध भएपछि उनले गीत बन्द गर्ने घोषणा गरेका हुन् । तर, विभिन्न सञ्चार माध्यमहरुमा बज्दै आएको छ । दाङका केही मिडियाहरुमा बजेको सुन्न सकिन्छ ।
केको बाहुन, केको कामी, केको जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नि दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हांै, मलाई त्यत्ति थाहा छ ।
यो पशुपति शर्माले बनाएको गीतको उठान हो । यो गीत ‘दलित’ को पक्षमा छ वा सन्देश दिन खोजेको छ भन्ने बुझाई बास्तवमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन, सामाजिक सद्भाव भड्काउने काम गर्छ । केही दलित अधिकारकर्मीहरुले पनि यो गीत जातीय विभेदको विरुद्ध गतिलो प्रहार हो भनेका छन् । उनीहरुको भनाइ व्यवहारमुलक भन्दा पनि राजनीतिक उपज हो । गीतको सन्देशको कुरा गर्ने हो भने पनि अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै सामाजिक उत्पीडनमा परेका दलितहरुको भलोका लागि बनाइएको जस्तो लाग्छ । कुरा कहाँनेर हो, भने यो गीतमा ‘कामी’ ‘दमाई’ र ‘कमीनी’ जस्ता शब्दको प्रयोग गरिएको छ । दलित समुदायले जुन शब्दबाट आत्मसम्मानको अनुभूति गर्दैनन् त्यो शब्द प्रयोग नगरिएको भए हुन्थ्यो भन्ने मात्र हो । दलितलाई विषय बनाएर र दलितमुक्तिको आन्दोलनका सन्दर्भमा नेपालमा करिव ५ हजार गीत बनेका छन् । तर, कुनै पनि गीत विवादित बनेको देखिदैन ।
पछिल्लो समयमा उरेन्ठेउला गीत गाएर चर्चामा आएका पशुपति शर्माका धेरै गीतहरु बास्तवमै विवादित छन् । कानुनले नदिएका धर्म, वर्ण, समुदायका विषयमा उरेन्ठेउला गीत बनाएर प्रसिद्धि कमाएका शर्मा उनका गीतका कारण समाजमा कति सूक्ष्म विकृति बढ्दै छ र त्यसको सूक्ष्म प्रभावको बारेमा जानकार छैनन् । जातका कुरा गर्नेको दिमाग कहाँ छ ?, त्यही गीतमा उल्लेखित जातका कुरा गर्नेहरु देशका लागि घाती जस्ता गीतले समाजमा सकारात्मक सन्देश होइन, बिद्धेष बढाउँछ ।
कानुनी प्रावधान ः
भेद्भाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यत्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।
टिप्पणी र विवेचनाः
कानुनी कुरा लत्याएर केही व्यक्तिहरुका कामीलाई ‘कामी’, दमाईलाई ‘दमाई’ र सार्कीलाई ‘सार्की’ भन्न किन नपाउने ? जस्ता सद्भाव भंग गर्ने टिप्पणीहरु खास गरी समाजिक सञ्जालमा बुज्रुकहरुले व्यक्त गरिरहनुभएको छ । अहिले पनि उनीहरुमा रुढ जातिवादीहरुले यस विषयलाई उचालेर अहिलेसम्मको जातीय सद्भाव बिगार्न खोजिरहेका छन् । तर, हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो, होच्याउने, गिज्याउने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउँछ, गर्व होइन । फेरि यी शब्द सामन्ती युगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिड्नुपर्छ भन्नु पछौटे सोचको उपज हो । कुनैबेला पूर्वी नेपालका चर्चित लोकगायक कुमार बस्नेतले डल्ली मगर्नी भनेर गीत गाउँदा मगरहरुले क्यासेट र बस्नेतको पुत्ला दहन गरेका थिए । आफ्नो आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुले देशैभरि हंगामा मच्चाएका थिए । पछि गीत प्रतिबन्ध लगाइएको छ । जसले जुन विषय वा शब्दहरुमा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छ उसले विरोध गर्ने हो ।
बाहुनलाई ‘बाहुन’ भन्दा विरोध नहुने, क्षेत्रीलाई ‘खस’ भन्दा विरोध नहुने , तर कामीलाई ‘कामी’ र सार्कीलाई ‘सार्की’ भन्दा किन विरोध ? भन्ने जहाँसम्मको तर्क छ त्यो केटाकेटीपन जस्तो लाग्छ । ईतिहासको लामो कालखण्ड र वर्तमानमा आई पुग्दा पनि बाहुनले ‘बाहुन’ शब्दबाटै शासन स्थापना गरी हैकम कायम ग¥यो, उसले त्यहि शब्दबाट प्रसिद्धि कमायो, समाजमा ठूलो कहलियो, क्षेत्रीले पनि त्यही नामका कारण कहिले अपमानित हुनुपरेन, मारिनुपरेन भने उनीहरुले अहिले आएर किन बिरोध गर्छन् ? तर, दलित कि जो कामीकै नाममा दमाईको नाममा र सार्कीकै नाममा समाजले मान्छेकै रुपमा स्विकार गर्न सकेन । त्यहि नाम र नामसँंग जोडिएको कामका कारण मारिनु प¥यो, गाउँ निकाला हुनुप¥यो, कालो मोसो दलिनु प¥यो भने उनीहरुले त्यस्ता शब्द प्रयोगबाट आत्मसम्मानमा ठेस लागेको महसुस गर्नु स्वभाविक हो ।
हाम्रो समाजमा परिवतिर्त शब्दावलीहरु जुन आम दलितहरु जसले आज यो बहस भइसकेपछि आफूलाई खुल्ला रुपमा कामी, दमाई अथवा सार्की भन्नमा गर्व गर्नुभएको छ त्यो राम्रो पक्ष हो । तर, हिजो हाम्रा पुर्खाहरुले नागरिकतामा प्रष्ट रुपमा कामी, दमाई र सार्की लेखेकोमा मेटेर परियार, विश्वकर्मा र नेपाली अथवा मिजार लेखिरहेका छौं ? अहिलेको सामान्य युवा ‘कामी’ भन्दा आत्मसम्मान भएको महसुस गर्छ कि ‘विश्वकर्मा ?’ एउटा युवती ‘दमिनी’ भन्दा आत्मसम्मान गर्छे कि ‘परियार ?’ यो गणतान्त्रिक मुलुक हो आत्मसम्मान पहिलो विषय हुन आउँछ । पहिचान भन्दा पनि । पहिचान के हो ? जनजातिले भने जस्तो, राई लिम्बु, मगर र थारुले भने जस्तो हैन दलितको पहिचान । जुन शब्दमा छिछि र दूरदूर भएर एउटा कालो ईतिहास गुजारेको छ । शिक्षा, स्वास्थ्य, रोजगारको कुरा छोडांै बाँच्न पाउने अधिकारबाट समेत बञ्चित भयो, उसलाई अहिले आएर त्यही नाममा के को पहिचान ? यो सब दलितमाथिको सुनियोजित प्रहारको श्रृङ्खला हो ।
यदि पहिचानकै कुरा गर्ने हो भने पहिचानको विषय सबै भन्दा बढि आदिबासी जनजातिहरुले उठाएका छन् । तर, पशुपतीकै गीतमा उल्लेख गरिएको ‘जातका कुरा गर्नेहरु देशका लागि घाती’, ‘जातको कुरा गर्नेको दिमाग कहाँ छ ?’ भनेर यहा सिधासिधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव ग¥यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । यो गीतबाट यहि सन्देश बुझिदैन र ? अनि पशुपतिले आदिबासी र जनजातिको टाउकोमा परेर दिमाग छ कि छैन भन्ने अधिकार कसले दियो । के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशका लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा, यो गीतमा दलितका थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । माओवादीले जल्दोबल्दो रुपमा उठाएको पहिचानको मुद्धालाई निस्तेज पार्न नियोजित रुपले यो गीत ल्याएको हो भन्न किन नस्कने ? पशुपतीको गीतमा दलितले दलितकै लागि मात्र उठाएको सवाल हैन । समग्र जातिय समुदायको पक्षपोषण हो ।
आहुति र लज्जा
पशुपतीको गीतको विषयमा लिएर दलित अधिकारर्कीका रुपमा प्रसिद्धि कमाएर आहुतिले सकारात्मक टिप्पणी गरेका छन् । हामी दलितहरु केही विषयमा विभाजित छौं । त्यसको आधार राजनीति हो । तर, एउटा विषयमा हामी एकमुख छांै । हामी जातको विषयलाई छोड्नुपर्छ भन्ने पक्षमा छैनांै । आहुति एमाओवादीका ठूलै नेता पनि हुन् । दलित समुदायको विषयमा जानेबुझेका व्यक्तिका रुपमा हामी चिन्दछांै । तर, उनी राजनीतिकर्मी र साहित्यकार बढि र दलित अधिकारकर्मी कम हुन् । अर्को कुरा, हिजो ब्राह्मण, क्षेत्रीहरुले दलितलाई दलाएर उनीहरुकै जीतको ईतिहास कामय राखे, गीताको एउटा शब्द सुनेको भरमा दलितको कानमा शिशाको झोल खन्याएर मार्ने को हो ? ब्राह्मणको छाया दलितले कुल्चेको भन्दै ढुंगाले हानेर मार्ने को हो ? दलितको नियतमा खोट लगाउँदै सोच नै दरिद्र बनाउने को हो ? त्यही ईतिहासका कारण दलित अहिले पनि उठ्नसकेको छैन । त्यो ईतिहास सच्याउन
पर्दैन ? दलितहरु अन्य समुदायको स्तरमा आउनु पर्दैन ? त्यसका लागि राज्यले आफ्ना कार्यक्रमहरुमा दलितलाई विशेष व्यवस्था दिनुपर्दैन ? त्यो व्यवस्था दिने समयमा किन जातका कुरा गर्नुहुँदैन भनेको ? त्यो भन्ने कसले ? गैरदलितले हैन ? हामीले भनेको विभेद र छुवाछुत बन्द गर । छोइएकै नाममा दलितलाई नमार भनेको हो । तर, आहुतिले जस्तो शब्दमा मात्रै विष्लेषण गर्ने हो भने केही छैन । तर, व्यवहारिक पाटो के ? आहुतिले सोच्नुपर्दैन ? उनलाई आत्मसम्मानमा ठेस लाग्दैन भन्दैमा सम्पूर्ण नेपाली दलितलाई लाग्दैन ? उनी महलमा बसेर राजनीति गर्ने भए भन्दै सबै दलितको जीवनशैली फेरियो भन्नु न्यायोचित हुन्छ ? दलितका मुद्धाहरुमा सचेत देखिएका आहुति हुन् कि आफ्नो व्यक्तिगत प्रवृत्ति झल्काएका हुन् ?
निश्कर्ष ः
त्यसकारण यस्तो शब्दले उनीहरुमा हिनताबोधको भावना सिर्जना हँुदैन भनेर कसले ठोकुवा लगाउन सक्छ ? पशुपति शर्माले गीत गाउने बहानामा अरुको आत्मसम्मानलाई कुल्चिनु जायज हो त ? के पशुपति शर्माले यस्तो गीत गाउने बित्तिकै समाजको व्यवहार र दृिष्टकोण परिवर्तन भइहाल्ला त ? समाज परिवर्तनका लागि उपदेश होइन उदाहरण चाहिन्छ । अन्तरिम संविधानले समेत स्विकारेको गणतन्त्र र संघीयताको विरुद्ध आएको यस्तो गीतमाथि प्रतिबन्ध लगाउनैपर्छ । हामी नेपाली हौं भनेर कसैले भन्नैपर्दैन, कसैले भन्दैमा नेपाली होइने र नभन्दैमा नहोइने पक्कै हुँदैन । उत्पीडित नेपाली जनतामाथि सांस्कृतिक रुपमा प्रहार गरिएका यस्ता गीत अब आइन्दा बजारमा ल्याउने दुष्प्रयास नहोस् ।
यी लेखकका निजी बिचार हुन् ।
No comments:
Post a Comment