दलित महिलाका सवाल प्राथमिकतामा -राजेन्द्र ताम्राकार


काठमाडौं÷असोज ६, सञ्चारमा दलित महिलाका मुद्दा सम्बोधन गराउनका लागि मुलधारमा क्रियाशिल सञ्चारकर्मीले सामूहिक प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   

दलित महिला संघद्वारा ‘ओझेलमा पारिएका दलित महिलाका मुद्दा र मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा मुलधारका मिडियामा क्रियाशिल अधिकांश सञ्चारकर्मीले दलित महिलाका सवाललाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  

कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले सञ्चारमाध्यमलाई आवाजविहीनहरुको आवाज भनिएता पनि अहिले पनि जसको पहुँच छ त्यसकै आवाजको रुपमा सञ्चारमाध्यम अगाडि बढिरहेको बताउनुभयो । 

उहाँले मुलधारको सञ्चारमाध्यममा दलित त्यसमा पनि दलित महिलाका स्थान नपाएको र ठाउँ पाइनै हालेपनि खाली नकारात्मक समाचार मात्रै प्रकाशित हुनेगरेकोप्रति सञ्चारकर्मीको ध्यानाकर्षण गराउनुभयो ।

सोबले परिवर्तनको सम्बाहक सञ्चार क्षेत्रसंग आम दलित महिलाका सवालमा सकारात्मक मुद्दामा काम गर्न दलित महिला संघ सदैव तयार रहेको भन्दै सहकार्यका लागि आब्हान गर्नुभयो । 
कार्यक्रममा आमसञ्चारमा दलित महिलाको अवस्था कस्तो छ, उनीहरुका मुद्धालाई सञ्चारमाध्यमले कसरी उठाइरहेका छन्, सञ्चारलाई दलित महिलामैत्री बनाउन के गर्नुपर्ला, नयाँ संविधानमा दलित महिलाका सवाल सम्बोधन गराउनका लागि मुलधारका सञ्चारमाध्यमको भूमिका के हुने भन्ने लगायतका सन्दर्भमा मुलधारमा क्रियाशिल सञ्चारकर्मीसंघ संघले छलफलको आयोजना गरेको हो । 

अन्तरक्रियामा बोल्दै नेपाल समाचारपत्रका सम्पादक टंक पन्तले सचेतनाकोस्तरमा वृद्धि नभएसम्म दलित तथा दलित महिलामाथि विभेद कायमै रहने हुनाले यसको अन्त्यका लागि सञ्चारमाध्यम अभियानकै रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले दलित महिलाका मुद्दालाई मिडियासम्म ल्याउनका लागि संस्थाले जिल्लास्तरका सञ्चारकर्मीलाई प्रशिक्षित गराउनुपर्ने बताउनुभयो । नयाँ संविधानमा दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि दबाबमूलक अभियान चलाउनुपर्नेमा पन्तले जोड दिनुभयो ।  

नेपाल टेलिभिजनकी मनिषा घिमिरेले दलित महिला संघले दलित महिलाका सफलताका कथाहरु बाहिर ल्याउनसके ति सामाजिक मुद्दाले सञ्चारमाध्यममा स्थान पाउने बताउनुभयो । उहाँले यसका लागि संघले पत्रकारहरुको साझा नेटवर्क बनाएर दलित महिलाका मुद्दामा साझा बहस चलाउनुपर्नेमा जोड दिनुभयो । 


अन्नपूर्ण पोष्टका माधव ढुङ्गेलले सञ्चारमाध्यमले दलित, महिला, गरिब भनेर कसैलाई भेदभाव नगर्ने भन्दै आफ्नो संस्थाले सामाजिक मुद्दालाई विशेष प्राथमिकता दिने भएकाले दलित महिलाका मुद्दालाई आफूले विशेष प्राथमिकता दिने बताउनुभयो । उहाँले दलित महिलाका साझा सवालमा लेख्न अनुरोध गर्नुभयो । 

गोरखापत्र दैनिकका त्रिभूवनचन्द्र वाग्लेले पत्रकारलाई प्रभावमा नपारी बरु उनीहरुलाई आफ्ना मुद्दामा सचेत बताउनसके दलित महिलाका मुद्दाले आगामी दिनमा मुलधारको सञ्चारमाध्यममा स्थान पाउने धारणा राख्नुभयो । 

कार्यक्रममा पत्रकार भोला पासवानले दलित महिला संघले अबका दिनमा नीति निर्माण गर्ने तहमा दलित महिलाका विषयमा के कस्तो काम भइरहेको छ । बनेका नीति नियम के कति कार्यान्वयन भएका छन् । आगामी दिनमा के कस्तो नीति तथा व्यवस्था भएमा आम दलित महिलाको समग्र हित हुन्छ भन्नेजस्ता विषयमा निरन्तर वकालत गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, हिमालयन टेलिभिजन, नयाँ पत्रिका, हाम्रा कुरा डटकम, नेपाल प्रेस युनियन लगायतका सञ्चारमाध्यममा क्रियाशिल २२  जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment